‘बले’ पक्राउको घटना बलात्कारसँग जोडिएको छैन, अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको छ- प्रहरी
चैत २३, २०८२ १३:३
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले कलाकार सागर लम्साल ‘बले’ लाई ‘अभद्र व्यवहार गर्न नहुने’ कसुरमा पक्राउ गरी अनुसन्धान भइरहेको स्पष्ट पारेको छ । सामाजिक सञ्जालमा लम्सालमाथि बलात्कारको आरोप लागेको र त्यसैको अनुसन्धानका लागि पक्राउ परेको भन्ने सूचना तथा समाचार आएपछि प्रहरीले यसको खण्डन गरेको हो ।
सोमबार एक विज्ञप्ति जारी गर्दै परिसरले लम्साललाई जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट म्याद थप गरी हिरासतमा राखिएको जनाएको छ । “विभिन्न व्यक्ति तथा समाचार एजेन्सीका नाममा सञ्चालित सामाजिक सञ्जालका अकाउन्टबाट भ्रामक र अप्रमाणित सूचना सम्प्रेषण भइरहेकोप्रति ध्यानाकृष्ट भएको छ । अभद्र व्यवहारको कसुरमा अनुसन्धान भइरहेको विषयमा भ्रम नफैलाउन अनुरोध गरिन्छ,” विज्ञप्तिमा भनिएको छ ।

यस विषयमा थप प्रस्ट पार्दै जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले लम्सालमाथि बलात्कारको कुनै उजुरी नपरेको जानकारी दिए । उनले सामाजिक सञ्जालमा आएका हल्ला निराधार रहेको बताए ।
प्रवक्ता भट्टराईले भने, “हामीकहाँ सागर लम्सालविरुद्ध अभद्र व्यवहार गर्न नहुने सम्बन्धी कसुरमा जाहेरी परेको छ र सोही आधारमा उहाँलाई पक्राउ गरी अनुसन्धान भइरहेको हो । फेसबुकमा बलात्कारको कुरा जोडेर जे-जस्ता सामग्री आएका छन्, त्यो विषयमा हामीकहाँ कुनै उजुरी छैन । यो विशुद्ध अभद्र व्यवहारसँग सम्बन्धित मुद्दा हो ।”
प्रहरीले घटनाको प्रकृतिबारे विस्तृत विवरण नखुलाए पनि प्राप्त जाहेरीका आधारमा कानुनी प्रक्रिया अगाडि बढाइएको जनाएको छ । अनुसन्धानकै क्रममा रहेका विषयमा विभिन्न धारणा सार्वजनिक नगर्न र आधिकारिक सूचनालाई मात्र विश्वास गर्न प्रहरीले आग्रह गरेको छ ।
पछिल्लो अध्यावधिक: चैत २३, २०८२ १३:२९
