फ्याक्टचेकः उदयपुरमा प्रहरीको हतियार पड्केर मतपेटिकामा क्षति पुगेको भन्दै एआई फोटो भाइरल
फागुन २१, २०८२ १७:१
काठमाडौँ । सामाजिक सञ्जालमा यतिबेला उदयपुरको एउटा घटना भाइरल भइरहेको छ । बिहीबार प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा प्रहरीको हतियारबाट गोली पड्किँदा मतपेटिकामा क्षति पुगेको दाबीसहितका पोस्ट फैलिएका छन् । भाइरल पोस्टमा मतपेटिकामा ठुलो प्वाल परेको र भित्रका मतपत्र च्यातिएको जस्तो देखिने तस्बिर राखिएको छ ।
टेकपाना फ्याक्टचेक डेस्कको तथ्यजाँच गर्दा उदयपुरमा प्रहरीको हतियारबाट गोली पड्केर मतपेटिकामा सामान्य क्षति भएको पुष्टि भएको छ । तर, पोस्टमा प्रयोग गरिएको तस्बिर भने एआई सिर्जित रहेको निष्कर्ष निक्लेको छ ।
दाबी
बिहीबार (५ मार्च २०२६) बिहान १०ः४१ बजे ‘लोकसेवा तयारी समुह’ नामको फेसबुक ग्रुपमा ‘सहनी कौशल क्षत्रिय’ नामका प्रयोगकर्ताले एक फोटो सहितको पोस्ट राखे । पोस्टको क्याप्सनमा लेखिएको छ, “उदयपुरमा प्रहरीको हतियारबाट गोली पड्किँदा मतदान गर्ने बाक्सा क्षति पुगेको छ।” उक्त पोस्टमा प्रयोग भएको फोटोमा मतपेटिका देखिन्छ ।
मतपेटिकामा ठुलो प्वाल परेको छ । भुईँमा छर्रा छ भने भित्र र भूईमा मतपत्र च्यातिएको जस्तो देखाइएको छ । पृष्ठभूमिमा भने नेपाल प्रहरीका कर्मचारी जस्तो देखिने व्यक्ति छन् । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ७८०० बढी रियाक्सन, २६५ कमेन्ट आएका छन् भने त्यसलाई २७६ पटक शेयर गरिएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

अनुसन्धान
टेकपाना फ्याक्टचेक डेस्कले यस विषयमा अनुसन्धान गर्न फेसबुकमा ‘उदयपुरमा प्रहरीको हतियारबाट’ किवर्ड फेसबुकमा सर्च गर्यो । त्यस क्रममा ‘Guptacharkhabar.com’ नामको फेसबुक पेजले रक्ताम्मे मतपेटिकाको फोटो राखेको छ जसमा ‘उदयपुरमा निर्वाचन सुरक्षाका लागि खटिएका प्रहरीको बोकेको हतियारबाट आकस्मिक रूपमा गोली पड्किँदा मतदान केन्द्रमा रहेको मतपेटिकामा सामान्य क्षति पुगेको छ।’ क्याप्सन लेखिएको छ । उक्त पोस्टमा ७०१ रियाक्सन, ३१ कमेन्ट आएका छन् भने ३९ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

त्यसैगरी ‘हाम्रो उदयपुर गाईघाट खबर’ नामको फेसबुक पेजले पनि त्यही पोस्ट कपी पेस्ट गर्दै राखेको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

यस विषयमा तथ्यजाँच गर्न टेकपाना फ्याक्टचेक डेस्कले सबैभन्दा पहिले उदयपुर निर्वाचन क्षेत्र नम्बर १ का मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायलाई सम्पर्क गर्यो । उनले यो घटना उदयपुरको कटारी नगरपालिका-३ स्थित तावाखोला (ख) मतदान केन्द्रमा भएको बताए । उपाध्यायका अनुसार त्यतिबेला मतदान सुरु भएकै थिएन । उनले ड्युटीमा खटिएका प्रहरी लड्दा हतियार पड्किएको र मतपेटिकामा सामान्य क्षति पुगेको पुष्टि गरे । उनले भने, “मतदान सुरु हुनु अगाडि ड्युटीमा खटिएका प्रहरी लड्दा हतियार पड्किएको हो । मतदान सुरु भएकै थिएन । त्यो सामान्य घटना हो ।”
हामीले थप पुष्टि गर्न समाचार खोज्यौं । अन्नपूर्ण पोस्टको अनलाइन संस्करणमा प्रक्राशित ‘उदयपुरमा प्रहरीको हतियारबाट गोली पड्किँदा मतपेटिकामा क्षति’ शीर्षकको समाचार फेला पर्यो । यसमा कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेको भनाइ राखिएको छ । “मतपेटिकामा सामान्य क्षति पुगे पनि मतदान सुचारु राख्न कुनै अवरोध छैन । मतपेटिका परिवर्तन गरेर मतदान प्रक्रियालाई निरन्तर जारी राखिएको छ,” डीआईजी घिमिरेले अन्नपुर्ण पोस्टलाई भने ।
यसपछि हामीले भाइरल फोटोको तथ्यजाँच गर्न थाल्याैँ । फोटोमा मतपेटिकामा ठुलो प्वाल परेको देखाइएको छ भने त्यसबाट मतपत्र च्यातिएको देखाइएको छ । अर्को एक फोटोमा रगत लत्पतिएको देखाइएको छ । मुख्य निर्वाचन अधिकृत र प्रहरीले घटना मतदान सुरु हुनु अगावै भएको र कुनै पनि मानवीय क्षति नभएको स्पष्ट पारिसकेको छ । यसबाट रक्ताम्मे देखिने फोटो भ्रामक रहेको विश्लेषण गरियो । मतपेटिकाको आकार पनि वर्तमान समयमा प्रयोग गरिएको भन्दा सानो देखियो । यो एआई सिर्जित हुनसक्ने सङ्केत देखिएपछि हाइभमोडरेसन टुलमा जाँच गरेर हेर्यौं । उक्त टुलले एउटा फोटो ९३ प्रतिशत एआई सिर्जित देखायो ।
रक्ताम्मे देखिने फोटो प्रयोग गर्ने पोर्टल ‘प्रदेशखबरडटकम’ले त्यसलाई एआई लेबल लगाएको छ । यसबाट उक्त फोटो एआई सिर्जित रहेको पुष्टि भयो ।
यी विभिन्न तथ्यहरूले उदयपुरमा निर्वाचनमा खटिएका प्रहरी कर्मचारी लड्दा हतियार पड्किएको पुष्टि हुन्छ । उक्त घटनामा कुनै मानवीय वा भौतिक क्षति भने भएको थिएन । मतदान सुरु हुनुअगावै मतपेटिकामा सामान्य क्षति पुगेको भए पनि घटनालाई अतिरञ्जित बनाउन एआई सिर्जित तस्बिर प्रयोग गरिएको निष्कर्ष हामीले निकाल्याैँ ।
दाबी
उदयपुरमा प्रहरीको हतियारबाट गोली पड्किँदा मतपेटिकामा ठुलो क्षति पुगेको, मतपेटिकामा ठुलो प्वाल परेको र भित्रका मतपत्रहरू समेत च्यातिएको।
दाबीकर्ता
फेसबुक प्रयोगकर्ता ‘सहनी कौशल क्षत्रिय’ (लोकसेवा तयारी समुह नामक फेसबुक ग्रुपमा) तथा ‘गुप्तचर खबर’ र ‘हाम्रो उदयपुर गाईघाट खबर’ जस्ता फेसबुक पेजहरू।
तथ्य
उदयपुरको कटारी नगरपालिका–३ स्थित तावाखोला (ख) मतदान केन्द्रमा मतदान सुरु हुनुअगाडि ड्युटीमा खटिएका प्रहरी लड्दा हतियार पड्किएर मतपेटिकामा सामान्य क्षति पुगेको हो। मुख्य निर्वाचन अधिकृत र प्रहरीका अनुसार मतदान सुरु भइनसकेको हुँदा मतपेटिका खाली थियो, त्यसैले मतपत्र च्यातिने वा रक्ताम्मे हुने सम्भावना थिएन। साथै, कुनै मानवीय क्षति पनि भएको छैन।
निष्कर्ष
उदयपुरमा प्रहरीको हतियार पड्केर मतपेटिकामा सामान्य क्षति पुगेको कुरा सत्य हो । तर, सामाजिक सञ्जालमा भाइरल भएको तस्बिरमा देखाइए जस्तो मतपत्र च्यातिएको र ठुलो क्षति भएको भन्ने दाबी गलत हो । प्रयोग गरिएको तस्बिर 'एआई' सिर्जित भएको पुष्टि भएको छ ।
प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।
पछिल्लो अध्यावधिक: फागुन २१, २०८२ १७:२
