असुसको प्रिमियम भिभोबुक एस १४ नेपाली बजारमा, पर्फर्मेन्समा पावरफुल र लुक्समा प्रिमियम
फागुन १३, २०८२ १३:३४
काठमाडौँ । लोकप्रिय ल्यापटप ब्रान्ड असुसले नेपालमा आफ्नो प्रिमियम भिभोबुक सिरिज अन्तर्गत नयाँ भिभोबुक एस १४ सार्वजनिक गरेको छ । दुई लाख रुपैयाँ भन्दा मुनिको मूल्यमा उपलब्ध यो ल्यापटप विशेषगरी विद्यार्थी, व्यवसायी र अफिस प्रयोगकर्ताहरूका लागि लक्षित छ ।
यो ल्यापटपका तीन प्रमुख सबल पक्षहरू यसको आकर्षक डिजाइन, शक्तिशाली प्रदर्शन र उत्कृष्ट ब्याट्री ब्याकअप हुन् ।
आकर्षक र प्रिमियम डिजाइन
असुस भिभोबुक एस १४ कम्प्लिट मेटल फिनिस डिजाइनमा आएको छ, जसले यसलाई निकै प्रिमियम र सोलिड लुक दिएको छ । यसको डिजाइन मिनिमल र एस्थेटिक छ, जसले गर्दा यसलाई बोकेर हिँड्दा निकै आकर्षक देखिन्छ ।
यसमा १४ इन्चको आईपीएस डिस्प्ले रहेको छ, जसले ३०० निट्ससम्मको ब्राइटनेस प्रदान गर्दछ । यसको स्क्रिन रिफ्रेश रेट ६० हर्ज रहेको छ । डिस्प्लेको छेउका बेजेल पातलो भएकाले दृश्य अनुभव निकै राम्रो छ । साथै यसमा एन्टी-ग्लेयर कोटिङ र टीयूभी रेनल्यान्ड सर्टिफाइड प्रविधि प्रयोग गरिएको छ, जसले लामो समयसम्म ल्यापटप चलाउँदा आँखामा पर्ने तनाव कम गर्छ ।
शक्तिशाली प्रर्फर्मेन्स
यो ल्यापटप इन्टेलको नयाँ ३ एनएम एरो लेक आर्किटेक्चरमा आधारित इन्टेल सिरिज २ अल्ट्रा चिपसेटद्वारा सञ्चालित छ । यो नेपालमा कोर अल्ट्रा ५ र कोर अल्ट्रा ७ गरी दुई प्रोसेसर भेरियन्टमा उपलब्ध छ । यसमा ग्राफिक्सका लागि इन्टिग्रेटेड ग्राफिक्स कार्ड प्रयोग गरिएको छ ।
प्राविधिक पक्ष हेर्दा यसमा १६ जीबी डीडीआर ५ र्याम र १ टीबी पीसीआईई जेन ४ एसएसडी स्टोरेज रहेको छ । ३२ जीबी र्याम भएको भए अझ राम्रो हुने थियो, तर १६ जीबी पनि दैनिक र मध्यम कार्यका लागि पर्याप्त छ ।
परीक्षणका क्रममा धेरै ट्याबहरू खोलेर काम गर्दा वा ठुला फाइलहरू चलाउँदा कुनै ल्याग महसुस हुँदैन । गेमिङको कुरा गर्दा 'काउन्टर स्ट्राइक' जस्ता गेमहरू लो सेटिङमा ७५ एफपीएस र मिडियम सेटिङमा ५५ एफपीएसको औसत गतिमा खेल्न सकिन्छ ।
ब्याट्री र तापक्रम व्यवस्थापन
भिभोबुक एस १४ मा ७० वाट-आवरको ब्याट्री र ६५ वाटको एडाप्टर उपलब्ध छ । कम्पनीले २० घण्टासम्मको ब्याट्री लाइफको दाबी गरे पनि सामान्य प्रयोगमा यसले एक दिनभर ढुक्कसँग साथ दिन्छ । जसले गर्दा बारम्बार चार्ज गरिरहनु पर्ने चिन्ता हुँदैन । १० मिनेटसम्म फुल भोलुम र फुल ब्राइटनेसमा गेम खेल्दा मात्र ५ प्रतिशत ब्याट्री खर्च भएको पाइएको छ ।
यद्यपि तापक्रम व्यवस्थापनमा भने केही सुधारको आवश्यकता देखिन्छ । १० मिनेटको भारी प्रयोग वा गेमिङपछि ल्यापटप अलि तातो हुने र फ्यानको आवाज चर्को सुनिने समस्या पाइएको छ ।
किबोर्ड, मल्टिमिडिया र अन्य फिचर
यसमा टाइप गर्न सहज हुने ब्याकलिट किबोर्ड छ, जसमा कि-ट्राभल राम्रो छ । विशेष आकर्षणको रूपमा यसमा गुगलको एआई असिस्टेन्ट कोपाईलटको लागि डेडिकेटेड बटन दिइएको छ । यसको ट्र्याकप्याड निकै रेस्पोन्सिभ छ र यसमा फङ्सनल डिजिटल न्युमेरिक डायलहरू पनि समावेश छन् ।
अडियोको कुरा गर्नुपर्दा यसमा बायाँ र दायाँ आवाज स्पष्ट छुट्टिने उच्च गुणस्तरका बिल्ट-इन स्पिकर र एरे माइक्रोफोन दिइएका छन् । अनलाइन मिटिङ र क्लासका लागि उपयोगी फुल एचडी आईआर क्यामेरा र गोपनीयताका लागि फिजिकल सटर समावेश गरिएको छ ।
कनेक्टिभिटीका लागि वाईफाइ ६ र ब्लुटुथ ५.३ को सपोर्ट पाउन सकिन्छ । यसमा २ वटा USB 3.2 Type-A Gen 1, २ वटा Type-C Gen 1, १ वटा HDMI 1.4, १ वटा अडियो कम्बो ज्याक जस्ता आवश्यक सबै पोर्टहरू दिइएका छन् ।
नेपालमा मूल्य र उपलब्धता
असुस भिभोबुक एस १४ को मूल्य यसको प्रोसेसर भेरियन्ट अनुसार फरक-फरक तोकिएको छ । इन्टेल कोर अल्ट्रा ५ भेरियन्टको मूल्य १ लाख ५२ हजार ९९० रुपैयाँ राखिएको छ भने इन्टेल कोर अल्ट्रा ७ का लागि १ लाख ६५ हजार ९९० रुपैयाँ तोकिएको छ ।
यदि तपाईं २ लाख भन्दा कम मूल्यमा एउटा प्रिमियम देखिने, शक्तिशाली पर्फर्मेन्स दिने र लामो समयसम्म ब्याट्री टिक्ने ल्यापटप खोज्दै हुनुहुन्छ भने भिभोबुक एस १४ एउटा उत्कृष्ट विकल्प हुन सक्छ ।
पछिल्लो अध्यावधिक: फागुन १३, २०८२ १९:५७
