फ्याक्टचेकः गत चुनावमा एमाले उम्मेदवारले पैसा बाँडेको भन्दै भाइरल भिडिओ तीन वर्ष पुरानो
फागुन १५, २०८२ २०:२२
काठमाडौँ । नेकपा (एमाले)का एक जना उम्मेदवारले पैसा बाँड्दै गरेको अवस्थामा पक्राउ परेको भन्दै सामाजिक सञ्जालका माध्यमहरूमा एउटा भिडिओ भाइरल भइरहेको छ । भिडिओमा प्रहरीले एक व्यक्तिलाई समातेर लगिरहेका छन् भने क्याप्सनमा एमाले नेता ईश्वर पोख्रेलले कार्यकर्तालाई पैसा बाँड्न लगाएको दाबी गरिएको छ ।
भिडिओ क्लिपमा Shrestha Jhanak नाम गरेका एक जना पाठकले टेकपानालाई मेन्सन गरेपछि उक्त विषयमा फ्याक्टचेक अगाडि बढायौँ । त्यस क्रममा एमालेका एक जना उम्मेदवार पैसा बाँडेको आरोपमा तीन वर्षअघि २०७९ सालमा भएको चुनावको बेला पक्राउ परेको पुष्टि भयो ।
दाबी
B-rendra Kc नाम गरेका एक जना फेसबुक प्रयोगकर्ताले २४ जनवरी २०२६ को दिउँसो ४ः४७ बजेको समयमा एउटा ५५ सेकेन्ड लामो भिडिओ पोस्ट गरेका छन् । जसको क्याप्सनमा लेखिएको छ, “यमाले नेता ईश्वर पोख्रेल ले कार्य कर्ता लाई पैसा बाड्न लगाइएको भिडियो आयोत”
त्यस्तै भिडिओ माथि “काठमाडौं क्षेत्र न ०५ मा गत चुनावमा ईश्वर पोख्रेलले कर्याकर्तालाई पैसा बाद्न लगाएको येस्ता चोरलाई भोट नहाल्नु होलाअ” भन्दै लेखिएको छ ।
भिडिओको अडियोमा सुनिने आवाज यस्तो छ-
"बुनपा, बुनपा ६ मा।" "बुनपा ६ मा पैसा बाँड्दै गरेको भेटिएको है।"
"एमालेको नगर अध्यक्ष... बुनपाको नगर सभापति ज्यु है।"
"उहाँ, अनि बुनपा ७ को वडा अध्यक्ष ज्यु चाहिँ उ त्यहाँ निर हुनुहुन्छ, भ्यानमा... है।"
"उहाँलाई प्रहरी नियन्त्रणमा लिएको छ, उहाँहरु पैसा बाँड्दै गरेको बेला भेटेको।"
(भिडिओमा प्रहरीको भ्यानको ढोका बन्द भएको आवाज र मानिसहरूको चहलपहल देखिन्छ)
"पुलिसको भ्यानमा चाहिँ लिएर जाँदै हुनुहुन्छ है उहाँहरुलाई ।"
"अझै...|”
“हाम्रो दीपक निरौला बाँकी छ... दीपक निरौला।"
"नेकपा एमालेको चाहिँ प्रदेश सभा सदस्य उम्मेदवार ।"
यो सामग्री तयार पार्दासम्म एक लाख ६४ हजार भ्युज पाइसकेको उक्त भिडिओ १६०० पटक शेयर गरिएको छ भने ७३०० भन्दा बढी लाइक र २९९ कमेन्ट आइसकेका छन् ।
हेर्नुहोस्, भिडिओ र त्यसको स्क्रिनशट ।

अनुसन्धान
भिडिओको वास्तविकता बुझ्न टेकपाना फ्याक्टचेक डेस्कले त्यसबाट किफ्रेम निकालेर गुगल रिभर्स इमेज सर्च गर्दा Brendra_kc कै नामबाट सोही समयमा इन्स्टाग्राममा समेत सोही भिडिओ राखेको भेटियो ।
त्यसैगरी अन्य प्रयोगकर्ताले समेत सोही भिडिओ पोस्ट गरेका छन् । ‘rsp20201 घण्टी घर’ नामक टिकटक प्रयोगकर्ताले २२ जनवरी २०२६ को मितिमा विभिन्न ह्याशट्यागसहित सोही भिडिओ राखेका छन् । यो सामग्री तयार पार्दासम्म त्यसमा २० हजारभन्दा बढी भ्युज आइसकेको छ । हेर्नुहोस्, भिडिओ र त्यसको स्क्रिनशट ।

यसैगरी Dojraj Saud नामक फेसबुक प्रयोगकर्ताले २६ जनवरी २०२६ मा २६ सेकेन्ड लामो भिडिओ राखेका छन् । हेर्नुहोस् भिडिओ र त्यसको स्क्रिनशट ।

यसबाहेक रेडिटमा NepalSocial नामक सब रेडिटमा Pagal_premi_0 युजर नेमबाट पनि सो भिडिओ पोस्ट भएको पाइयो । त्यस्तै Ganesh Sigdel नामबाट समेत उक्त भिडिओ पोस्ट भएको छ ।
यसरी विभिन्न प्रयोगकर्ताबाट सामाजिक सञ्जालमा भाइरल भइरहेको देखिएपछि हामीले सो भिडिओमा गरिएका दाबीहरूको आधारमा गुगल सर्चमा “पैसा बाँडेको एमाले उम्मेदवार पक्राउ”, “एमाले चुनावमा पैसा बाँडेको” जस्ता किवर्ड राखेर खोज्यौँ ।
त्यस क्रममा २ मङ्सिर २०७९ सालमा रातोपाटीले “पैसा बाँडेको आरोपमा काठमाडौं–५ का प्रदेश सभाका एमाले उम्मेदवार पक्राउ” शीर्षकमा लेखेको समाचार फेला पर्यो । जसमा भाइरल भइरहेको भिडिओकै जस्तो देखिने व्यक्ति तथा दृश्य समावेश छ ।
समाचारको विवरणमा भनिएको छ-
“मौन अवधिमा पैसा बाँडेको आरोपमा प्रहरीले काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौलालाई पक्राउ गरेको छ । निरौलासहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमालेको बुढानिलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदिप डंगोल छन् । उनीहरूलाई अहिले प्रहरी प्रभाग बुढानिलकण्ठमा राखिएको छ ।
उनीहरू हात्तिगौंगास्थित युरो स्कुल नजिकैबाट पक्राउ परेका हुन् । उनीहरुले पैसा बाँड्न लागेको सुराक पाएपछि प्रहरीले पिछा गरेको थियो । काठमाडौं–५ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमाले नेता ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा छन् । निरौला नेकपा एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष समेत हुन् ।”
हेर्नुहोस् समाचार र त्यसको स्क्रिनशट;

“पैसा बाँडेको आरोपमा काठमाडौं–५ का प्रदेशसभाका एमाले उम्मेदवार पक्राउ” राखेर खोज्दा नेपाल लाइभले १८ नोभेम्बर २०२२ को मितिमा “काठमाडौं- ५ (ख) का एमाले उम्मेदवार पैसा बाँडेको आरोपमा पक्राउ” शीर्षकमा राखेको भिडिओ भेटियो । हेर्नुहोस्, भिडिओ र स्क्रिनशट ।

यसरी एमाले उम्मेदवारले गत चुनावमा पैसा बाँड्दै गर्दा प्रहरीले समातेको भन्ने दाबी सहित भाइरल भिडिओ गत (२०७९) मा सम्पन्न चुनावकै भएको पाइयो । जसमा देखिने व्यक्ति तत्कालीन चुनावमा एमालेको तर्फबाट काठमाडौं-५ को प्रदेश सभा ‘ख’ का उम्मेदवार रहेका दीपक निरौला हुन् । उक्त क्षेत्रबाट एमाले नेता ईश्वर पोखरेल प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका थिए । पोखरेल यही २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य पदका लागि समेत सोही क्षेत्रबाट उम्मेदवार रहेका छन् ।
दाबी
गत चुनावका क्रममा काठमाडौँ क्षेत्र नम्बर ५ मा पैसा बाँड्दै गरेको अवस्थामा एमाले उम्मेदवारलाई प्रहरीले पक्राउ गरेको ।
दाबीकर्ता
फेसबुक प्रयोगकर्ता B-rendra Kc, Dojraj Saud र Ganesh Sigdel । 'rsp20201 घण्टी घर' युजरनेम भएको टिकटक अकाउन्ट, र रेडिट प्रयोगकर्ता Pagal_premi_0।
तथ्य
यो भिडिओ ३ वर्षअघि सम्पन्न २०७९ सालको आम निर्वाचनताकाको हो । २ मङ्सिर २०७९ मा काठमाडौँ क्षेत्र नम्बर ५ को प्रदेश सभा 'ख' का एमाले उम्मेदवार दीपक निरौला, बुढानीलकण्ठ-६ का वडा अध्यक्ष रवि खड्का र एमाले नगर अध्यक्ष प्रदीप डङ्गोललाई मौन अवधिमा पैसा बाँडेको आरोपमा प्रहरीले हात्तीगौँडाबाट नियन्त्रणमा लिएको थियो । सोही समयमा उक्त क्षेत्रबाट ईश्वर पोखरेल प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका थिए । यही २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य पदका लागि सोही क्षेत्रबाट उम्मेदवार रहेका पोखरेलले नै तत्कालीन चुनावमा उक्त पैसा बाँड्न लगाएको भन्ने दाबी भने पुष्टि भएको छैन ।
निष्कर्ष
गत चुनावमा पैसा बाँड्दै गर्दा एमाले कार्यकर्ता पक्राउ परेको भन्दै भाइरल भएको भिडिओ वास्तविक हो । ३ वर्षअघि २०७९ सालको चुनावमा पैसा बाँडेको आरोपमा एमाले उम्मेदवार दीपक निरौला पक्राउ परेको भिडिओलाई अहिले पुनः सामाजिक सञ्जालमा भाइरल गराइएको हो ।
प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।
पछिल्लो अध्यावधिक: फागुन १५, २०८२ २१:५
