close

बीबीसीको अनुसन्धान: जेनजी प्रदर्शनमा निहत्था युवाहरूमाथि गोली चलाउन तत्कालीन प्रहरी प्रमुखले आदेश दिएको खुलासा

टेकपाना टेकपाना

फागुन १४, २०८२ ९:५०

बीबीसीको अनुसन्धान: जेनजी प्रदर्शनमा निहत्था युवाहरूमाथि गोली चलाउन तत्कालीन प्रहरी प्रमुखले आदेश दिएको खुलासा

काठमाडौँ । गत भदौ २३ गते (सेप्टेम्बर ८) काठमाडौँमा भएको जेनजी प्रदर्शनका क्रममा १९ जनाको ज्यान जाने गरी भएको हिंसात्मक घटनामा पूर्व प्रहरी महानिरीक्षकले नै घातक बल प्रयोग गर्न आदेश दिएको बीबीसीको एक विशेष अनुसन्धानले खुलासा गरेको छ । बीबीसी आईको अनुसन्धानका अनुसार नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्रकुवेर खापुङले १२ः४० बजेको समयमा 'पिटर १' (Peter 1) नामक कल साइन प्रयोग गरेर आफ्ना अधिकारीहरूलाई 'आवश्यक बल प्रयोग गर्न' निर्देशन दिएका थिए । 

लिक भएको पुलिस लगले १२ः४० बजेको समयमा Peter 1 मार्फत् आवश्यक बल प्रयोग गर्ने आदेश जारी भएको । स्रोतः बीबीसी

 

बीबीसीले प्राप्त गरेको आन्तरिक प्रहरी दस्ताबेज (प्रहरी लग) अनुसार यो आदेश कर्फ्यु लागु भएको १० मिनेटपछि र स्थलगत कमाण्डरहरूले पटक-पटक घातक बल प्रयोगको अनुमति मागेपछि दिइएको थियो ।

 

विद्यालयको पोसाकमै ढले १७ वर्षीय श्रीयम

त्यस दिन मारिने १९ जनामध्ये सबैभन्दा कम उमेरका १७ वर्षीय श्रीयम चौलागाईं थिए । बीबीसीले विश्लेषण गरेको भिडिओ प्रमाणहरूका अनुसार विद्यालयको हरियो स्वेटर र झोला बोकेका श्रीयम भीडबाट शान्तपूर्वक टाढा जाँदै गर्दा उनको टाउकोको पछाडि गोली लागेको थियो ।

स्रोतः बीबीसी

उनी निहत्था थिए र ताली बजाउँदै प्रदर्शन स्थलबाट बाहिरिन खोजिरहेका थिए । बीबीसीले कर्फ्युको आदेशपछि भएका ६ वटा गोलीकाण्डको विश्लेषण गर्दा कुनै पनि पीडितले हिंसात्मक गतिविधि गरेको नदेखिएको उल्लेख गरेको छ ।

कमाण्ड सेन्टरको अस्तव्यस्तता र प्राविधिक विफलता

बीबीसीका अनुसार प्रदर्शन भइरहेको संसद् भवनबाट झन्डै ३ किलोमिटर टाढा रहेको सरकारी कार्यालयको कमाण्ड सेन्टरबाट सुरक्षा अधिकारीहरूले घटनाको निगरानी गरिरहेका थिए । त्यहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना र गुप्तचर निकायका उच्च अधिकारीहरू उपस्थित थिए ।

तर अनुसन्धानले के देखाएको छ भने उक्त नियन्त्रण कक्षमा सीसीटीभी फुटेज हेर्नका लागि राम्रो इन्टरनेट कनेक्सन समेत थिएन । एक अधिकारीका अनुसार त्यहाँ टेलिभिजन त थियो, तर इन्टरनेट कनेक्सन नहुँदा फिल्डमा के भइरहेको छ भन्नेबारे स्पष्ट जानकारी प्राप्त हुन सकेको थिएन । यही अन्योलका बीच फिल्डमा रहेका प्रहरीहरूले प्यानिक (हतास) भएर गोली चलाउने अनुमति मागेका थिए ।

२३ भदौमा भएको १९ जनाको मृत्युपछि २४ गते नेपालभर हिंसा झन् चर्किएको बीबीसीले उल्लेख गरेको छ । सो दिन प्रदर्शनकारीहरूले प्रहरी चौकीहरूमा आगजनी गरे भने ३ जना प्रहरी अधिकारीहरूको हत्या समेत भएको थियो । भदौ २४ गते मात्रै ५० जनाभन्दा बढीको ज्यान गएको र कूल मृतकको सङ्ख्या ७७ पुगेको थियो । स्थितिलाई नियन्त्रणमा लिन सोही दिन रातको ९ बजे नेपाली सेनाले सुरक्षाको कमाण्ड सम्हाल्नुपरेको थियो ।

यो विद्रोहको बीउ प्रदर्शनभन्दा केही दिनअघि नै रोपिएको बीबीसीले जनाएको छ । भदौ १९ गते सरकारले फेसबुक, युट्युब, इन्स्टाग्राम र एक्स (ट्विटर) जस्ता प्लेटफर्ममा प्रतिबन्ध लगाएपछि युवाहरू आक्रोशित भएका थिए । जेन जी युवाहरूले सामाजिक सञ्जालमा नेपो बेबी (Nepo Baby) जस्ता शब्द प्रयोग गरेर राजनीतिक नेतृत्वका सन्तानले पाइरहेको विशेष सुविधा र भ्रष्टाचारको विरोध गरिरहेका थिए । नेपालका हरेक ५ मध्ये १ युवा बेरोजगार रहेको अवस्थाले यो आक्रोशलाई थप मलजल गरेको थियो ।

पहिलो शिकार: ३४ वर्षीय विनोद महर्जन

बीबीसीले गरेको भिडिओ विश्लेषण अनुसार त्यस दिन गोली लागेर मृत्यु हुने पहिलो व्यक्ति ३४ वर्षीय विनोद महर्जन थिए । दिउँसो १:१५ बजे उनलाई टाउकोमा गोली लागेको थियो । त्यसपछि मात्र १७ वर्षीय श्रीयम चौलागाईं र अन्यमाथि गोली प्रहार भएको थियो । बीबीसीले ६ वटा यस्ता गोलीकाण्डको सूक्ष्म अध्ययन गरेको छ, जहाँ कुनै पनि पीडितले प्रहरीमाथि हिंसात्मक आक्रमण गरेको देखिएको छैन ।

प्रहरी प्रमुख खापुङ र सिडिओ रिजाल मात्र होइन, तत्कालीन गृहमन्त्री रमेश लेखक र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यो घटनाको जिम्मेवारी लिन अस्वीकार गरेका छन् । बीबीसीले उल्लेख गरे अनुसार सरकारी निकायहरूले एक-अर्कालाई दोषारोपण गरिरहेका छन् भने पीडित परिवारहरू न्यायको पर्खाइमा छन् ।

प्रहरी महानिरीक्षक खापुङ गत नोभेम्बरमा अवकाश भइसकेका छन् । नेपाल प्रहरीले बीबीसीलाई दिएको जानकारी अनुसार खापुङले सरकारी सुरक्षा समितिको अनुमतिपछि र अन्य सबै बल प्रयोगका विकल्पहरू समाप्त भएपछि मात्र बल प्रयोगको निर्देशन दिएका थिए ।

तर सुरक्षा समितिका तत्कालीन अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भने अदालतमा आफूले गोली चलाउन अनुमति नदिएको दाबी गरेका छन् । खापुङ स्वयँले पनि सर्वोच्च अदालतमा बुझाएको बयानमा आफ्नो जिम्मेवारी अस्वीकार गरेका छन् ।

भ्रष्टाचार र राजनीतिक विसङ्गति विरुद्ध सुरु भएको यो आन्दोलन मुख्यतया सामाजिक सञ्जाल र गेमिङ प्लेटफर्म डिस्कोर्ड मार्फत सङ्गठित भएको थियो । प्रहरीले ३ हजार प्रदर्शनकारी आउने अनुमान गरे पनि सो दिन ३० हजारभन्दा बढी युवाहरू सडकमा उत्रिएका थिए ।

बीबीसीसँग कुरा गर्दै एक प्रहरी अधिकारीले सुरक्षा निकायले नयाँ पुस्ताको परिचालन गर्ने तरिका र सामाजिक सञ्जालको शक्तिलाई बुझ्न नसकेको स्वीकार गरेका छन् ।

यस घटनाको भोलिपल्टै देशमा व्यापक हिंसा भड्किएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए र सरकार ढलेको थियो । भदौ २३-२४ गते भएका प्रदर्शनहरूमा कुल ७७ जनाले ज्यान गुमाएका थिए । यही २१ फागुनका लागि तय प्रतिनिधिसभाको निर्वाचनको सङ्घारमा पनि यो विवत्स घटनाका लागि हालसम्म कसैलाई जवाफदेही बनाइएको छैन ।

श्रीयमकी आमा गङ्गा कार्की अझै पनि आफ्नो छोरा स्कुलको पोसाकमै झोला हल्लाउँदै घर फर्किने आशमा छिन् । बीबीसीसँग कुरा गर्दै उनले भनिन्, "मलाई अझै लाग्दैन कि उ गयो, मेरो मनमा उ अझै स्कुलकै पोसाकमा छ, उ झोला हल्लाउँदै फर्कनेछ ।"

 

 

पछिल्लो अध्यावधिक: फागुन १४, २०८२ १०:३३