फ्याक्टचेकः नझुक्किनुस् ! हिमानीले बालेनलाई समर्थन गरेकी छैनन्, भिडिओ हाल्ने अकाउन्ट नक्कली हो
फागुन १८, २०८२ १३:३१
काठमाडौँ । शनिबारदेखि सामाजिक सञ्जालमा एउटा भिडिओ सहितको पोस्टले निकै चर्चा पाइरहेको छ । उक्त भिडिओमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र पूर्वयुवराज्ञी हिमानी शाहलाई देख्न सकिन्छ । ‘हिमानी शाह’को नाममा खोलिएको अकाउन्टबाट पोस्ट गरिएको १४ सेकेन्डको उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
त्यही भिडिओलाई आधार बनाएर केही फेसबुक पेजले हिमानी शाह बालेन शाहको पक्षमा उभिएको अड्कल काटेका छन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार रहेका बालेनलाई हिमानीले समर्थन गरेको कुरा भिडिओमा देखाउन खोजिएको छ । यद्यपि टेकपाना फ्याक्टचेक डेस्कले गरेको तथ्यजाँचका क्रममा उक्त भिडिओ साढे तीन वर्ष पुरानो भएको र भिडिओ पोस्ट गर्ने फेसबुक पेज पनि नक्कली रहेको पाइएको छ ।
दाबी
शनिबार २८ फेब्रुअरी २०२६ राति १२ः२६ बजे ‘Himani Shah’ नामक फेसबुक पेजबाट १४ सेकेन्डको भिडिओ पोस्ट भयो । भिडिओमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम् आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन) र पूर्व युवराज्ञी हिमानी शाहले एक अर्कालाई भेटेर फोटो खिचाएको दृश्य राखिएको छ । उक्त भिडिओको क्याप्सनमा ‘#nepal’ राखिएको छ । यो सामग्री तयार पार्दासम्म उक्त भिडिओले साढे चार लाख बढी भ्युज पाइसकेको छ भने ४३१ पटक शेयर भएको छ । १८ हजार बढीले रियाक्ट गरेको सो भिडिओमा ४१३ ओटा कमेन्ट छन् । हेर्नुहोस् ओरिजिनल भिडिओ र स्क्रिनशट ।

अनुसन्धान
उक्त भिडिओबारे अनुसन्धान गर्ने क्रममा टेकपाना फ्याक्टचेक डेस्कले सो भिडिओलाई लिएर अन्य फेसबुक पेजहरूले पनि पोस्ट बनाएको फेला पार्यो । ‘GEN Z Nepal’ नामक फेसबुक पेजले आइतबार साँझ ६ बजे एउटा पोस्ट राखेको छ । उक्त फोटोमा बालेन शाह र हिमानी शाह देखिन्छन् ।
तलपट्टि लेखिएको छ, “चुनावको मुखैमा बालेन शाहसँग खिचाएको भिडियो हिमानी शाहको फेसबुकबाट सार्वजनिक !’ सो पोस्टको क्याप्सनमा भने उक्त अकाउन्टबारे अनभिज्ञता प्रकट गरिएको छ । क्याप्सनमा लेखिएको छ, “तीन लाख ४६ हजार फलोअर्स रहेको हिमानी शाह नाम गरिएको फेसबुक पेजबाट बालेन शाहले हिमानी शाहसँग भेट्दा खिचाएको पुरानो भिडियो सार्वजनिक गरिएको छ। उक्त भिडियोमा 'यो नेपाली शिर उचाली' बोलको गीत ब्याकग्राउन्डमा बजिरहेको सुनिन्छ ।
बालेन शाह र हिमानी शाह भेट भएको भिडियो केही वर्ष पहिलेको हो र त्यो भेटको फोटो-भिडियो पहिला पनि सार्वजनिक भइसकेको हो, तर चुनावको मुखैमा हिमानी शाहको पेजबाट फेरि उक्त भिडियो सार्वजनिक हुनुले केही सङ्केत दिन खोजेको जस्तो देखिन्छ।
तर हिमानी शाहको नाम रहेको उक्त फेसबुक पेज आधिकारिक पेज हो कि फ्यान पेज हो, त्यो भने राम्रोसँग जानकारी नभएकाले कसैलाई थाहा भए कमेन्टमा जानकारी गराउनुहोला।”
यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा १३०० बढी रियाक्सन र ७१ कमेन्ट आएका छन् भने २४ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

यो दाबीपछि डेस्कले उक्त भिडिओ पोस्ट गर्ने पेजको विश्वसनीयता जाँच्न थाल्यो । उक्त पेजको ट्रान्सपरेन्सी हेर्दा २६ अगस्ट २०१४ मै ‘Himani Shah’ नामबाट खोलिएको देखियो । त्यस यता यस पेजको नाम परिवर्तन गरिएको छैन ।

तीन लाख ४७ हजार बढी फलोअर भएको सो पेजमा अरू विवरण भने खुलाइएको छैन । तर, हिमानी शाह र उनको परिवारसँग सम्बन्धित फोटो तथा भिडिओ पोस्ट हुँदै आएका छन् ।
यस अकाउन्टबारे थप जानकारी खोज्ने क्रममा टेकपानाले १८ चैत २०८१ मा ‘टेकपाना फ्याक्टचेकः ईशा गुरुङ सहितले फेसबुकमा राखेको हिमानी शाहको भनाइ सम्बन्धी पोस्ट मिथ्या’ शीर्षकको फ्याक्टचेक सामग्री फेला पर्यो । त्यस बखत पनि यही फेसबुक पेजले राखेको पोस्टलाई आधार बनाएर केही सामाजिक सञ्जाल प्रयोगकर्ताले मिथ्या सूचना राखेका थिए ।

उक्त फ्याक्टचेकमा डेस्कले ‘सम्बाद सचिवालयको सूचना’ र पूर्वराजा ज्ञानेन्द्र शाहका निजी सचिव फडिराज पाठकसँग कुरा गर्दा यो अकाउन्ट नक्कली रहेको निष्कर्ष निकालेको थियो । त्यस बखत उक्त पेजमा दुई लाख ८८ हजार फलोअर थिए भने अहिले बढेर तीन लाख ४७ हजार पुगेका छन् ।

त्यस्तै उक्त भिडिओ कहिलेको हो भन्ने फेला पार्न किफ्रेम निकालेर गुगल रिभर्स इमेज सर्च गर्दा २०२२ अक्टोबर २४ मा ‘routineofnepalbanda’ नामक टिकटक अकाउन्टले ३१ सेकेन्डको भिडिओ राखेको भेटियो । हेर्नुहोस् भिडिओ । सो भिडिओमा हिमानी शाह र बालेन शाहले एक अर्कालाई भेटेर फोटो खिचाएको देख्न सकिन्छ ।
यी विभिन्न तथ्यलाई आधार मान्दा हिमानीले बालेनलाई समर्थन गरेको देखाउने भिडिओ साढे तीन वर्ष पुरानो हो भने उक्त भिडिओ राख्ने अकाउन्ट नै नक्कली हो ।
दाबी
आसन्न निर्वाचनको मुखैमा पूर्वयुवराज्ञी हिमानी शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा उम्मेदवार बालेन्द्र शाह (बालेन) सँगको भिडिओ सार्वजनिक गरेर उनलाई समर्थन गरेकी छिन् भन्ने दाबी ।
दाबीकर्ता
'Himani Shah' नामको फेसबुक पेज (जसले सुरुमा भिडिओ राख्यो)। उक्त भिडिओलाई आधार मानेर हिमानीले बालेनलाई समर्थन गरेको अड्कल काट्ने 'GEN Z Nepal' लगायतका अन्य फेसबुक पेज ।
तथ्य
बालेन शाह र हिमानी शाह सँगै देखिएको उक्त भिडिओ अहिलेको नभई साढे तीन वर्ष पुरानो हो । भिडिओ पोस्ट गरिएको 'Himani Shah' नामक फेसबुक पेज आधिकारिक नभई पूर्ण रूपमा नक्कली हो । यसअघि नै पूर्वराजा ज्ञानेन्द्र शाहका निजी सचिव फणिराज पाठक र संवाद सचिवालयको सूचना अनुसार उक्त फेसबुक अकाउन्ट नक्कली भएको (टेकपाना फ्याक्टचेक डेस्कले) पुष्टि भइसकेको छ ।
निष्कर्ष
पूर्वयुवराज्ञी हिमानी शाहले बालेन्द्र शाह (बालेन) लाई समर्थन गरेकी छैनन् । समर्थन गरेको देखाउन प्रयोग गरिएको भिडिओ पुरानो हो र भिडिओ पोस्ट गर्ने हिमानी शाहको नामको अकाउन्ट पनि नक्कली हो । तसर्थ सामाजिक सञ्जालमा गरिएको यो दाबी भ्रामक हो ।

प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।
पछिल्लो अध्यावधिक: फागुन १८, २०८२ १३:३१
