close

कान का’ट्ने अभिव्यक्तिले तनावमा रेनुका, आफूमाथि बनाएका भिडिओ नहटाए साइबर ब्युरो जाने चेतावनी

टेकपाना टेकपाना

फागुन २५, २०८२ १५:५२

कान का’ट्ने अभिव्यक्तिले तनावमा रेनुका, आफूमाथि बनाएका भिडिओ नहटाए साइबर ब्युरो जाने चेतावनी

काठमाडौँ । चुनावअघि दिएको अभिव्यक्तिका कारण एक महिलालाई तनाव भएको छ । चुनावअघि ‘बालेनले जिते आफ्नो कान काट्छु’ भन्दै दिएको अभिव्यक्तिका कारण नेकपा एमाले समर्थक रेनुका बराल सामाजिक सञ्जालमार्फत भइरहेको ट्रोल र दुर्व्यवहारका कारण अहिले मानसिक तनावमा परेकी हुन् । 

यही फागुन २१ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार तथा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएसँगै बराल सामाजिक सञ्जाल प्रयोगकर्ताको निशानामा परेकी छिन् । निर्वाचनमा बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ४९ हजार ६ सय १४ मतान्तरले पराजित गरे ।  शाहले ६८ हजार तीन सय ४८ मत ल्याउँदा ओलीले १८ हजार ७ सय ३४ मत मात्रै पाएका थिए । 

झापा क्षेत्र नम्बर ५ बाट शाह निर्वाचित भएसँगै प्रयोगकर्ताहरू बरालमाथि खनिएका छन् । उनले आफ्नो रेनुका बराल नामक टिकटक आईडीमा पुनः एक भिडिओ सार्वजनिक गर्दै आफू मानसिक तनावमा परेको बताएकी छिन् । 

चुनावअघि पार्टीको समर्थनमा दिएको अभिव्यक्तिले घरबाट बाहिर निस्कनसमेत मुस्किल भएको उनले बताएकी छिन् । कालीमाटीमा तरकारी किन्न जाँदा पनि करिब दुई जना व्यक्तिले घेरेर ‘बालेनले जित्यो अब कान काट्नु पर्‍यो’ भन्दै दुर्व्यवहार गरेको उनले सुनाएकी छन् । 

आफू उक्त भिडलाई छिचोलेर बल्लतल्ल सार्वजनिक गाडीमा चढेर भाग्नु परेको उनले बताएकी छिन् । उनी भन्छिन्, “कालीमाटीमा तरकारी किन्न जाँदा हजार-दुई हजार मानिसले घेरेर दुर्व्यवहार गर्नुभयो । त्यहाँबाट बल्लतल्ल गाडीमा भागेँ ।”

आफू काम गरेर खाने महिला भएकोले अबदेखि त्यस्तो नगर्न समेत उनले अनुरोध गरेकी छिन् । पुनः त्यस्तो कार्य गरेमा साइबर ब्युरोमा उजुरी गरेर कानुनी प्रक्रिया अघि बढाउने चेतावनी समेत उनले सोही भिडिओमार्फत दिएकी छिन् । 

“मेरो अनुमति बिना मेरो भिडिओ भाइरल गर्नु भएको छ, कसैले के गर्नु भएको छ । अब पनि ती भिडिओ नहटाएमा तपाईँहरू विरुद्ध साइबर ब्युरोमा उजुरी दिन्छु,” उनले भनेकी छिन् ।

चुनावमा नेकपा एमालेले हारे पनि आफू अझै पनि पार्टीको लागि ज्यान दिन तयार रहेको उनले बताइन् । आफूले दिएको उक्त अभिव्यक्तिले कसैलाई पनि नकारात्मक असर नपर्ने उनको धारणा छ । उनी अगाडि थप्छिन्, “मैले मेरै कान काट्छु भनेकी छु । तपाईँको भनेकी छैन । दुनियाँ दिवानाले भन्दा केही गर्न नसक्ने, मलाई अहिले अनुमति बिना भिडिओ फोटो खिचेर राख्ने ?”

पछिल्लो अध्यावधिक: फागुन २५, २०८२ १७:२