close

जेष्ठ नागरिकमाथि अभद्र व्यवहार गरेको आरोपमा ३० वर्षीय बजगाईँ पक्राउ

टेकपाना टेकपाना

चैत १७, २०८२ २२:५३

जेष्ठ नागरिकमाथि अभद्र व्यवहार गरेको आरोपमा ३० वर्षीय बजगाईँ पक्राउ

काठमाडौँ । ललितपुर महानगरपालिकास्थित लगनखेलमा जेष्ठ नागरिकमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका वडा नं. १० टाखेल बस्ने ३० वर्षीय रामशरण शर्मा बजगाईँ रहेका छन् ।

पाटन मानसिक अस्पताल अगाडिको सडकपेटीमा हिँडिरहेका वृद्धमाथि दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले सक्रियता देखाएको थियो ।

भाइरल भिडिओमा एक समूहको जुलुस निस्किरहँदा जेष्ठ नागरिकले विरोध गरेको देखिन्छ । लगत्तै केही युवा उनीसँग भनाभनमा उत्रिन्छन् । त्यसक्रममा वृद्धमाथि​ हातपात भएको देखिन्छ ।

पक्राउ परेका बजगाईँलाई हाल जिल्ला प्रहरी परिसर ललितपुरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबिच गृहमन्त्री सुधन गुरुङले नागरिकलाई कसैले दुःख दिएको छ कि छैन भनेर सरकारले नजिकबाट नियालिरहेको बताएका छन् । फेसबुकमा उनले लेखेका छन्, “कृपया ध्यान दिनुहोला, कानुनभन्दा माथि कोही पनि छैन ।” साथै मन्त्री गुरुङले पीडित जेष्ठ नागरिकलाई उनकै घर पुगेर भेटेका छन् ।

पछिल्लो अध्यावधिक: चैत १७, २०८२ २३:२२