काठमाडौँ । खल्ती डिजिटल वालेटका सह-संस्थापक तथा निर्देशक अरविन्द साह राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । साहले ४०,६९७ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वीहरूलाई ठुलो अन्तरले पराजित गरे । दोस्रो स्थानमा रहेका नेपाली काँग्रेसका फरमुल्लाह मंसुरले १०,०५२ मत पाए ।
४१ वर्षीय साह पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक गरेका प्रविधि उद्यमी हुन् । उनी जनकी टेक्नोलोजीका संस्थापक पनि हुन्, जसले स्प्यारो एसएमएस, खल्ती जस्ता डिजिटल सेवा सुरु गरेको थियो ।
निर्वाचनमा उनले डिजिटल सुशासन, रोजगारी सृजना र प्रविधिमार्फत कृषि तथा आर्थिक विकासलाई मुख्य एजेन्डा बनाएका थिए ।
विजयी भएपछि उनले सामाजिक सञ्जालमा लेखेका छन्, “यो विजय कुनै एक व्यक्तिको विजय होइन, यो जनताको आवाज, जनताको भरोसा र परिवर्तनप्रतिको दृढ चाहनाको विजय हो । तपाईंहरू (मतदाता) ले देखाउनुभएको विश्वासले मलाई अझ जिम्मेवार, अझ प्रतिबद्ध भएर काम गर्ने प्रेरणा दिएको छ ।”
पछिल्लो अध्यावधिक: फागुन २३, २०८२ ११:४५
