close

स्ट्रक्चरल इन्जिनियर बालेन्द्र शाह (बालेन) नेपालको ४० औँ प्रधानमन्त्रीमा नियुक्त

टेकपाना टेकपाना

चैत १३, २०८२ १२:४२

स्ट्रक्चरल इन्जिनियर बालेन्द्र शाह (बालेन) नेपालको ४० औँ प्रधानमन्त्रीमा नियुक्त

काठमाडौँ । स्ट्रक्चरल इन्जिनियर बालेन्द्र शाह (बालेन) नेपालको ४० औँ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम शाहलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।

गत २३ र २४ भदौमा भएको जेन-जी विद्रोहको जगमा बनेको अन्तरिम सरकारले २१ फागुनमा प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति तोकेको थियो । उक्त घोषणासँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरी वरिष्ठ नेता बनेका बालेनले काठमाडौँ महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिए ।  

निर्वाचनमा उनी झापा क्षेत्र नम्बर ५ बाट नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई ४९ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । सोही निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिकतर्फ गरी कूल २७५ मध्ये झन्डै दुई तिहाइ अर्थात् १८२ सिट जित्न सफल भयो । संसद्‌को सबैभन्दा ठुलो दल बनेको रास्वपाले बालेनलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेपछि उनको प्रधानमन्त्री बन्ने बाटो खुल्यो ।

को हुन् बालेन ?
काठमाडौँको भीएस निकेतनबाट विज्ञान विषयमा प्लस टु उत्तीर्ण गरेका शाहले सन् २००९ मा ह्वाइट हाउस इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीमा सिभिल इन्जिनियरिङमा स्नातक तहका लागि भर्ना भए । सन् २०१३ मा २.८८ जीपीएका साथ उत्तीर्ण गरे ।

त्यसपछि उनले स्नातकोत्तर अध्ययनका लागि भारतको ‘विश्वेश्वरैया टेक्नोलोजिकल युनिभर्सिटी (भीटीयू)’ बाट स्ट्रक्चरल इन्जिनियरिङमा एम-टेक अध्ययन गरे । उक्त अध्ययनका क्रममा आफूले १० मा ९.४६ ग्रेड ल्याएको उनले बताएका छन् ।

पेसागत रूपमा उनले सन् २०१५ मा ‘बज्र गुरु कन्स्ट्रक्सन’मा ट्रान्सपोर्टेसन इन्जिनियरको रूपमा काम सुरु गरे । त्यहाँ एक वर्षसम्म बिडिङ, इस्टिमेसन, रेट एनालाइसिस र सडक निर्माण सुपरिवेक्षणको काम गरेपछि उनले ‘एएसएफ नेपाल’मा प्राविधिक सल्लाहकारका रूपमा सात महिना काम गरे । सोल्टी सिटीको ‘प्लाटिनम डेभलपर्स’मा प्रोजेक्ट म्यानेजरको भूमिका सम्हालेका उनले सन् २०१७ मा आफ्नै ‘बालेन कन्सल्टिङ एन्ड कन्स्ट्रक्सन प्रालि’ सञ्चालनमा ल्याए ।

यसैबिच ‘पद्म ग्रुप अफ कम्पनिज’मा डेपुटी जनरल म्यानेजरसमेत रहेका बालेन सन् २०२२ मा काठमाडौँको प्रमुख पदमा निर्वाचित भएपछि उक्त कम्पनी र आफ्नै कम्पनीको प्रबन्ध निर्देशकको भूमिकाबाट बिदा भए । साढे तीन वर्ष महानगरको नेतृत्व गरेपछि सन् २०२६ मा राष्ट्रिय राजनीतिमा प्रवेश गरेका उनी छोटो समयमै मुलुकको ४३ औँ कार्यकारी प्रमुख बन्न सफल भएका हुन् ।

साङ्गीतिक यात्रा र सामाजिक सञ्जालमा दबदबा
इन्जिनियरिङ अध्ययनकै क्रममा बालेनले साङ्गीतिक क्षेत्रमा पनि पाइला अघि बढाएका थिए । चर्चित युट्युब र्‍याप ब्याटल कार्यक्रम ‘रअ-बार्ज’ (Raw Barz) मार्फत उदाएका उनको ‘लिटल ग्रिजल’ सँगको ब्याटल निकै चर्चित बनेको थियो । साङ्गीतिक क्षेत्रमा निरन्तर सक्रिय बालेनको स्पोटिफाईमा मात्रै मासिक ७३ हजारभन्दा बढी स्रोता छन् ।

त्यस्तै उनी सामाजिक सञ्जालका सबैजसो प्लेटफर्ममा उत्तिकै सक्रिय छन् । उनको फेसबुक पेजमा ३९ लाख र व्यक्तिगत अकाउन्टमा ४ लाख ८५ हजारभन्दा बढी फलोअर छन् । इन्स्टाग्राममा १३ लाख, युट्युबमा ११ लाख, एक्समा ४ लाख २३ हजार, टिकटकमा ४ लाख दुई हजार, थ्रेड्समा २ लाख ६ हजार र लिङ्क्डइनमा ९६ हजारभन्दा बढी फलोअर रहेका छन् ।

आफ्ना र्‍याप गीतहरूमार्फत उनले सामाजिक असमानता, राजनीतिक बेथिति, अस्थिरता र सुस्त कर्मचारीतन्त्रको विरोध गर्नुका साथै देशको आर्थिक सङ्कटलाई उजागर गर्दै आएका छन् । यस बाहेक उनले रमाइला र प्रेमिल गीतहरू पनि गाउने गरेका छन् । उनका चर्चित र्‍याप गीतहरूमा ‘बलिदान’, ‘नेपाल हाँसेको’, ‘आम नेपाली बुबा’, ‘स्याभेज’, ‘गोर्खाली टफ’ र ‘मार्फाको मदिरा’ रहेका छन् । 

मजबुत जनसमर्थनका बाबजुद बालेन विभिन्न समयमा विवाद र आलोचनाको केन्द्रमा समेत रहँदै आएका छन् । विशेषगरी रअ-बार्जमा उनले प्रयोग गरेका कतिपय शब्दहरूलाई लिएर उनको आलोचना हुने गरेको छ । सन् २०२२ को स्थानीय निर्वाचनका बेला उनका पुराना भिडिओहरू भाइरल बनाइएका थिए । २०२६ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा पनि ती भिडिओ भाइरल भएका थिए । 

खासगरी अभिनेता राजेश हमाल र अभिनेतृ रेखा थापाको नाम पुरानो र्‍याप ब्याटलमा जोडेका कारण उनको आलोचना भएको थियो । यद्यपि र्‍यापमा प्रयोग हुने शब्द, शैली समाजिक परिवेशको उपज भएको भन्दै उनी तर्किँदै आएका छन् ।

काठमाडौँ महानगरपालिकाको प्रमुखमा नियुक्त भएपछि हालसम्म पनि उनले औपचारिक रूपमा कुनै पनि मुलधारका सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिएका छैनन् । यसरी सञ्चार माध्यमबाट तर्किँदै आएको भन्दै उनको आलोचना हुने गरेको छ ।

उनको कार्यकाल निकै विवादास्पद र ध्रुवीकृत पनि रह्यो । महानगरको मेयर रहेकै क्रममा ‘सिंहदरबार जलाइ दिने’ आक्रोशपूर्ण अभिव्यक्ति दिएपछि उनी थप आलोचित भएका थिए ।

महानगरको कार्यकाल सम्हालेको बेला उनले गैरकानुनी रूपमा बनेका संरचनामा डोजर चलाउने, सुकुम्वासी बस्ती हटाउने र सडक व्यापारी (फुटपाथ पसले) हरूलाई हटाउने अभियान चलाए । जसले गर्दा सहरी गरिबलाई मार परेको भन्दै उनको चर्को आलोचना भएको थियो । काठमाडौँको फोहोर व्यवस्थापनमा दीर्घकालीन समाधान खोज्ने उनको प्रयासमा विभिन्न राजनीतिक दल र बञ्चरेडाँडाका स्थानीयको अवरोधले ठुलो तगारो सिर्जना गरेको थियो । जसका कारण उनी पछि हट्न बाध्य भएका थिए । यस बाहेक आफ्नो कार्यकक्षमा 'ग्रेटर नेपाल' को नक्सा राख्ने र भारतीय चलचित्रहरूमाथि प्रतिबन्ध लगाउने जस्ता कूटनीतिक विवादमा पनि उनी मुछिएका थिए ।

समाचारमा बालेन्द्र शाह (बालेन) नेपालको ४० औँ प्रधानमन्त्रीमा नियुक्त भएको हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । स.

पछिल्लो अध्यावधिक: चैत १३, २०८२ १३:४६