close

नेपाल प्रहरीले सञ्चालनमा ल्यायो ‘एआई सेल’, पहिलो दिनमै भ्रामक सूचना फैलाउने ५ जना पक्राउ

टेकपाना टेकपाना

फागुन १२, २०८२ १६:४

नेपाल प्रहरीले सञ्चालनमा ल्यायो ‘एआई सेल’, पहिलो दिनमै भ्रामक सूचना फैलाउने ५ जना पक्राउ

काठमाडौँ । साइबर अपराध र भ्रामक सूचना नियन्त्रण गर्ने उद्देश्यले नेपाल प्रहरीले ‘आर्टिफिसियल इन्टेलिजेन्स एन्ड एड्भान्स्ड एनालिटिक्स सेल (एआई-एएसी)’ सञ्चालनमा ल्याएको छ । नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले उक्त सेलको उद्घाटन गरे ।

सो अवसरमा गृहमन्त्री अर्यालले एआई सेलको अवलोकन गर्दै यसबाट सम्पादन हुने काम, यसको प्रयोग र उपयोगिताबारे विस्तृत जानकारी लिएका थिए । कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, गृह मन्त्रालयका पदाधिकारी तथा प्रहरीका उच्च अधिकारीको उपस्थिति थियो ।

पछिल्लो समय बढ्दै गइरहेको साइबर अपराध, भ्रामक तथा मिथ्या सूचना, सङ्गठित आपराधिक सञ्जाल, वित्तीय अपराध र सामाजिक अस्थिरता सिर्जना गर्ने डिजिटल अभियानले राष्ट्रिय सुरक्षा र अपराध अनुसन्धानमा चुनौती थपेपछि प्रहरीले यो उच्च प्रविधियुक्त संरचना स्थापना गरेको हो ।

परम्परागत शैलीबाट मात्र अबको सुरक्षा व्यवस्थापन प्रभावकारी हुन नसक्ने निष्कर्षसहित प्रहरीले जेनेरेटिभ एआई, लार्ज ल्याङ्ग्वेज मोडल, मसिन लर्निङ, प्रिडिक्टिभ एनालिटिक्स र अटोमेसनमा आधारित विश्लेषण प्रणालीको प्रयोग सुरु गरेको छ । यस सेलको मुख्य उद्देश्य आर्टिफिसियल इन्टेलिजेन्सको संस्थागत अवलम्बन, पूर्वचेतावनी प्रणालीको विकास, सूचना हेरफेर नियन्त्रण, साइबर अपराधको गुप्तचरी र एआईमा आधारित रहेर डिजिटल प्रमाण सङ्कलन गर्नु रहेको छ ।

५ जना पक्राउ

एआई सेल सञ्चालनमा आएसँगै प्रहरीले यसको सफल प्रयोग समेत गर्न थालिसकेको छ । यही प्रविधिको सहयोगमा सामाजिक सञ्जालमार्फत गलत तथा मिथ्या सूचना सम्प्रेषण गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाँके, कञ्चनपुर, सुनसरी, सल्यान र दाङबाट उनीहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेले प्रविधिको दुरुपयोग गरी भ्रामक सूचना फैलाउनेलाई कानुनी दायरामा ल्याउन प्रहरी सक्रिय रहेको बताए ।

“आम नागरिकले सामाजिक सञ्जाल प्रयोग गर्दा सचेत हुनु आवश्यक छ । सामाजिक सञ्जालको दुरुपयोगबाट गलत तथा मिथ्या सूचना सम्प्रेषण गर्नेलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी सदैव सक्रिय छ,” प्रवक्ता काफ्लेले भने, “कानुनको पालना गरी असल नागरिकको परिचय दिन हामी सम्पूर्ण नागरिकमा आग्रह गर्दछौँ ।”

पछिल्लो अध्यावधिक: फागुन १२, २०८२ १६:१४