कर्मचारी छनोट गर्न अब एआईले अन्तर्वार्ता लिने, फ्युजमसिन्स र ट्यालेन्ट कनेक्ट्सबिच साझेदारी
चैत ५, २०८२ १९:२०
एआई सिर्जित तस्बिर
काठमाडौँ । एचआर सम्बन्धी सेवा दिने कम्पनी ‘ट्यालेन्ट कनेक्ट्स’ र एआई कम्पनी ‘फ्युजमसिन्स’ बीच एआईमा आधारित ‘इन्टरभ्यु एजेन्ट’ एकीकृत गर्ने विषयमा साझेदारी भएको छ । बिहीबार फ्युजमसिन्सले तयार पारेको इन्टरभ्यु एजेन्ट ट्यालेन्ट कनेक्ट्सको एटीएस (एप्लिकेन्ट ट्र्याकिङ सिस्टम) मा समायोजन गर्ने समझदारी भएको हो ।
यससँगै अब ट्यालेन्ट कनेक्ट्सको एटीएस सफ्टवेयर प्रयोग गर्ने ३०० भन्दा बढी कम्पनीहरूले अब आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को सहयोगमा दक्ष जनशक्ति छनोट गर्नसक्ने कम्पनीका प्रबन्ध निर्देशक दिवश थापाले बताए ।
यस प्रविधिले विशेषगरी प्राविधिक क्षेत्रको कर्मचारी हायरिङ गर्दा आउने समस्यालाई समाधान गर्ने लक्ष्य राखेको थापाले जानकारी दिए । उनका अनुसार धेरैजसो ह्युमन रिसोर्स (एचआर) म्यानेजरहरू व्यवस्थापन पृष्ठभूमिबाट हुने भएकाले प्राविधिक सम्बन्धी पदका लागि अन्तर्वार्ता लिनुपर्दा कस्ता प्रश्न सोध्ने भन्नेमा अलमल हुने गर्छन् ।
संवादका क्रममा थापाले भने, “अब हाम्रो सिस्टममा एआई एजेन्ट पनि अन्तर्वार्तामा सामेल हुनेछ र जब डिस्क्रिप्सनका आधारमा सोध्नुपर्ने उपयुक्त प्रश्नहरू एचआरलाई सुझाव दिन्छ ।”
यो एआई एजेन्टले अन्तर्वार्ताको समयमा उम्मेदवारले दिएको जवाफ सुन्ने, त्यसको रेकर्ड राख्ने र जवाफ चित्तबुझ्दो नभए वा थप स्पष्टीकरण चाहिएमा फलोअप प्रश्नहरू समेत एचआरलाई सुझाव दिने थापाले जानकारी दिए ।
फ्युजमसिन्सले आफ्नै आन्तरिक प्रयोजनका लागि विकास गरेको यो प्रविधि अब ट्यालेन्ट कनेक्ट्समार्फत व्यावसायिक बजारमा आउन लागेको हो। फ्युजमसिन्सको उपस्थिति अमेरिका, नेपाल, क्यानडा र ल्याटिन अमेरिकामा रहेकाले यो एआई समाधानलाई विश्वव्यापी स्तरमा लैजाने योजना बनाइएको छ ।
हाल यो प्रविधिको विकास र एकीकरणको काम अन्तिम चरणमा पुगेको छ । दिवस थापाका अनुसार आगामी एक महिनाभित्र यो सेवा औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरिएको छ ।
यो साझेदारीले नेपालको ‘हायरिङ इकोसिस्टम’मा नयाँ प्रविधिको प्रयोगको सुरुवातका साथै दक्ष जनशक्ति र कम्पनीहरूबिचको खाडल हटाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।
पछिल्लो अध्यावधिक: चैत ५, २०८२ १९:२९
