close

चीनले नाकाबन्दी लगाएको भन्दै भ्रामक सामग्री फैलिएपछि स्मृति तिमल्सिनासँग प्रहरीको सोधपुछ

टेकपाना टेकपाना

चैत १७, २०८२ १५:१८

चीनले नाकाबन्दी लगाएको भन्दै भ्रामक सामग्री फैलिएपछि स्मृति तिमल्सिनासँग प्रहरीको सोधपुछ

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध ‘जेन-जी रेड फोर्स नेपाल’ की संयोजक स्मृति तिमल्सिनालाई प्रहरीले भ्रामक भिडिओ फैलाएको विषयमा सोधपुछ गरेको छ । गृहमन्त्री सुधन गुरुङको नियुक्तिपछि चीनले नेपालमाथि नाकाबन्दी लगाएको भन्दै सामाजिक सञ्जालमा आधारहीन दाबीसहितको सामग्री राखेपछि उनलाई सोधपुछका लागि बोलाइएको प्रहरीले स्पष्ट पारेको छ ।

केही सञ्चारमाध्यममा सरकारको विरोध गरेको कारण तिमल्सिनालाई प्रहरीले नियन्त्रणमा लिएको भन्ने समाचार सार्वजनिक भएपछि जिल्ला प्रहरी परिसर भद्रकालीले खण्डन गरेको छ । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले सोधपुछको मुख्य कारण भ्रामक सूचना प्रवाह नै रहेको जानकारी दिए ।

तिमल्सिनाले सामाजिक सञ्जालमा चीनले नाकाबन्दी लगाएको भन्ने गलत र उत्तेजित सूचना फैलाएका कारण मङ्गलबार धारणा बुझ्नमात्र बोलाइएको एसपी भट्टराईले बताए । “स्मृति तिमल्सिनाजीले चीनले नाकाबन्दी लगाएको भन्ने भ्रामक सामग्री राख्नुभएको रहेछ । सोही विषयमा उहाँको धारणा बुझ्न र किन त्यस्तो गर्नुभएको हो भनी सोधपुछ गर्न मात्र बोलाइएको हो । सामान्य सोधपुछपछि घर गइसक्नु भएको छ,” उनले भने ।

प्रहरीले तिमल्सिनासँग कुनै लिखित कागज नगराएको र आगामी दिनमा भिडिओ बनाउनुअघि गृह मन्त्रालयको अनुमति लिनुपर्ने भन्ने सर्त पनि नराखिएको दाबी गरेको छ । “उहाँले अबदेखि त्यस्ता भ्रामक सामग्री नराख्ने बताउनुभएको छ । तर, कतिपय सञ्चारमाध्यममा आएजस्तो कागज गराएको वा भिडिओ बनाउनुअघि सरकारको अनुमति लिनुपर्ने भन्ने कुरामा कुनै सत्यता छैन,” भट्टराईले थपे ।

यसअघि ‘‘गृहमन्त्री गुरुङले चीनको नाका भ्रमण गरेपछि अघोषित नाकाबन्दी भएको’’ भन्दै सामाजिक सञ्जालमा फैलाइएको दाबीलाई टेकपाना फ्याक्टचेक डेस्कले भ्रामक पुष्टि गरिसकेको छ । छिमेकी मुलुकसँगको कूटनीतिक सम्बन्धमा असर पर्ने गरी गलत सूचना सम्प्रेषण नगर्न प्रहरीले आग्रह समेत गरेको छ ।

 

पछिल्लो अध्यावधिक: चैत १७, २०८२ १५:३४