close

फ्याक्टचेक: माओवादी द्वन्द्वको भन्दै फैलाइएको बाबु-छोराको तस्बिर ६० वर्ष पुरानो भियतनाम युद्धको

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

फागुन १६, २०८२ १०:३५

फ्याक्टचेक: माओवादी द्वन्द्वको भन्दै फैलाइएको बाबु-छोराको तस्बिर ६० वर्ष पुरानो भियतनाम युद्धको

काठमाडौँ । बाँधिएको अवस्थामा रहेका बाबुको छातीमा छोरा टाँसिएको एक तस्बिर भाइरल छ । उक्त तस्बिर माओवादी जन आन्दोलनको समयमा चन्दा दिन नसकेपछि पीडा दिइएको दाबी सहित  भाइरल गराइएको हो । तर, टेकपानाको तथ्यजाँचबाट उक्त दाबी भ्रामक रहेको पाइएको छ । 

भियतनाम युद्धको समयमा भियतनामी गोरिल्ला सेनालाई सहयोग गरेको आशङ्कामा पक्राउ परेर सोधपुछका लागि लगिएको बुबाको छातीमा टाँसिएको बालकको तस्बिर सन् १९६६ मा  न्युयोर्क हेराल्ड ट्रिब्युन, युरोपियन एडिसनले प्रकाशित गरेको थियो । करिब ६० वर्ष पुरानो सोही तस्बिरलाई माओवादी जनआन्दोलनको समयको भन्दै भाइरल गराइएको हो । 

दाबी 

फेसबुक पेज ‘Newa Media Nepal’ ले २६ जनवरी दिउँसो १:४५ मा एक पोस्ट सार्वजनिक गरेको छ । उक्त पोस्टमा एउटा अर्ध नग्न अवस्थामा युवक देखिएका छन् । वरपर घाँस देखिएको छ भने ती युवकको  हात पछाडि लगेर बाँधिएको छ । उनको काखमा बस्दै छातीमा टाँसिएर करिब डेढ/दुई वर्षको बालक क्यामेरातर्फ हेरिरहेका छन् । ती बालकको टाउको र ढाड कपडाले छोपिएको छ । तस्बिरमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को चुनाव चिन्ह तारा समेत राखिएको छ । 

उक्त तस्बिर शेयर गर्दै ‘Newa Media Nepal’ ले हत्याराहरूलाई भोट दिन नहुने तर्क गरेको छ । पोस्टको क्याप्सनमा लेखिएको छ, “भो मर्न तयार तर त जस्तो ज्यानमारा हत्यारालाई भोट हाल्नु, हाल्ने ती १७ हजारको होइन, ७५ हजारको हत्यारा हुन्।, तँलाई याद छ नि तेरो बाउले एउटी गर्भवती नारीको अगाडि उसको बुढालाई काटेर मारेको, तनया छ छैन, आफ्नो श्रीमान र भाइलाई बाँधेर श्रीमतीलाई र बहिनीलाई बलात्कार गरेको तलाई याद छ कि छैन, अनि तलाई भोट दिने, त लाई लाज छ कि छैन, तैले बिर्सिस होला, दुनियालाई लुटेर आज देश देखि विदेश सम्म दुनिया भवनहरू बनाएको छ, अरबौँ खरबौं सम्पत्तिहरू विदेशी बैंकहरूमा छ 😡☝🏻। तर तेरो ग* खाने सबै नेपाली छैनन् ।।☝🏻☝🏻😡😡 सोचेर भोट हालौं ☝🏻 अब भ्रष्टाचारी हत्यारा एमाले, कांग्रेस र माओबादी लाई सबैले बहिस्कार गरौ। 🙏🙏🙏” 

उक्त पोस्टलाई यो सामग्री तयार गर्दासम्म ४४ सय भन्दा धेरै रियाक्सन गरिएको छ भने ६०० पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट । 


 

अनुसन्धान

२ जनवरी २०२६ मा फेसबुक प्रयोगकर्ता ‘Cm Brahmins’ ले पनि सोही तस्बिर सार्वजनिक गरेको फेला पर्‍यो । उक्त तस्बिरको क्याप्सनमा देखिएको छ, “माओबादी ले द्वन्द कालमा दिएको पीडा” । 

उक्त पोस्टमा यो सामग्री तयार पार्दासम्ममा १४ हजार बढी रियाक्सन, १५ सयभन्दा धेरै पटक शेयर भएको छ । पोस्टमा ८२६ पटक कमेन्ट गरिएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट । 

 

खोज्दै जाने क्रममा इन्स्टाग्राममा ‘sunil_prajapali’ ले ५ जनवरीमा सोही तस्बि सार्वजनिक गरेको फेला पर्‍यो ।  ‘यसरी ल्याएको व्यवस्था ले देश बनाउछ होइन हिंसा बडाउछ आज देशमा तेहि भाको छ’ क्याप्सनसहित उक्त तस्बिर सार्वजनिक गरिएको हो । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट । 

४ जुलाई २०२५ मा फेसबुक प्रयोगकर्ता ‘Ganesh Gautam’ले माओवादी द्वन्द्वको समयको दाबी सहित सोही तस्बिर सार्वजनिक गरेको फेला पर्‍यो । उक्त तस्बिरको क्याप्सनमा लेखिएको छ, “नेकपा माओवादीको योगदान🥲😂केही भन्न मन लागेमा भन्न सक्नुहुन्छ !?” हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट । 

सामाजिक सञ्जाल एक्स प्रयोगकर्ता ‘युगद्रष्टा 🕉️🇳🇵’ ले पनि सोही दाबी सहितको तस्बिर करिब तीन वर्ष पहिला सार्वजनिक गरेको फेला पर्‍यो । २९ अप्रिल २०२३ मा सार्वजनिक भएको उक्त तस्बिरको स्टाटसमा लेखिएको छ, “माओवादी द्वन्दकालिन समयमा योग्य लडाकुद्वारा गरिएको हर्कतको एक सुन्दर तस्विर ।” हेर्नुहोस् पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट । 

फेसबुक प्रयोगकर्ता ‘Barahathawa Commercial City’ ले ७ जुलाई २०२५ मा सोही तस्बिर सार्वजनिक गरेको फेला पर्‍यो । उक्त तस्बिरको क्याप्सनमा लेखिएको छ, “मौन ! केहि भन्न मन लागेमा मज्जाले कमेन्टमा भन्नुहोस्☹️☹️☹️🙏”। हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट । 
 

 

अनुसन्धान 

हामीले उक्त तस्बिरलाई गुगल रिभर्स इभेज सर्च गर्‍यौँ । यसरी खोज्दा विभिन्न भाषामा प्रकाशित सामग्रीहरूमा यो तस्बिरको प्रयोग भएको फेला पार्‍यौँ । 

‘Detained Father’ (हिरासतमा रहेका बुबा) शीर्षकमा oldpik.com ले उक्त तस्बिर राखेको फेला पार्‍यौँ । तस्बिरको क्याप्सनमा लेखिएको छ, “एक भियतनामी बालक आफ्नो बुबासँग अँगालो हालेर टाँसिएको छ, जसलाई उत्तर भियतनामी गुरिल्लाहरूलाई सहयोग गरेको आरोपमा पक्राउ गरी बाँधेर राखिएको छ । सन् १९६६ ।” (अङ्ग्रेजीमा रहेको क्याप्सनलाई नेपालीमा रूपान्तरण गरिएको हो ।)

त्यसपछि हामीले ‘Detained father vietnam war’ किवर्ड राखेर गुगल एड्भान्स सर्च गर्‍यौँ । खोज्ने क्रममा द न्युयोर्क टाइम्सले सन् २०१६ मा आर्काइभ गरेको पुरानो समाचार फेला पर्‍यो । उक्त आर्काइभ अनुसार १९ फेब्रुअरी १९६६ मा ‘Refugees Flee From Viet Cong’ शीर्षकमा तत्कालीन अमेरिकी पत्रिका New York Herald Tribune को युरोपियन संस्करणले समाचार प्रकाशित गरेको थियो । सोही समाचारमा उक्त तस्बिरको प्रयोग भएको थियो । 

उक्त तस्बिरको व्याख्या गर्दै समाचारमा लेखिएको छ- “PRICE OF WAR- A Vietnamese child clings to his bound father, who was caught in a roundup of suspected Viet Cong near Bong Son, 280 miles from Saigon. The father was taken to an interrogation camp along with other guerrilla suspects.”

यसको नेपाली रूपान्तरण हेरौँ- “युद्धको मूल्य–  सैगोनबाट २८० माइल टाढा रहेको बोङ सनमा भियत कङ समर्थक भएको आशङ्कामा गरिएको धरपकडका क्रममा पक्राउ परेका आफ्ना बुबालाई बाँधिएको अवस्थामा एक भियतनामी बालक अँगालो हालेर टाँसिएको छ। ती बुबालाई अन्य गुरिल्ला शङ्कास्पद व्यक्तिहरूसँगै सोधपुछ शिविरमा लगिएको थियो ।”


 

दाबी

माओवादीले द्वन्द्वमा दिएको पीडा भन्दै हात बाँधिएको बाबुको छातीमा टाँसिएका छोराको तस्बिर भाइरल ।

दाबीकर्ता

फेसबुक प्रयोगकर्ता ‘Newa Media Nepal’, ‘Cm Brahmins’, ‘Ganesh Gautam’,  ‘Barahathawa Commercial City’, इन्स्टाग्राम प्रयोगकर्ता ‘sunil_prajapali’, एक्स प्रयोगकर्ता ‘युगद्रष्टा 🕉️🇳🇵’ लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ता । 

तथ्य 

सामाजिक सञ्जालमा माओवादी जनआन्दोलनको भन्दै भाइरल गरिएको बाबु छोराको तस्बिर नेपालसँग सम्बन्धित छैन । उक्त तस्बिर सन् १९६६ मा भियतनाम युद्धका क्रममा खिचिएको हो । यो तस्बिर तत्कालीन अमेरिकी पत्रिका New York Herald Tribune को युरोपियन संस्करणमा १९ फेब्रुअरी १९६६ मा ‘Refugees Flee From Viet Cong’ शीर्षकमा प्रकाशित भएको थियो । पछि यसलाई The New York Times ले सन् २०१६ मा आफ्नो आर्काइभमा पुनः प्रकाशन गरेको फेला परेको छ । 

समाचारमा दिइएको विवरणअनुसार भाइरल फोटो बोङ सन (दक्षिण भियतनाम) नजिक भियत कङ समर्थक भएको आशङ्कामा पक्राउ परेका एक व्यक्तिलाई सोधपुछका लागि लगिएको समयमा उनका सानो छोराले छातीमा अँगालो हालेको दृश्य हो । करिब ६० वर्ष पुरानो भियतनाम युद्धकालीन तस्बिरलाई नेपालको माओवादी द्वन्द्वकालसँग जोडेर प्रस्तुत गरिएको हो । 

निष्कर्ष

माओवादी जनआन्दोलनको समयमा दिइएको पीडा भन्दै भाइरल गराइएको बाबु छोराको तस्बिर भ्रामक हो ।

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुकइन्स्टाग्रामटिकटकएक्स, ​युट्युबलिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: फागुन १६, २०८२ २१:७