close

फ्याक्टचेक: सर्लाही-३ का रास्वपा उम्मेदवार नरेन्द्र साह कलवार कालोसूचीमा परेको दाबी अपुष्ट

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

फागुन २०, २०८२ १:२६

फ्याक्टचेक: सर्लाही-३ का रास्वपा उम्मेदवार नरेन्द्र साह कलवार कालोसूचीमा परेको दाबी अपुष्ट

काठमाडौँ । रातोपाटी लगायतका विभिन्न अनलाइन न्युज पोर्टलहरूले सर्लाही क्षेत्र नम्बर ३ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको दाबीसहित समाचार प्रकाशित गरेका छन् । कर्जा सूचना केन्द्रको रेकर्डमा 'NARENDRA SHAH KALWAR' नाम गरेको व्यक्ति कालोसूचीमा देखिए तापनि उक्त सूचीमा नामबाहेक अन्य परिचय खुल्ने विवरणहरू उपलब्ध छैनन् । उता, कलवारले आफू कालोसूचीमा नरहेको दाबी गर्दै २१ पुसमै कर्जा सूचना केन्द्रबाट प्राप्त आधिकारिक पत्र सार्वजनिक गरेका छन् । सोही पत्र उनले उम्मेदवारी दर्ताका समयमा पनि पेस गरेका थिए ।

हाल कर्जा सूचना केन्द्रको कालोसूचीको रेकर्डमा उम्मेदवार कलवार रहेको दाबीसहितको समाचार प्रकाशित भएको आधारमा उनीविरुद्ध मुख्य निर्वाचन कार्यालय, सर्लाही–३ मा उजुरी परेको पाइएको छ । उजुरीका आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले कलवारसँग लिखित स्पष्टीकरण माग गरे पनि कालोसूचीमा रहेका व्यक्ति र उम्मेदवार कलवार एउटै हुन् भन्ने तथ्य हालसम्म पुष्टि हुन सकेको छैन ।

दाबी

अनलाइन न्युज पोर्टल ‘रातोपाटी’ ले ४ मार्च दिउँसो १२:१५ मा ‘सर्लाही–३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा’ शीर्षकमा समाचार लेखेको छ । उक्त समाचारमा नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको दाबी गरिएको छ । 

समाचारमा लेखिएको छ, “राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सर्लाही–३ का उम्मेदवार नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको पाइएको छ । कालोसूचीमा परेको भन्दै धनुषा क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको बेला कलवार पनि सोही सूचीमा रहेको पाइएको हो । कर्जा सूचना केन्द्रको विवरण अनुसार कलवारलाई पछिल्लोपटक २०८१ मंसिर ५ गते केन्द्रले कालोसूचीमा राखेको थियो । जुन अहिलेसम्म कायमै रहेको देखिन्छ । निर्माण व्यवसायमा सम्बद्ध उनीमाथि ठेक्का लिएका विभिन्न आयोजना अलपत्र पारेको आरोप समेत लाग्ने गरेको छ । यसअघिको निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार रहेका उनी एमालेका हरिप्रसाद उप्रेतीसँग झिनो मतान्तरमा पराजित भएका थिए । अहिले उनले रास्वपाबाट उम्मेदवारी दिएका छन् ।”

उक्त समाचारमा २०८०-०८-०५ को मितिमा ‘NARENDRA SHAH KALWAR’ लेखिएको सूची समेत सार्वजनिक गरेको छ । हेर्नुहोस् समाचार, आर्काइभ लिङ्क र स्क्रिनशट । 

 

अनुसन्धान

अलनालाइन न्युज पोर्टल ‘खबरहब’ ले पनि सोही दाबीसहित समाचार लेखेको पाइयो । “सर्लाही ३ का रास्वपा उम्मेदवार नरेन्द्र साह कलवार पनि कालो सूचीमा” शीर्षकमा उसले २० फेब्रुअरी दिउँसो १२:५८ मा समाचार प्रकाशित गरेको हो । 

उक्त समाचारमा लेखिएको छ, “राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सर्लाही–३ का उम्मेदवार नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको पाइएको छ। ०७९ को निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेर निकटम प्रतिस्पर्धी बनेका साह यसपटकको निर्वाचनमा उम्मेदवारी मनोनयनको अघिल्लो दिन रास्वपामा प्रवेश गरेका थिए। पार्टी प्रवेश गर्नासाथ उनलाई रास्वपाले उम्मेदवार बनाएको थियो। कालोसूचीमा रहेका धनुषा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार किशोरी साहको उम्मेदवारी निर्वाचन आयोगले मंगलबार खारेज गरेको थियो। कर्जा सूचना केन्द्रको विवरण अनुसार कलवारलाई पछिल्लोपटक २०८१ मंसिर ५ गते केन्द्रले कालोसूचीमा राखेको छ। जुन अद्यावधिक कायम छ। उनको नाम कर्जा सूचना केन्द्रको कालोसूचीको ८९६३५ नम्बरमा छ। सर्लाहीका सहायक सीडीओ होमप्रसाद घिमिरेले कलवार कर्जा सूचना केन्द्रको कालो सूचीमा रहे/नरहेको विषयमा अनुसन्धान भइरहेको बताए। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कलवारको विषयमा अहिलेसम्म आयोगमा उजुरी नपरेको जानकारी दिए। ‘उहाँको विषयमा अहिलेसम्म उजुरी परेको छैन,’ भण्डारीले नेपालखबरसँग भने, ‘उजुरी पर्यो भने हामी त्यसविषयमा आवश्यक निर्णय गर्नेछौँ।’” समाचार, आर्काइभ लिङ्क र स्क्रिनशट । 


२० फागुन दिउँसो ३:२४ मा 'नयाँ पेज' नामको अनलाइन मिडियाले पनि सोही दाबी सहितको समाचार“सर्लाही–३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा” शीर्षकमा प्रकाशित गरेको छ । पढ्नुहोस् समाचार, आर्काइभ लिङ्क र स्क्रिनशट ।  

हामीले कर्जा सूचना केन्द्रको कालोसूचीको लिस्ट हेर्‍यौँ । १७ फागुन २०८२ मा अपलोड भएको उक्त फाइलमा १४४०६२ कालोसूची नम्बरमा ५ मंसिर २०८१ मा कालोसूचीमा दर्ता भएको नाममा कर्जा लिने व्यक्तिको नाममा ‘NARENDRA SHAH KALWAR’ देख्न सकिन्छ । उक्त सूचीमा कर्जा लिएको संस्था तथा व्यक्तिका बारेमा भने विवरण उपलब्ध छैन । यस्तै उक्त विवरणमा व्यक्तिहरूको परिचय खुल्ने विवरण (नागरिकता नम्बर लगायत) हरू उल्लेख नभएकाले ती व्यक्ति को हुन् यकिन गर्न सकिने अवस्था छैन । यहाँ क्लिक गरेर पेज नम्बर २२२४ मा हेर्नुहोस् ।  

हामीले नरेन्द्र साह कलवारले रातोपाटीको समाचारमा कुनै सत्यता नरहेको जानकारी गराउँदै सामाजिक सञ्जाल फेसबुकमा राखेको स्पष्टीकरण फेला पार्‍यौँ । उक्त पोस्टमा कलवारले कर्जा सूचना केन्द्रको पत्र र राष्ट्रिय स्वतन्त्र पार्टी सर्लाही जिल्ला कार्यालयले प्रेस विज्ञप्ति राखेका छन् । 

पोस्टमा उनले लेखेका छन्, “म स्पष्ट रूपमा भन्न चाहन्छु उक्त समाचारमा कुनै पनि सत्यता छैन। यो केवल मतदातालाई भ्रममा पार्ने उद्देश्यले फैलाइएको अफवाह मात्र हो । त्यसैले कृपया कुनै भ्रममा नपरी ढुक्क र विवेकपूर्ण ढंगले आफ्नो अमूल्य मत प्रयोग गर्नुहोला। तपाईंहरूको सचेत निर्णय र समर्थनले नै सच्चा परिवर्तन सम्भव छ ।” हेर्नुहोस् पोस्ट र आर्काइभ लिङ्क ।

उक्त पोस्टमा कर्जा सूचना केन्द्रले २१ पुषमा नरेन्द्र साह कलवारलाई कालोसूचीमा समावेश नभएको जानकारी गराउँदै दिएको पत्र समावेश गरेका छन् । उक्त पत्रमा २१ पुस २०८२ सम्ममा नागरिकता परिचय पत्र नम्बर ३९५६३३४० रहेका नरेन्द्र साह कलवार हालसम्म कर्जा सूचना केन्द्र लिमिटेडको कालोसूचीमा समावेश नभएको उल्लेख छ ।

पत्रमा लेखिएको छ, “तपाईको मिति २०८२/०९/२० को निवेदन प्राप्त भयो। उक्त निवेदन साथ संलग्न रहेको नागरीकताको प्रमाणपत्रको छविचित्र मा उल्लेख भए अनुसार, अनन्त साह कलवारको छोरा, नागरीकता प्र.प.नं. ३९५६३३४० भएको तपाईं श्री नरेन्द्र साह कलवार, यस केन्द्रको अभिलेख अनुसार आजको मिति सम्ममा कालोसूचीमा समावेश नभएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।”

 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी सर्लाही जिल्ला कार्यालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै रातोपाटीको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । कर्जा सूचना केन्द्रले कालोसूचीमा नरहेको भनेर पत्र बुझाइसकेको समयमा उक्त समाचार लेखिएको भन्दै रास्वपाले आपत्ति जनाएको हो । 

विज्ञप्तिमा लेखिएको छ, “आज मिति २०८२ फाल्गनु २० गते रातोपाटी अनलाईन पत्रिकाले "सर्लाही- ३ का रास्वपा उम्मेदवार कलवार कालो सुचिमा" भन्ने शीर्षक को समाचार प्रति गम्भिर ध्यानाकार्षण भएको छ । रास्वपाको तर्फकवाट सर्लाही क्षेत्र नं. ३ का प्रत्यक्ष तर्फका उमेदवार हुनु भएका श्री नरेन्द्र साह कलवारले आफ्‌नो मनोनयन दर्ताको दिन मिति २०८२/१०/०६ गते नै कर्जा सुचना केन्द्र लि.को पत्र संख्या ५८७/०८२/०८३ को मिति २०८२/०९/२१ को कालो सुचिमा नरहेको पत्र बुझाई बुझिसकेको जानकारी को लागि अनुरोध गरिन्छ । तर कालो सुचिमा राखिएको भनि प्रकाशन गरिएको सामाग्री मिति २०८१/०८/०५ गते भनी प्रकाशन गरिएको हुदा उक्त सामाचार सामाग्री झुठो रहेको स्वतः प्रमाणित हुन्छ । निवार्चनको पुर्व सध्यामा आएको रातो पार्टी जस्तो जिम्मेवार अनलाईन पत्रिकाले प्रकाशन गरेको उक्त समाचार प्रति सर्लाही निवार्चन क्षेत्र नं. ३ समिति र जिल्ला कार्य समिति घोर भत्सना गर्दै उक्त समाचार यथाशीघ्र सच्याउन हुन समेत सम्बद्ध अनलाईन पत्रिकालाई (रातोपाटी) अनुरोध गरिन्छ । र सम्पुर्ण क्षेत्रवासी मतदाताहरु र सर्वसाधारणलाई यस्ता भ्रामक समाचारको पछि नलाग्न समेत क्षेत्र तथा जिल्ला समिति अनुरोध गर्दछ ।” 

 

त्यसपछि हामीले सर्लाही क्षेत्र नं ३ का मुख्य निर्वाचन अधिकृत नवराज आचार्यलाई सम्पर्क गर्‍यौँ । २० फागुन राति १०:१५ मा भएको टेलिफोन सम्पर्कमा उनले कलवार कालोसूचीमा भएको दाबी पुष्टि भइनसकेको बताए । उनले भने, “आज दिउँसो लगभग साढे १२ बजेतिर रातोपाटीमा समाचार आयो । त्यसपछि साढे पाँच बजेतिर सर्लाही ३ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको छ । त्यसपछि हामीले उम्मेदवारलाई बोलाएर प्रमाण पेस गर्न भनेका छौँ । लिखित पत्रबाट स्पष्टीकरण पेस गर्न भनेका छौँ । उहाँले भोलि (२१ फागुन) मा लिखित स्पष्टीकरण पेस गर्छु भनेर जानु भएको छ ।”

हामीले आचार्यलाई कर्जा सूचना केन्द्रले साहलाई दिएको पत्रका बारेमा पनि बुझ्यौँ । प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिन कालोसूचीमा परेको हुन नहुने भएकाले यसको बारेमा पहिले नै उम्मेदवारको छानबिन निर्वाचन आयोगले गर्ने गरेको उनले बताए । यसैका लागि कलवारले आफू कालोसूचीमा नभएको दाबीसहित कर्जा सूचना आयोगको पत्र पेस गरेका थिए । 

आचार्यले भने, “उहाँले ६ माघमा आफ्नो उम्मेदवारी दर्ता गर्ने बेला नै कालो सूचीमा नरहेको भन्ने एउटा पत्र पेस गर्नुभएको थियो । त्यही बेला हामीले निर्वाचन आयोगले उपलब्ध गरेको ब्लाक लिस्टेडहरूको नाम सर्च गर्दा पनि हामीले उहाँको बारेमा केही फेला पार्न सकेनौँ । त्यसपछि हामीले पनि नाम नभेटेको र उहाँ आफैँले पनि कालोसूचीमा नरहेको भनेर पत्र पेस गरेको आधारमा हामीले उम्मेदवारी दर्ता गराएका हौँ ।” 

अब उम्मेदवार कलवारले पेस गर्ने स्पष्टीकरण निर्वाचन आयोगमा पठाइने र आयोगको निर्णय अनुसार नै अन्तिम निर्णय हुने उनले बताए । 

दाबी 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सर्लाही-३ का उम्मेदवार नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको कालोसूचीमा छन् । 

दाबीकर्ता 

अनलाइन न्युजपोर्टलहरू ‘रातोपाटी’, ‘खबरहब’ ‘नयाँ पेज’ सहितका मिडिया तथा सामाजिक सञ्जाल प्रयोगकर्ता । 

तथ्य

कर्जा सूचना केन्द्रको कालोसूचीमा ‘NARENDRA SHAH KALWAR’को नाम देखिएको छ । तर उक्त सूचीमा परिचय खुल्ने विवरण उपलब्ध नभएका कारण ती व्यक्ति सर्लाही-३ का उम्मेदवार नरेन्द्र साह कलवार भए/नभएको पुष्टि गर्न सकिँदैन  । 

यता कर्जा सूचना केन्द्रबाट कलवारले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने समयमा नै कालोसूचीमा नरहेको प्रमाणित गर्ने पत्र लिएका थिए । २१ पुस २०८२ मा केन्द्रले दिएको पत्रमा कलवार उक्त मितिसम्म कालोसूचीमा नपरेको उल्लेख छ । सोही पत्र कलवारले उम्मेदवारी दर्ताका समयमा पेस गरेका थिए । निर्वाचन आयोगबाट पनि कालोसूचीमा भए नभएको जाँच गर्दा कलवार नभएको देखिएको पाइएपछि उम्मेदवारी दर्ता गरेको बताइएको छ । 

हाल विभिन्न मिडियामा कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम भएको समाचार आएपछि सर्लाही क्षेत्र नं ३ को मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवार कलवारसँग लिखित स्पष्टिकरण मागेको छ । सो लिखित पत्रको बारेमा निर्वाचन आयोगले निर्णय लिनेछ । 

निष्कर्ष 

कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको ‘NARENDRA SHAH KALWAR’ नाम सर्लाही-३ का उम्मेदवार नरेन्द्र साह कलवार भए/नभएको हालसम्म पुष्टि भएको छैन ।

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, ​युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: फागुन २१, २०८२ ७:३४