close

चुनावको बेला सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको आरोपमा ३२ जना पक्राउ

टेकपाना टेकपाना

फागुन १९, २०८२ १६:५९

सांकेतिक तस्बिर सांकेतिक तस्बिर

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने गरी सामाजिक सञ्जालमार्फत झुटो अफवाह फैलाउने ३२ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रहरीले निर्वाचन लक्षित भ्रामक सामग्री उत्पादन र प्रसार गर्नेहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिएको हो ।

प्रहरीका अनुसार विभिन्न सामाजिक सञ्जालमा भिडिओ अपलोड तथा शेयर गरी निर्वाचनको वातावरण धमिल्याउन खोज्ने र झुट्टा अफवाह फैलाउने कार्यमा संलग्न व्यक्तिहरूलाई देशका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

निर्वाचन नजिकिँदै गर्दा फेसबुक, टिकटक, युट्युब, एक्स लगायतका प्लेटफर्ममा तथ्यहीन र कृत्रिम सामग्री (एआई) प्रयोग गरी उम्मेदवार तथा निर्वाचन प्रक्रियाका विरुद्ध भ्रम छर्ने क्रम बढेपछि प्रहरीले आफ्नो 'साइबर निगरानी' लाई तीव्र पारेको छ ।

निर्वाचनको स्वच्छता र निष्पक्षतामा आँच पुर्‍याउने गरी झुट्टा र भ्रामक सूचना सम्प्रेषण गर्ने जोसुकैलाई पनि कानुनको दायरामा ल्याइने प्रहरीले चेतावनी दिएको छ । पक्राउ परेका ३२ जनामाथि प्रचलित कानुन बमोजिम थप अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: फागुन १९, २०८२ १६:५९