close

अब मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः ब्यालेन्स नकाटिने, ९० प्रतिशत खपत हुँदा अनिवार्य सूचना दिनुपर्ने

टेकपाना टेकपाना

चैत २३, २०८२ १८:५३

अब मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः ब्यालेन्स नकाटिने, ९० प्रतिशत खपत हुँदा अनिवार्य सूचना दिनुपर्ने

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मोबाइल डेटा सेवामा सुधार गर्दै ग्राहकको अनुमति बिना ब्यालेन्स नकाटिने (पे-एज-यू-गो निष्क्रिय गर्ने) सहितका १० बुँदे प्रमुख सुधारात्मक कार्यक्रम स्वीकृत गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले नतिजामा आधारित शासकीय प्रबन्ध कार्यान्वयनका लागि मोबाइल डेटा, नागरिक एप र राहदानी वितरणलगायतका क्षेत्रमा सुधारको योजना सार्वजनिक गरेको हो ।

स्वीकृत कार्ययोजना अनुसार अब मोबाइल डेटा प्रयोगकर्ताको प्याकेज सकिनुअघि ९० प्रतिशत डेटा खपत भएपछि अनिवार्य रूपमा सूचना (अर्लट) पठाउनुपर्ने व्यवस्था गरिनेछ । यसले ग्राहकलाई आफ्नो डेटा सकिन लागेको जानकारी दिनेछ ।

डेटा प्याकेज सकिएपछि महँगो दरमा स्वतः ब्यालेन्स काटिने ‘पे-एज-यू-गो’ प्रणालीलाई ग्राहकले चाहेको खण्डमा निष्क्रिय (डिसेबल) गर्न सक्ने विकल्प दिइनेछ । नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा मोबाइल डेटा सेवालाई ‘सब्सक्रिप्सन मोडल’ मा सञ्चालन गर्ने प्रणाली समेत लागु गरिने मन्त्रालयले जनाएको छ ।

“नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा मोबाइल डेटा सेवामा सुधार गर्दै ९० प्रतिशत डेटा प्रयोगपछि ग्राहकलाई सूचना पठाइने, ग्राहकलाई पे-एज-यू-गो (PAYG) निष्क्रिय गर्ने विकल्प दिइने र मोवाइल डेटा सेवा Subscription Model मा सञ्चालन गर्न सकिने प्रणाली लागू गरिनेछ,” विज्ञप्तिमा भनिएको छ । 

मन्त्रिपरिषद्को गत १३ चैतको निर्णय बमोजिम प्रत्येक मन्त्रालयले आफ्नो कार्यक्षेत्रभित्र सुधारका काम गर्ने निर्देशन दिएअनुसार सञ्चार मन्त्रालयले यी प्राथमिकताका क्षेत्रहरू तोकेको हो ।

पछिल्लो अध्यावधिक: चैत २३, २०८२ १९:७