फ्याक्टचेक: ओखलढुङ्गामा एमाले, काङ्ग्रेस र रास्वपाका १२ सय कार्यकर्ता नेकपा प्रवेश गरेको दाबीसहित भाइरल तस्बिर भ्रामक
फागुन १४, २०८२ २३:४९
काठमाडौँ । ओखलढुङ्गामा विभिन्न राजनीतिक दलका १२ सय कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा भइरहेको प्रचार भ्रामक पाइएको छ । एमाले, कांग्रेस र रास्वपा परित्याग गरी नेकपा प्रवेश गरेको दाबीसहित सेतो पृष्ठभूमिमा रातो तारा अंकित झण्डा बोकेका युवाहरूको तस्बिर केही दिनयता भाइरल भइरहेको थियो ।
टेकपाना फ्याक्टचेक डेस्कको अनुसन्धानले उक्त तस्बिर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी बनाइएको र सो दाबीमा कुनै सत्यता नरहेको पुष्टि गरेको छ ।
दाबी
फेसबुक प्रयोगकर्ता ‘Bhuminanda Adhikari’ ले ओखलढुङ्गामा एमाले, कांग्रेस र रास्वपा परित्याग गरी १,२०० जना कार्यकर्ता नेकपामा प्रवेश गरेको दाबीसहित एक सामग्री पोस्ट गरेका छन् । २५ फेब्रुअरी दिउँसो ४:४२ बजे सार्वजनिक गरिएको उक्त पोस्टमा हातमा रातो तारा अंकित सेतो झण्डा बोकेका व्यक्तिहरूको ठुलो भिड देखिने तस्बिर संलग्न छ ।
पोस्टको स्टाटसमा लेखिएको छ, “रोकिएन ओखलढुंगामा नेकपा प्रवेशको लर्को 😍आाजै ओखल ढुङ्गामा नेकपा प्रबेशको लर्को १२०० जना एमाले, काङ्ग्रेस, रास्वपा बाट नृपाली कम्युनिस्ट पाटिमा प्रबेश गरकाछन् , स्वगतम साथिहरूलाई #Okhaldhunga @highlight #foryouシ”। हेर्नुहोस् पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट ।

अनुसन्धान
‘Suman Karki’ नामका फेसबुक प्रयोगकर्ताले २५ फेब्रुअरी साँझ ७:१३ मा १२०० जना एमाले प्रवेश गरेको दाबीसहित सोही तस्बिर पोस्ट गरेका छन् । उनले लेखेका छन्, “रोकिएन ओखलढुंगामा नेकपा प्रवेशको लर्को आाज ओखल ढुङ्गामा नेकपा प्रबेशको लर्को १२०० जना एमाले, काङ्ग्रेस, रास्वपा बाट नेपाली कम्युनिस्ट पाटिमा प्रबेश गरेछन् नबप्रवेशी क.हरुलाई उम्मेदवार अम्बिरबाबु गुरुङले खादालगाई पार्टीमा स्वगतम गर्नुभयो✊✊✊⭐️⭐️⭐️ #Okhaldhunga @highlight #foryouシ”। ओरिजिनल पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट ।

२५ फेब्रुअरी साँझ ७:४४ मा ‘Milan Jung Kunwar’ ओखलढुङ्गामा १२ सय जना नेकपामा प्रवेश गरेको दाबी सहित सोही पोस्ट गरेको छ । उक्त पोस्टको क्याप्सनमा लेखिएको छ, “रोकिएन ओखलढुंगामा नेकपा प्रवेशको लर्को । आाजै ओखल ढुङ्गामा नेकपा प्रबेशको लर्को १२०० जना एमाले, काङ्ग्रेस, रास्वपा बाट नेपाली कम्युनिस्ट पाटिमा प्रबेश गरेका छन , स्वगत छ साथिहरूलाई 🌠🌠🌠” पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट ।

हामीले गुगल रिभर्स इमेस सर्च गर्दा ‘samaajwad.com’ को समाचारमा यो तस्बिर प्रयोग भएको फेला पर्यो । ‘दाङमा रास्वपाका २५० नेता-कार्यकर्ता नेकपामा प्रवेश’ शीर्षकमा १३ फागुन (२५ फेब्रुअरी) प्रकाशित भएको समाचारमा यो फोटो पहिले प्रयोग भएको पाइयो । गुगल सर्च इन्जिनमा उक्त इन्डेक्स भएको छ भने सो सञ्चारमाध्यमको वेबसाइटमा पनि यथावत् छ । हेर्नुहोस् स्क्रिनशट र आर्काइभ लिङ्क ।

तर हाल भने यो समाचारभित्र भने तस्बिर परिवर्तन गरिएको छ ।
हामीले उक्त तस्बिरलाई एआई डिटेक्सन टुल हाइभ मोडेरेसनमा राखेर हेर्यौँ । ४५.५ प्रतिशत एआई निर्मित रहेको निष्कर्ष निकाल्यो ।

एआई टुलले केही मात्रामा एआईको प्रयोग गरेकी निष्कर्ष निकालेपछि हामीले वास्तविक तस्बिर पत्ता लगाउनले कोसिस गर्यौँ । यसका लागि ‘ओखलढुङ्गा हजार बढी नेकपामा प्रवेश’, ‘हजारौँ कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टी ओखलढुङ्गा प्रवेश’, ‘१२०० नेकपा प्रवेश’, ‘१२ सय कार्यकर्ता नेकपा प्रवेश’, ‘नेपाल कम्युनिस्ट पार्टी ओखलढुङ्गा प्रवेश’, ‘अम्बिर बाबु गुरुङ हजारौँ कार्यकर्ता स्वागत’, ‘ओखलढुङ्गा हजार बढी नेकपामा प्रवेश’ लगायतका किवर्डहरू राखेर गुगल एड्भान्स सर्च गर्यौँ । तर, विश्वसनीय सञ्चारमाध्यममा सयाैँ कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेको दाबीलाई पुष्टि गर्न सकिने समाचार तथा श्रव्यदृश्य सामग्री सार्वजनिक गरेको फेला परेन ।
पछिल्लो समय कुनै जिल्लामा केही सीमित नेताहरूले मात्रै पार्टी परिवर्तन गर्दा समेत अनलाइन सञ्चारमाध्यमहरूले प्राथमिकताका साथ समाचार सम्प्रेषण गर्ने गरेका छन् । ओखलढुङ्गामा एकै दिन कांग्रेस, एमाले र रास्वपा परित्याग गरी १,२०० जनाजस्तो ठुलो संख्यामा कार्यकर्ताहरू नेकपामा प्रवेश गरेको भए मूलधारका सञ्चारमाध्यमले पनि यसलाई प्रमुख समाचारका रूपमा स्थान दिने थिए । तर, हालसम्म कुनै पनि विश्वसनीय सञ्चारमाध्यममा यस्तो ठुलो संख्यामा पार्टी प्रवेश भएको समाचार वा जानकारी सार्वजनिक भएको छैन ।
त्यसपछि हामीले तस्बिरलाई इन्भिड म्याग्निफायरको मद्दतले सूक्ष्म विश्लेषण गर्यौँ । यसरी हेर्दा तस्बिरको सबैभन्दा अगाडि भएका व्यक्तिहरूको अनुहार स्पष्ट भएपनि पृष्ठभूमिमा देखिएका व्यक्तिहरूको अनुहार स्पष्ट छैनन् । अनुहारमा नाक, कान, आँखा देखिएका छैनन् । ब्लेन्ड भएको देख्न सकिन्छ ।

माथिको विश्लेषणबाट हामीले तस्बिरको अगाडीको भाग वास्तविक भएको हुनसक्ने भएपनि पृष्ठभूमिमा नेकपाको झण्डासहित उभिएको देखिने व्यक्तिहरू भ्रामक रहेको निष्कर्ष निकाल्यौँ ।
दाबी
ओखलढुङ्गामा नेपाली कांग्रेस, एमाले र रास्वपा परित्याग गरी एकै दिन १,२०० कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरे।
दाबीकर्ता
फेसबुक प्रयोगकर्ताहरू ‘भुमिनन्द अधिकारी’, ‘सुमन कार्की’, ‘मिलनजङ्ग कुँवर’ र न्युज पोर्टल ‘समाजवाद डटकम’ (samaajwad.com) लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ता ।
तथ्य
२५ फेब्रुअरीमा सामाजिक सञ्जाल (फेसबुक) प्रयोगकर्ताहरूले ओखलढुङ्गामा एमाले, काँग्रेस र रास्वपा परित्याग गरी १२ सय जना नेकपामा प्रवेश गरेको दाबीसहित एउटा तस्बिर पोस्ट गरेका थिए । गुगल रिभर्स इमेज सर्च गर्दा उक्त तस्बिर 'samaajwad.com' नामक न्युज पोर्टलले दाङको सन्दर्भमा प्रयोग गरेको पाइयो, तर पछि त्यहाँ तस्बिर परिवर्तन गरिएको देखिन्छ ।
एआई डिटेक्सन टुल ‘हाइभ मोडेरेसनबाट परीक्षण गर्दा उक्त तस्बिर ४५.५ प्रतिशत एआई निर्मित रहेको पाइयो । इन्भिड म्याग्निफायरबाट हेर्दा तस्बिरको अगाडिपट्टि रहेका केही व्यक्तिको अनुहार स्पष्ट भए पनि पृष्ठभूमीमा रहेका धेरैजसो व्यक्तिहरूको अनुहार अस्पष्ट, नाक, आँखा नदेखिने र ब्लेन्ड भएको देखिन्छ । जुन एआई प्रयोगको संकेत हो । ओखलढुङ्गा जिल्लामा यति ठुलो संख्यामा पार्टी प्रवेश भएको विषयमा कुनै पनि विश्वसनीय वा मूलधारका सञ्चार माध्यमले समाचार प्रकाशित गरेका छैनन् ।
निष्कर्ष
ओखलढुङ्गामा एमाले, काङ्ग्रेस र रास्वपाबाट १२ सय कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेको भनी सामाजिक सञ्जालमा गरिएको दाबी गलत हो भने भाइरल तस्बिर सम्पादित हो ।

प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।
पछिल्लो अध्यावधिक: फागुन १४, २०८२ २३:५२
