फ्याक्टचेकः बालेनले २ वर्षअघि पेट्रोलको मूल्यवृद्धिबारे स्टाटस लेखेका थिएनन्, भाइरल स्क्रिनशट नक्कली हो
चैत २०, २०८२ १३:२६
काठमाडौँ । शुक्रबार बिहानदेखि सामाजिक सञ्जालका विभिन्न माध्यममा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को नाम जोडिएको एउटा स्क्रिनशट भाइरल भइरहेको छ । बालेनले २०२४ मा पेट्रोलको मूल्य वृद्धिको विषयमा बोलेको र त्यसको जवाफ प्रधानमन्त्रीले लिनुपर्ने तर्क उक्त पोस्टमा गरिएको छ । त्यसैलाई आधार बनाइ सञ्चारमाध्यम ‘उकेरा डटकम’ले समाचार बनाएको छ ।
टेकपाना फ्याक्टचेक डेस्कले गरेको तथ्यजाँचबाट उक्त दाबी मिथ्या देखिएको छ । बालेनको फेसबुक पेजको नक्कली स्क्रिनशट भाइरल भएको थियो । त्यही स्क्रिनशटका आधारमा समाचार बनेको पुष्टि हुन्छ ।
दाबी
शुक्रबार ३ अप्रिल २०२६, बिहान ११ बजेतिर उकेरा डटकममा ‘बालेनलाई आफ्नै स्टाटस ‘भारी’’ शीर्षकको समाचार प्रकाशित भयो । उक्त समाचारमा लेखिएको छ, “काठमाडौं : कुनै समय सामाजिक सञ्जालमा तत्कालीन सरकारहरूलाई मूल्यवृद्धिको विषयमा चर्को प्रश्न गर्ने वालेन्द्र शाह (बालेन) आफैँ प्रधानमन्त्री बनेपछि आफ्नै पुराना भनाइहरूबाट घेरिन थालेका छन्। प्रधानमन्त्रीको पदभार सम्हालेको एक साता नबित्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि उनले विगतमा सरकारलाई सोधेका प्रश्नहरू अहिले उनैतर्फ सोझिएका छन्। पश्चिम एसियामा देखिएको अशान्तिका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले आपूर्तिमा अवरोध आएको र त्यसैको असर घरेलु बजारमा परेको सरकारको भनाइ छ। तर, कारण जेसुकै भए पनि सर्वसाधारणले प्रयोग गर्ने पेट्रोल, डिजेलजस्ता पदार्थको मूल्य केही हप्ताभित्रै दोब्बर हुनसक्ने अनुमानले बजारमा चिन्ता बढाएको छ। यही परिस्थितिसँगै सामाजिक सञ्जालमा बालेनले कुनै समय लेखेका स्टाटसहरू पुनः भाइरल भएका छन्। तर यसपटक ती स्टाटसहरू उनको प्रशंसाका लागि नभई, उनलाई परीक्षण गर्न र जवाफदेही बनाउन सतहमा आएका छन्। विगतमा उनले लेखेका थिए, ‘भारतबाट तेल महँगियो भन्दैमा बढाउन पाइन्छ? जनतालाई राहत दिनुपर्ने सरकारको कर्तव्य हैन र? यस्तै महँगी भैरहने हो भने सरकारको काम के हो? जनताको सरकार किन चाहियो?’
त्यतिबेला यो स्टाटस केवल एक व्यक्तिको आक्रोश मात्र थिएन, तत्कालीन सरकारमाथि प्रहार गरिएको एक धारिलो राजनीतिक हतियार थियो, जसले उनलाई जनताको आवाज बोल्ने व्यक्तिको छवि बनाउन मद्दत गर्यो।
तर आज अवस्था ठीक उल्टिएको छ। हिजो औँला ठड्याएर प्रश्न गर्ने ठाउँमा रहेका बालेन, आज आफैँ ती प्रश्नहरूको जवाफ दिनुपर्ने ठाउँमा आइपुगेका छन्।
त्यतिबेला उनले लेखेका स्टाटसहरू अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ‘स्क्रिनसट’ गरेर ‘अब जवाफ दिने पालो तपाईंको, प्रधानमन्त्रीज्यू’ भन्ने आशयसहित पुनः पोस्ट गरिरहेका छन्।”
हेर्नुहोस् ओरिजिनल समाचार, फेसबुक पोस्ट, फेसबुक पोस्टको आर्काइभ लिङ्क, समाचारको स्क्रिनरेकर्ड र स्क्रिनशट ।

अपडेट: यो सामग्री तयार पार्दै गर्दा उकेरा डटकमले आफ्नो वेबसाइटबाट समाचार हटाएको छ । उसले लेखेको छ- भुलवस बालेन मेयर हुँदाको नक्कली स्क्रिनसटको आधारमा समाचार प्रकाशित भएकोमा क्षमायाचना सहित सो सामग्री हटाइएको छ। -सं.
अनुसन्धान
बालेनले पेट्रोलको मूल्यवृद्धिको विरोध गरेको दाबीसहितका पोस्ट फेला पार्न टेकपाना फ्याक्टचेक डेस्कले कीवर्ड सर्च गर्यो । त्यस क्रममा ‘US Khabar Online’ नामको फेसबुक पेजले त्यही स्क्रिनशट राख्दै ‘कहाँ लुके प्रधानमन्त्री बालेन ?’ भन्दै प्रश्न सोधेको छ । हेर्नुहोस् आर्काइभ पोस्ट ।
फेसबुक प्रयोगकर्ता ‘Ramesh Lama/रमेश लामा’ ३ अप्रिल बिहान ८:३५ मा सोही पोस्ट सार्वजनिक गरेको फेला पर्यो । उक्त पोस्टको क्याप्सनमा लेखिएको छ, “मेहेर हुँदा यसो भन्नेले अहिले चै तेलको मूल्य २५० पुर्याएको छ।” हेर्नुहोस् पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट ।

एक्समा ‘@bishodip’ नामका प्रयोगकर्ताले त्यही स्क्रिनशट शेयर गरेका छन् । उनले लेखेका छन्, “बाल्दाई यो अनुसार हाम्रो तेलको भाउ बढेको बढेकै बढेको बढेकै बढेको बढेकै बढेको बढेकै बढेको बढेकै छ, के सरकारले बढाउन पाउने हो चमेली ?
@PM_nepal_ @ShahBalen।” हेर्नुहोस् आर्काइभ लिङ्क ।
एमाले नेता एवं पूर्व सांसद सूर्य थापाले सोही स्क्रिनशट पोस्ट गर्दै लेखेका छन्, “इरान-अमेरिका तनावलाई बहाना बनाएर तेलको मूल्य आकाश छुने गरी बढाउन पाइन्छ? कि पहिले पातलो साह हुँदा पाइन्नथ्यो, अहिले कृत्ये गरी शाह थरको प्रतिलिपि नागरिकता लिएपछि पाइन्छ?” हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

यो पोस्ट बालेनको आधिकारिक फेसबुक पेजबाट १५ नोभेम्बर २०२४ मा पोस्ट भएको उक्त स्क्रिनशटमा देखिन्छ । त्यसमा एक लाख ४२ हजार बढी रियाक्सन, १२ हजार १०० बढी कमेन्ट र २७०० ओटा शेयर भएको देखिन्छ । यसमा बालेनको नाम, प्रोफाइल पिक्चर, भेरिफाइड मार्क र रियाक्सम बटन तथा अङ्क केही ब्लर देखिन्छन् भने टेक्स्ट स्पष्ट देखिन्छ ।
हामीले बालेनको फेसबुक पेजमा यो समयमा अपलोड भएको क्याप्सन खोज्यौं । तर, त्यही मितिमा त्यही क्याप्सन रहेको अर्को पोस्ट फेला पर्यो । उक्त पोस्टमा बालेनले काठमाडौँको फोहोरका विषयबारे लेखेका थिए । हेर्नुहोस् ओरिजिनल पोस्ट र लिङ्क ।

भाइरल पोस्ट र बालेनको सोही मितिमा सार्वजनिक पोस्टलाई तुलना गर्दा यी दुई पोस्टमा समान रियाक्सन, कमेन्ट र शेयर रहेको देख्न सकिन्छ । दुबै पोस्टमा एक लाख ४२ हजार रियाक्सन, १२ हजार १०० बढी कमेन्ट र २७ सय बढी शेयर भएको हो ।

हामीले बालेनले राखेको भनिएको पोस्टको टेक्स्ट कपी गरेर व्यक्तिगत अकाउन्टबाट पोस्ट गरेर लियौँ । यसमा प्रयोग भएको फन्टबाट यो स्क्रिनशट एन्ड्रोइडबाट लिइएको देखिन्छ । हामीले डेमो पोस्ट एन्ड्रोइड फोनबाट स्क्रिनशट लियौं । हेर्नुहोस् नक्कली पोस्ट र डेमो पोस्टको अन्तर ।

यसमा नक्कली स्क्रिनशटमा फन्ट ठुलो देखिन्छ । त्यसबाहेक दुई लाइनबिचको स्पेस पनि बढी छ । फेसबुक पेज वा प्रोफाइलको पोस्टमा फन्टको साइट बढाउन वा घटाउन मिल्दैन । यसबाट बालेनले राखेको भनिएको पोस्ट एडिटेड रहेको पुष्टि हुन्छ ।
हामीले गुगल एड्भान्स सर्च गर्ने क्रममा १५ नोभेम्बर २०२४ मा प्रकाशित समाचार खोज्यौं । त्यहाँ कतै पनि बालेनले सरकारले मूल्यवृद्धि भएको विषयमा आफ्नो धारणा राखेको समाचार फेला परेन । बरु न्युज अफ नेपालले राखेको ‘बालेन भन्छन्- फोहोरमा राजनीति गर्ने र गराउने दिन सकियो’ शीर्षकमा समाचार राखेको फेला पर्यो । हेर्नुहोस् समाचार र स्क्रिनशट ।

यी विभिन्न तथ्यबाट के पुष्टि हुन्छ भने बालेलले तेलको मूल्यवृद्धिको विषयमा सरकारलाई दोषारोपण गरी पोस्ट राखेका थिएनन् । काठमाडौँ महानगरपालिकामा फोहोर व्यवस्थापनको विषयबारे राखेको पोस्टलाई तोडमोड गरी बालेनले विगतमा तेलको मूल्य भारतमा बढ्यो भन्दैमा नेपालमा बढाउन नहुने तर्क गरेका थिए भनी भ्रम फैलाएको पुष्टि हुन्छ ।
दाबी
बालेन्द्र शाह (बालेन) ले विगतमा (१५ नोभेम्बर २०२४ मा) आफ्नो फेसबुक पेजमा पेट्रोलको मूल्यवृद्धिको विरोध गर्दै तत्कालीन सरकारलाई प्रश्न गरेको ("भारतबाट तेल महँगियो भन्दैमा बढाउन पाइन्छ? जनतालाई राहत दिनुपर्ने सरकारको कर्तव्य हैन र?...") र सोही स्टाटसको स्क्रिनशट अहिले उनीमाथि नै प्रश्न गर्न भाइरल भइरहेको दाबी ।
दाबीकर्ता
सञ्चारमाध्यम 'उकेरा डटकम', एमाले नेता सूर्य थापा (फेसबुक), फेसबुक पेज 'US Khabar Online', फेसबुक प्रयोगकर्ता 'Ramesh Lama' र एक्स प्रयोगकर्ता '@bishodip' लगायत अन्य सामाजिक सञ्जाल प्रयोगकर्ता ।
तथ्य
वास्तविक पोस्ट फरक भएको: भाइरल स्क्रिनशटमा देखिएको मिति (१५ नोभेम्बर २०२४) मा बालेनले पेट्रोलको मूल्यवृद्धिबारे नभई काठमाडौँको फोहोर व्यवस्थापन ("फोहोरमा राजनीति गर्ने र गराउने दिन सकियो") को विषयमा पोस्ट गरेका थिए ।
रियाक्सन हुबहु मिलेको: नक्कली भनिएको स्क्रिनशट र फोहोर व्यवस्थापनसम्बन्धी बालेनको सक्कली पोस्ट दुवैमा रियाक्सन (१ लाख ४२ हजार), कमेन्ट (१२ हजार १००) र सेयर (२७ सय) को सङ्ख्या एउटै छ ।
एडिट गरिएको प्रमाण: भाइरल स्क्रिनशटमा प्रयोग भएको फन्टको आकार र लाइनहरू बीचको स्पेस फेसबुकको स्ट्यान्डर्ड फर्म्याटभन्दा फरक छ, जसले उक्त तस्बिर एडिट गरिएको पुष्टि हुन्छ ।
समाचार नभेटिएको: सो मितिमा बालेनले पेट्रोलको मूल्यबारे बोलेको भनी कुनै पनि मूलधारका सञ्चारमाध्यममा समाचार प्रकाशित भएको छैन ।
निष्कर्ष
बालेन्द्र शाह (बालेन) ले पेट्रोलको मूल्यवृद्धिको विषयमा सरकारलाई प्रश्न गर्दै फेसबुकमा पोस्ट गरेको भन्ने दाबी पूर्ण रूपमा मिथ्या हो । उनले सन् २०२४ मा काठमाडौँको फोहोर व्यवस्थापनका बारेमा राखेको वास्तविक पोस्टलाई डिजिटल माध्यमबाट तोडमोड गरी नक्कली स्क्रिनशट बनाइएको देखिन्छ । तसर्थ, तत्कालीन मेयरका रूपमा बालेनले त्यस्तो कुनै अभिव्यक्ति नदिएको तथ्यजाँचबाट पुष्टि हुन्छ ।

प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।
पछिल्लो अध्यावधिक: चैत २०, २०८२ १४:३०
