close

मोदीले बालेनलाई शुभकामना दिएको भन्दै एआई भिडिओ फैलाउने नन्दप्रसाद भट्ट पक्राउ

टेकपाना टेकपाना

फागुन २०, २०८२ १२:३९

मोदीले बालेनलाई शुभकामना दिएको भन्दै एआई भिडिओ फैलाउने नन्दप्रसाद भट्ट पक्राउ

 

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बालेन शाहलाई चुनावका लागि शुभकामना दिएको भन्दै सामाजिक सञ्जालमा भ्रामक ‘एआई’ भिडिओ फैलाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । निर्वाचनको मुखमा भ्रम सिर्जना गरेको आरोपमा चितवन र सुनसरीबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले बुधबार बिहान करिब १० बजे नन्दप्रसाद भट्ट (राज) लाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालका अनुसार आरोपित भट्टले मङ्गलबार राति सामाजिक सञ्जालमा एक भिडिओ पोस्ट गरेका थिए । उक्त भिडिओमा भारतीय प्रधानमन्त्री मोदीले झापा क्षेत्र नम्बर ५ का उम्मेदवार भन्दै बालेन्द्र शाह (बालेन) लाई शुभकामना दिएको दृश्य देखाइएको थियो ।

उक्त भिडिओ एआई प्रयोग गरेर बनाइएको भ्रामक सामग्री भएको टेकपाना फ्याक्टचेक डेस्कले यसअघि नै पुष्टि गरिसकेको छ । पक्राउ परेका भट्टमाथि अनुसन्धान भइरहेको बताउँदै डीएसपी खनालले भने, “हामीले १० बजेतिर नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौं । हामी थप जानकारी लिइरहेका छौँ ।”

यसअघि सोमबार जिल्ला प्रहरी कार्यालय सुनसरीले पनि सोही प्रकृतिको भिडिओ राखी भ्रम फैलाएको आरोपमा २७ वर्षीय रामचन्द्र ठाकुरलाई नियन्त्रणमा लिएको थियो ।

बिहीबार हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गरी सामाजिक सञ्जालमा विभिन्न किसिमका भ्रम फैलाउनेलाई साइबर ब्युरोले विशेष निगरानीमा राखेको छ । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थीले कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

एसपी अवस्थीले भने, “निर्वाचनलाई बिथोल्न सामाजिक सञ्जालमा भ्रम फैलाउने व्यक्तिहरूलाई हामीले निगरानीमा राखिहरेका छौँ । अहिलेसम्म दुई जना पक्राउ परिसकेका छन् । हामी अरू व्यक्तिहरू पनि पहिचान गरिरहेका छौँ ।”

पछिल्लो अध्यावधिक: फागुन २०, २०८२ १२:३९