फ्याक्टचेकपछि रतन कार्कीले सुटुक्क हटाए अमिशाबारेको भ्रामक भिडिओ, उजुरी दिने आमाको तयारी
चैत २१, २०८२ ८:२४
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शनमा उत्रिएपछि चर्चामा आएकी अमिशा पराजुलीबारे भ्रामक भिडिओ फैलाउने युट्युबर रतन कार्कीविरुद्ध साइबर ब्युरोमा उजुरी दिने तयारी गरिएको छ । टेकपानाले गरेको फ्याक्टचेकपछि कार्कीले उक्त भिडिओ सुटुक्क हटाए पनि पीडित परिवारले कानुनी उपचार खोज्ने भएको हो ।
युट्युबर कार्कीले पाँ लाखभन्दा बढी फलोअर भएको आफ्नो फेसबुक पेजबाट शुक्रबार एउटा भिडिओ सार्वजनिक गरेका थिए । ५० सेकेन्ड लामो उक्त भिडिओमा अमिशाका बुबाले प्रदर्शनमा सहभागी भएकै कारण छोरीलाई गाली गरेको, कोठाभाडा र अध्ययन खर्च नदिने बताएको तथा प्रहरीले कुटेर हात भाँच्नु स्वाभाविक भएको दाबी गरिएको थियो ।
तर, टेकपानाले गरेको तथ्य जाँचमा उक्त भिडिओमा बुबा भनिएका व्यक्ति अमिशासँग सम्बन्धित नै नभएको र भिडिओमा गरिएको दाबी पूर्णतः भ्रामक रहेको पुष्टि भयो । तथ्य बाहिरिएपछि युट्युबर कार्कीले लाखौँ भ्युज र २० हजारभन्दा बढी रियाक्सन पाइसकेको उक्त भिडिओ फेसबुकबाट हटाएका छन् ।
आफ्नो राजनीतिक आस्थाका कारण प्रदर्शनमा गएकै भरमा अमिशा साइबर बुलिङको सिकार भएको र उनको निरन्तर चरित्रहत्या भइरहेको परिवारको गुनासो छ । अमिशाकी आमा बिनिता पराजुलीले भ्रम फैलाएर छोरीको चरित्रहत्या गर्ने युट्युबर कार्कीसहित यसमा संलग्न अन्यविरुद्ध साइबर ब्युरोमा किटानी जाहेरी दिने बताएकी छन् ।
“लोकतन्त्रमा आफ्नो धारणा राखेकै र कसैलाई समर्थन गरेकै कारण मेरी छोरीमाथि पटक–पटक साइबर बुलिङ भएको छ,” उनले टेकपानासँग भनिन्, “रतन कार्कीले पनि भ्रम फैलाएर चरित्रहत्या गरेका छन्, हामी यसका विरुद्ध किटानी जाहेरी नै दिनेछौँ ।”
यसअघि पनि अमिशाले सामाजिक सञ्जालका विभिन्न माध्यमबाट आफ्नो चरित्रहत्या गर्ने व्यक्तिहरूविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिइसकेकी छिन् ।
पछिल्लो अध्यावधिक: चैत २१, २०८२ ८:४३
