स्तब्ध पार्ने बीबीसी डकुमेन्ट्री-शट लाइक एनिमिज: निहत्था जेनजीमाथि यसरी भएको थियो बर्बर गोली प्रहार
फागुन १४, २०८२ ११:१२
काठमाडौँ । बीबीसी आई इन्भेस्टिगेसनले गत २३-२४ भदौमा भएको जेनजी आन्दोलनमाथि बनाइएको वृत्तचित्र 'शट लाइक एनिमिज' (Shot Like Enemies) सार्वजनिक सार्वजनिक गरेको छ । ४८ घण्टाको उक्त हिंसात्मक आन्दोलन र त्यस क्रममा सुरक्षा निकायले प्रदर्शनकारीमाथि गरेको घातक बल प्रयोगको विस्तृत अनुसन्धान करिब ४२ मिनेटको डकुमेन्ट्रीमा समेटिएको छ ।
अनुसन्धानले निशस्त्र जेन जी प्रदर्शनकारीहरूलाई सुरक्षा बलले कसरी शत्रुलाई झैँ गोली हानेर हत्या गर्यो र कसरी यसले तत्कालीन प्रधानमन्त्री केपी ओलीको सरकार ढलायो भन्ने तथ्यहरू उजागर गरेको छ ।
आन्दोलनको झिल्को
वृत्तचित्रका अनुसार यो विद्रोह वर्षौँदेखिको निराशाको परिणाम थियो । सन् २०१५ को संविधानले नयाँ सुरुवातको आशा देखाए पनि नेपालका पाँचमध्ये एक युवा बेरोजगार हुनु र राजनीतिमा वृद्ध नेताहरूकै वर्चस्व रहनु युवाहरूको मुख्य आक्रोश थियो ।
४ सेप्टेम्बरमा सरकारले भ्रष्टाचार र नेपो-बेबीहरूको विलासी जीवनशैली विरुद्ध भइरहेको आलोचना रोक्न टिकटक र फेसबुक जस्ता सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि आन्दोलनले उग्र रूप लियो । प्रतिबन्धले युवाहरूलाई रोक्नुको सट्टा उनीहरूलाई डिस्कोर्ड जस्ता प्लेटफर्महरूमा सङ्गठित हुन बाध्य बनायो, जहाँ हजारौँ युवाहरूले संसद घेराउ गर्ने योजना बनाए ।
रक्तपातको वस्तुपरक प्रमाण
बीबीसीले ४,००० भन्दा बढी भिडिओ र प्रहरीको लिक भएको रेडियो संवाद (Police radio logs) लाई आधार मानेर शान्तिपूर्ण प्रदर्शन कसरी नरसंहारमा परिणत भयो भन्ने कुरा देखाउन खोजेको छ ।
सडकमा प्रदर्शन गरिरहेका हजारौँ विद्यार्थीहरू, जो विद्यालयको पोसाकमै थिए, उनीहरूमाथि प्रहरीले अन्धाधुन्ध गोली चलाएको देखिन्छ । लिक भएको रेडियो ट्रान्सक्रिप्टमा कमाण्डरहरूले प्रदर्शनकारीहरूलाई रोक्न 'आवश्यक बल प्रयोग गर्न' र पछि 'गोली चलाउन' आदेश दिएको सुनिन्छ ।
अनुसन्धानले केही मुख्य पीडितहरूको मृत्युको दृश्य कैद गरेको छ । जसमा ३४ वर्षीय विनोद महर्जन पनि छन् । उनको संसद भवनको कुनामा टाउकोमा गोली लागेर मृत्यु भएको थियो ।
त्यस्तै २२ वर्षीय रसिक खतिवडालाई "हामीलाई नेता चाहिन्छ, लुटेरा होइन" लेखिएको प्लेकार्ड बोकिरहेकै बेला छातीमा गोली लागेको थियो ।
संसद भवन भित्रबाट प्रहरीले चलाएको गोली लागेर वर्ष २४ का योगेन्द्र न्यौपानेलाई मृत्यु भयो । प्रदर्शनस्थलबाट पछि हट्दै गर्दा विद्यालयको पोसाकमै रहेका १७ वर्षीय श्रीयम चौलागाईंलाई टाउकोको पछाडिबाट गोली हानिएको थियो ।
दोषी को ?
७७ जनाको मृत्यु भएपछि नेपालको सुरक्षा संयन्त्रभित्र देखिएको गहिरो मतभेदलाई पनि वृत्तचित्रले सतहमा ल्याएको छ । बीबीसीसँग कुरा गर्दै केही तल्लो तहका प्रहरी अधिकारीहरूले आफ्ना कमाण्डरहरूले आफूहरूलाई बेवारिसे छोडेको र विशाल भीडसँग एक्लै भिड्न बाध्य पारेको गुनासो गरेका छन् ।
रेडियो लगहरू 'पिटर १' र 'किलो १' मा प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ र डीआईजी विश्व अधिकारीको आवाज पहिचान गरिएको छ । जसले बल प्रयोगको आदेश दिएका थिए । प्रहरीले सुरक्षा समितिको निर्देशनमा काम गरेको दाबी गरे पनि सेनाले भने सरकार ढल्ने अवस्था नआएसम्म हस्तक्षेप नगरेको र शान्ति पुनर्स्थापनाको जस लिन मात्र अन्तिममा आएको आरोप लागेको छ ।
नेपालको नयाँ मोड
सरकारी भवन, सर्वोच्च अदालत र प्रधानमन्त्री निवासमा आगजनी भएपछि केपी ओलीले राजीनामा दिए । सेप्टेम्बर १२ मा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले नेपालको पहिलो महिला सरकार प्रमुखका रूपमा शपथ लिइन् ।
तर, पीडित परिवारका लागि यो राजनीतिक परिवर्तनले मात्र सान्त्वना दिएको छैन । १७ वर्षीय श्रीयमकी आमा गङ्गा कार्की भन्छिन्, "उनीहरूका लागि एउटा विद्यार्थी मरेको थियो, तर हाम्रा लागि त हाम्रो संसार नै उजाडियो ।"
सेप्टेम्बर ८ र ९ को घटनामाथि अझै सरकारी छानबिन जारी छ । बीबीसीको यो वृत्तचित्रले आफ्नै राज्यले आफ्नै युवा पुस्तालाई कसरी 'शत्रु' को रूपमा व्यवहार गर्यो भन्ने कुराको प्रमाण प्रस्तुत गरेको छ ।
पछिल्लो अध्यावधिक: फागुन १४, २०८२ १९:५७
