फ्याक्टचेक: अमेरिकी राष्ट्रपति ट्रम्पले नेपाललाई ‘एसपीपी’ पारित गर्न चेतावनी दिएको भन्दै एआई भिडिओ भाइरल
चैत ४, २०८२ २१:२३
काठमाडौँ । सामाजिक सञ्जालमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको एउटा भिडिओ भाइरल भइरहेको छ । उक्त भिडिओमा ट्रम्पले नेपालको नयाँ सरकारले ‘स्टेट पार्टनरशिप प्रोग्राम’ (एसपीपी) र ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) पारित गर्नेमा आफू विश्वस्त रहेको बताइरहेको सुनिन्छ । भिडिओमा उनले नेपालले चीनसँग मिलेर अमेरिका विरोधी काम गरेमा त्यसको ‘मूल्य चुकाउनुपर्ने’ भन्दै धम्कीपूर्ण भाषासमेत प्रयोग गरेको सुनिन्छ ।
तर, टेकपाना फ्याक्टचेक डेस्कको अनुसन्धानले उक्त भिडिओ वास्तविक नभएको पुष्टि गरेको छ । यो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी अमेरिकी राष्ट्रपतिको हाउभाउ र आवाज नक्कल गरेर तयार पारिएको नक्कली भिडिओ हो ।
दाबी
१७ मार्च राति ९:२२ मा फेसबुक प्रयोगकर्ता ‘Arjun lowa’ ले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको एक भिडिओ सार्वजनिक गरेका छन् । भिडिओको क्याप्सनमा लेखिएको छ, “यदी नेपालले चिनको निर्देशनमा अमेरिका विरोधी निर्णय गर्छ भने त्यसको मुल्य चुकाउनु पर्नेछ ।”
उक्त भिडिओमा ट्रम्प बोलिरहेका छन् । जहाँ सुन्न सकिन्छ, “I am confident that the newly formed Nepal government will pass the SPP including the MCC and establish maritime relations between the US and Nepal. If Nepal makes anti-US decisions under the direction of China, it will have to pay the price.”
उक्त भाषणलाई नेपालीमा अनुवाद गर्दा यस्तो बोलेको पाइयो, “नयाँ बनेको नेपाल सरकारले एमसीसी सहित एसपीपी पारित गर्नेछ र अमेरिका र नेपाल बीच सामुद्रिक सम्बन्ध स्थापित गर्ने छ भन्नेमा म विश्वस्त छु । यदि नेपालले चीनको निर्देशनमा अमेरिका विरोधी निर्णय गर्छ भने उसले त्यसको मूल्य चुकाउनुपर्नेछ।”
भिडिओलाई यो सामग्री तयार पार्दासम्म चार लाख ६३ हजारभन्दा धेरै पटक हेरिएको छ भने चार हजार ३०० बढी रियाक्सन गरिएको छ । तीन हजार २०० भन्दा धेरै पटक शेयर भइसकेको छ । उक्त भिडिओ हेरेर कतिपय प्रयोगकर्ताहरूले भविष्यमा नेपालमा सङ्कट आउने हो कि भन्दै शङ्का व्यक्त गरेका छन् ।
उक्त भिडिओमा कमेन्ट गर्दै ‘Gyanbahadur Thapa’ नामका फेसबुक प्रयोगकर्ताले लेखेका छन्, “घण्टी जिताउन फण्डिङ गर्ने मालिकले सरकार नबन्दै यस्तो धम्कि दिन थालिसक्यो। घण्टीको पछि लाग्नाले नेपालीहरू अब साँच्चै नै घण्टी भित्र झुण्डिएको पेण्डुलम बन्ने अवस्था आउला जस्तो छ। होसियार रहौं सच्चा देशभक्त नेपालीहरू हो...!”
‘Devendra Kasaju’ ले लेखेका छन्, “अहिले यस्तो धम्की दिने गरिन्छ भने भोलि के नगरला भन्न सकिन्छ..? तसर्थ कान खोलेर सुनन डलरको खेताला हरुलाई हार्दिक अनुरोध गर्दछु ।”
‘Gana Bdr Rai’ ले लेखेका छन्, “अब MCC पास गर्नेहरुले याे जिम्मेवारी लिनु पर्छ 😡😡” । केही प्रयोगले भने उक्त भिडिओ एआई निर्मित भएको भन्दै कमेन्ट गरेका छन् । हेर्नुहोस् ओरिजिनल भिडिओ, रेकर्डेड भिडिओ र स्क्रिनशट ।

अनुसन्धान
१८ मार्च बिहान ४:४८ मा ‘Saroj Bista’ नामका फेसबुक प्रयोगकर्ताले पनि सोही दाबीसहित ट्रम्पको उक्त भिडिओ सार्वजनिक गरेको फेला पर्यो ।
उक्त पोस्टको क्याप्सनमा लेखिएको छ, “यदी नेपालले चिनको निर्देशनमा अमेरिका विरोधी निर्णय गर्छ भने त्यसको मुल्य चुकाउनु पर्नेछ।🇳🇵🇳🇵🇳🇵 नेपालले कुनै पनि हालतमा SPP पास गर्नु पर्छ र MCC कार्यान्वयन गर्नुपर्छ: Donald J. Trump #everyonefollowers #SaveTheNation”
हेर्नुहोस् भिडिओ र स्क्रिनशट ।

उक्त भिडिओमा ‘Yugbudha Television’ को लोगो देख्न सकिन्छ । हामीले गुगलमा ‘Yugbudha Television’ सर्च गर्दा सोही नामको युट्युब च्यानल फेला पर्यो । उक्त च्यानलमा १७ मार्चमा सार्वजनिक भिडिओमा ट्रम्पको सोही पोसाक देख्न सकिन्छ ।
“हर्मोज स्ट्रेटमा अमेरिकाको लज्जास्पद हार, गुहार्दै नाटो, चाइना, जापान र दक्षिण कोरिया” शीर्षकमा ट्रम्पको भिडिओ प्रयोग भएको सामग्री बनाएर सार्वजनिक गरेको फेला परेको हो । तर यो भिडिओमा ट्रम्पको आवाज छैन, भिडिओमा ट्रम्प देखिएपनि पृष्ठभूमिमा समाचार वाचकले हर्मोज स्ट्रेट र अमेरिकाको द्वन्द्वको विषयमा जानकारी दिएका छन् । उक्त भिडिओमा नेपालको बारेमा कुनै कुरा गरिएको छैन ।
त्यसपछि हामीले ट्रम्पले नेपालका बारेमा अन्य कतै केही टिप्पणी गरेका छन् कि भनेर खोज्ने प्रयास गर्यौँ । ‘ट्रम्प नेपाल टिप्पणी’, ‘नयाँ सरकार नेपाल ट्रम्प’, ‘चीन अमेरिका विरोधी काम ट्रम्प’, ‘Trump's comment about nepal’, ‘US president donald trump SPP’, ‘SPP MCC Nepal Trump’ लगायतका किवर्डहरू राखेर गुगल एड्भान्स सर्च गर्यौँ ।
हामीले नेपालका लागि अमेरिकी दूतावासको सामाजिक सञ्जाल र वेबसाइटमा नेपाल र नयाँ बन्दै गरेको सरकारका बारेमा ट्रम्पको कुनै टिप्पणी सार्वजनिक भए/नभएको खोज्यौँ । तर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नेपालमा बन्ने तयारी भइरहेको सरकारका बारेमा टिप्पणी गरेको कुनैपनि सामग्री फेला पार्न सकिएन ।
त्यसपछि हामीले ट्रम्पको भाइरल भाषण पुन: सुन्यौँ । जहाँ ट्रम्पले ‘maritime relations’ अर्थात् सामुद्रिक सम्बन्धका बारेमा कुरा गरेका छन् । नेपाल जस्तो भूपरिवेष्ठित र अमेरिकाबाट निकै टाढा रहेको देशमा अमेरिकाको राष्ट्रपतिले सामुद्रिक सम्बन्धको बारेमा बोल्नु सान्दर्भिक सुनिँदैन । यस्तै ‘newly formed government’ शब्द अर्थात् नवनिर्मित सरकारको बारेमा बोलेका छन्, तर नेपालमा निर्वाचन भइसकेपनि हालसम्म नयाँ सरकार निर्माण भइसकेको छैन ।
यस्ता असान्दर्भिक शब्दहरू भिडिओमा प्रयोग भएको पाइएपछि हामीले उक्त भिडिओ एआई निर्मित भएको आशंकासहित एआई डिटेक्सन टुल हाइभ मोडेरेसनमा राखेर जाँच गर्यौँ । उक्त टुलले भिडिओमा ६९.६ प्रतिशत र ९९.८ अडिओ एआई निर्मित रहेको निष्कर्ष निकाल्यो ।

एआई भिडिओ डिटेक्सन टुल ‘अनप्रेडिक्टेबल एआई’ ले पनि उक्त भिडिओ ७२ प्रतिशत एआई निर्मित रहेको निष्कर्ष निकाल्यो ।

दाबी
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नेपालको नयाँ सरकारलाई एसपीपी र एमसीसी पारित गर्न दबाबका साथै चीनको निर्देशनमा अमेरिका विरोधी निर्णय गरेमा ‘मूल्य चुकाउनुपर्ने’ चेतावनी दिए ।
दाबीकर्ता
फेसबुक प्रयोगकर्ताहरू ‘Arjun lowa’, ‘Saroj Bista’ लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ताहरू ।
तथ्य
भिडिओमा ट्रम्पले नेपालसँग ‘सामुद्रिक सम्बन्ध’ स्थापित गर्ने कुरा गरेको सुनिन्छ । नेपाल एक भूपरिवेष्ठित राष्ट्र भएकाले सामुद्रिक सम्बन्धको कुरा गर्नु आफैँमा असान्दर्भिक र त्रुटिपूर्ण छ । अमेरिकी राजदूतावास, ह्वाइट हाउस वा कुनै पनि प्रतिष्ठित अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा ट्रम्पले नेपालको नयाँ सरकार वा एसपीपीका बारेमा यस्तो टिप्पणी गरेको कुनै रेकर्ड वा समाचार फेला परेन ।
भिडिओमा देखिएको ‘Yugbudha Television’ को वास्तविक सामग्री खोज्दा उक्त च्यानलले हर्मोज स्ट्रेट र अमेरिकाको विषयमा समाचार प्रसारण गरेको भेटियो । जसमा नेपालको कुनै प्रसङ्ग थिएन । सोही दृश्यमा एआई मार्फत नेपाल सम्बन्धी नक्कली आवाज हालिएको देखिएको छ ।
एआई डिटेक्सन टुल ‘हाइभ मोडेरेसन’ ले परीक्षण गर्दा उक्त भिडिओको अडिओ ९९.८ प्रतिशत र भिडिओ ६९.६ प्रतिशत एआई निर्मित रहेको देखाएको छ । अर्को टुल ‘अनप्रेडिक्टेबल एआई’ ले पनि यसलाई ७२ प्रतिशत एआई निर्मित भनेर पुष्टि गरेको छ ।
निष्कर्ष
सामाजिक सञ्जालमा भाइरल भइरहेको डोनल्ड ट्रम्पको यो भिडिओ नक्कली हो । एआईको प्रयोग गरेर ट्रम्पको आवाज र हाउभाउ नक्कल गरी मिथ्या सूचना फैलाइएको तथ्यजाँचबाट पुष्टि हुन्छ ।

प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।
पछिल्लो अध्यावधिक: चैत ४, २०८२ २१:२४
