close

फ्याक्टचेकः रास्वपा उम्मेदवार केपी खनालबारे गोरखापत्रले रकम हिनामिना गरेको समाचार राखेको भन्दै भ्रामक पोस्ट भाइरल

टेकपाना टेकपाना

फागुन १६, २०८२ २१:२८

फ्याक्टचेकः रास्वपा उम्मेदवार केपी खनालबारे गोरखापत्रले रकम हिनामिना गरेको समाचार राखेको भन्दै भ्रामक पोस्ट भाइरल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट कैलाली-२ का उम्मेदवार रहेका केपी खनालले रकम हिनामिना गरेको भन्दै ‘गोरखापत्र’ले समाचार छापेको दाबीसहितको एउटा पोस्ट शुक्रबारदेखि फेसबुकमा भाइरल भइरहेको छ । खनालको चुनावी पोस्टर राखेर उनले विभिन्न व्यक्तिबाट रकम सङ्कलन गरी हिनामिना गरेको आरोप उक्त पोस्टमा लगाइएको छ । टेकपाना फ्याक्टचेक डेस्कको अनुसन्धानबाट गोरखापत्रले खनालको रकम हिनामिनासम्बन्धी कुनै समाचार प्रकाशन नगरेको पुष्टि भएको छ । गोरखापत्रको नाममा खोलिएको कुनै भ्रामक फेसबुक पेजबाट यस्तो अपुष्ट सूचना सम्प्रेषण गरिएको पाइएको छ ।

दाबी

शुक्रबार २७ फेब्रुअरी २०२६ दिउँसो ४ः०१ मिनेटमा ‘Gorkha Patra’ नामको फेसबुक पेजले एक पोस्टरहितको पोस्ट राख्यो । पोस्टरमा रास्वपाका तर्फबाट कैलाली-२ मा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार रहेका केपी खनालको देखिन्छन् । माथिपट्टि रातो बक्समा लेखिएको छ, “60 लाख भन्दा बढढि रकम घोटाला ।” उक्त फोटोको क्याप्सनमा लेखिएको छ, “बालेनका प्रिय पात्र केपी खनाल कैलाली जिल्ला 2 का रास्वपा का प्रतिनिधि सभा उम्मेदवार ले स्कुल को लागि 90 लाख भन्दा बढी रकम विभिन्न मुलुक मा रहेका मानिसहरू बाट उठाएर ,30 लाख मात्र स्कुल  को भवन निर्माण मा खर्च गरि, बाँकी 60 लाख भन्दा बढी रकम हिनामिना गरी काठमाडौं को सङ्खमुल मा चियादानि क्याफे र कैलाली को जानकी गा .पा ,मा भव्य आलिसान घर निर्माण गरेको तथ्य बाहिरियको छ । 😔 😟

#Gorkhapatra ।”

यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा २९१ रियाक्सन र १४४ कमेन्ट आएका छन् । र, उक्त पोस्ट २९४ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

अनुसन्धान

टेकपाना फ्याक्टचेक डेस्कलाई केपी खनालको विषयमा फैलिएको दाबीबारे तथ्यजाँचका लागि विभिन्न पोस्टमा मेन्सन भएको थियो । त्यसमध्ये  ‘Blast News’ नामक फेसबुक पेजले शुक्रबार राति १०ः३९ बजे सोही पोस्ट कपी पेस्ट गर्दै राखेको छ । र, अन्तिममा स्रोत ‘Gorkhapatra online’ लेखेको छ । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ७७०० बढी रियाक्सन, १८०० बढी कमेन्ट र ९०४ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

त्यस्तै ‘Sharad Khadaka’ नामको फेसबिक पेजले पनि सोही क्याप्सन कपी पेस्ट गर्दै राखेको छ । उक्त पोस्टमा ११०० रियाक्सन र २९० ओटा कमेन्ट आएका छन् भने पोस्ट ७६ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

त्यसैगरी फेसबुकमा ‘Gyan Bahadur Khadka’ नामका प्रयोगकर्ताले पनि आफ्नो धारणा राख्दै त्यही फोटो र क्याप्सन पोस्ट गरेका छन् । उनले राखेको पोस्टमा १४०० बढी रियाक्सन र ३२२ ओटा कमेन्ट आएका छन् भने २०० पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्टआर्काइभ पोस्ट ।  

त्यस्तै ‘Saphal Serpali’ नामका प्रयोगकर्ताले पनि यही पोस्ट कपी पेस्ट गर्दै पोस्ट गरेको पाइयो । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट । 

‘Ravi Punmagar’ (ओरिजिनल र आर्काइभ), मदन लामिछाने (ओरिजिनल र आर्काइभ) लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ताले एउटै पोस्ट कपी पेस्ट गर्दै शेयर गरेको पाइयो । 

यी सबै पोस्टमा स्रोतः गोखरापत्र दिइएको छ । हामीले तथ्यजाँचकै क्रममा गोरखापत्रमा केपी खनालबारे प्रकाशित समाचार खोज्यौं । तर, खनालले रकम हिनामिना गरेको विषयमा तयार पारेको कुनै समाचार फेला परेन । हामीले गोरखापत्रका सामाजिक सञ्जालमा खोज्ने क्रममा गोरखापत्रले नै उक्त समाचारबारे खण्डन गरेको पाइयो । गोरखापत्रले फेसबुकमा पोस्ट राख्दै भनेको छ, “ब्लास्ट टाइम्समा प्रकाशन भएको समाचारको अन्तिममा स्रोत गोरखापत्र अनलाइन भनेर राखेकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ । यो घोटलाको विषयमा गोरखापत्र अनलाइनमा कुनै सामग्री प्रकाशन नभएको स्पष्ट पार्न चाहन्छौँ । सम्पादक।” हेर्नुहोस् पोस्ट । 

हामीले अन्य सञ्चारमाध्यममा यस विषयमा समाचार प्रकाशन भएको खोज्यौं । गुगल एड्भान्स सर्चमा खोज्दै कुनै पनि व्यवसातिक सञ्चार माध्यमले यस विषयमा समाचार प्रकाशन नगरेको फेला पर्‍यो ।

अब सबैभन्दा पहिले पोस्ट राख्ने अकाउन्टबारे बुझौं । २३०० फलोअर रहेको यस अकाउन्टले आफ्नो प्रोफाइल पिक्चरमा सरकारी सञ्चार माध्यम गोरखापत्रको लोगो राखेको छ । 

यो व्यक्तिगत अकाउन्ट भएको र यस अकाउन्टले गोरखापत्रको नाम राख्दै अतिरञ्जित सामग्री राख्ने गरेको पाइयो । यही नक्कली अकाउन्टले राखेको पोस्टलाई नै विश्वास गर्दै अन्य पेज तथा प्रयोगकर्ताले केपी खनालले घोटाला गरेको भन्दै पोस्ट राखेको देखियो । यसबाट के पुष्टि हुन्छ भने गोरखापत्रको नामबाट खोलिएको नक्कली फेसबुक पेजले सबैभन्दा पहिले यो अपुष्ट दाबी राख्यो । र, अन्य प्रयोगकर्ताले स्रोतका रूपमा गोरखापत्र अनलाइनलाई राख्दै पोस्ट थप शेयर गरेको पाइयो । 

दाबी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट कैलाली-२ का उम्मेदवार रहेका केपी खनालले स्कुल निर्माणका लागि विदेशमा रहेका व्यक्तिहरूबाट ९० लाखभन्दा बढी रकम उठाएर ३० लाख मात्र खर्च गरेको र बाँकी ६० लाखभन्दा बढी रकम हिनामिना गरी काठमाडौँमा 'चियादानि क्याफे' र कैलालीमा आलिसान घर बनाएको दाबी । साथै, यो समाचार आधिकारिक राष्ट्रिय दैनिक 'गोरखापत्र'ले छापेको भन्ने दाबी ।

दाबीकर्ता 

सबैभन्दा पहिले दाबी गर्ने: 'गोरखापत्र' (Gorkha Patra) को नाम र लोगो दुरुपयोग गरी खोलिएको एउटा नक्कली फेसबुक अकाउन्ट (व्यक्तिगत अकाउन्ट)। 'Blast News', 'Sharad Khadaka' नामक फेसबुक पेजहरू तथा ज्ञानबहादुर खड्का, सफल श्रीपाली, रवि पुनमगर, मदन लामिछाने लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ता । 

तथ्य

आधिकारिक ‘गोरखापत्र’ वा ‘गोरखापत्र अनलाइन’ले केपी खनालले रकम हिनामिना गरेको विषयमा कुनै पनि समाचार प्रकाशन गरेको छैन । गोरखापत्रले नै आफ्नो फेसबुक पेजमार्फत सूचना जारी गर्दै उक्त घोटालाको विषयमा आफूहरूले कुनै सामग्री प्रकाशन नगरेको भन्दै स्पष्टीकरण (खण्डन) दिएको छ । गुगल एड्भान्स सर्चमार्फत खोज्दा अन्य कुनै पनि मूलधारका वा व्यावसायिक सञ्चारमाध्यमले यस विषयमा समाचार नछापेको पुष्टि भएको छ । सुरुमा पोस्ट गर्ने अकाउन्ट गोरखापत्रको आधिकारिक पेज नभई, त्यसको लोगो प्रयोग गरेर भ्रामक र अतिरञ्जित सामग्री राख्ने नक्कली अकाउन्ट भएको पाइएको छ । 

निष्कर्ष

रास्वपा उम्मेदवार केपी खनालले ६० लाखभन्दा बढी रकम हिनामिना गरेको र सो समाचार 'गोरखापत्र'ले छापेको भन्दै सामाजिक सञ्जालमा गरिएको दाबी भ्रामक हो ।

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुकइन्स्टाग्रामटिकटकएक्स, ​युट्युबलिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: फागुन १६, २०८२ २१:२८