फेसबुक मनिटाइज गर्न ‘काण्डको लिङ्क कमेन्टमा’ भन्दै युवतीको बेइज्जत गर्ने अस्कलका विद्यार्थी अदालतबाट दोषी ठहर
चैत २४, २०८२ १५:३१
काठमाडौँ । गत माघतिरको कुरा हो, राजधानीमा बस्ने एक युवती (परिवर्तित नाम ‘साइबर ब्युरो ५६’) ले सामाजिक सञ्जाल चलाउँदै गर्दा एकाएक एउटा अपरिचित अकाउन्टमा आफ्नै फोटो देखिन् । तर, त्यो फोटो कुनै सद्भावका लागि थिएन ।
हैरान पारिदिने कुरा त के थियो भने उनको फोटोको क्याप्सनमा लेखिएको थियो, “S….. G…..को काण्ड-४ आयो, लिङ्क कमेन्टमा छ ।”
यहाँ ‘काण्ड’ शब्दको अर्थ कुनै व्यक्तिको यौनजन्य भिडिओ लिक भएको भन्ने बुझिन्थ्यो, जसले उनलाई छाँगाबाट खसेझैँ बनायो ।
कहिल्यै यस्ता अवाञ्छित गतिविधिमा संलग्न नभएकी ती युवतीले आफ्नो चरित्रमाथि प्रहार भएको महसुस गरिन् र ती अकाउन्टको विवरण तथा स्क्रिनशटसहित साइबर ब्युरोमा निवेदन दिइन् ।
उनले आफ्नो निवेदनमा भनेकी थिइन्, “...kanda-4 aayo link comment ma xa. भन्ने लगायतका शब्द प्रयोग गरी स्टाटस लेखी पोस्ट गरी मेरो अपमान र बेइज्जत गरी मेरो चरित्रहत्या गर्ने लगायतको कार्य गरेको हुँदा उल्लेखित फेसबुक अकाउन्टको प्रयोगकर्ता पत्ता लगाई कारबाही गरी पाउँ ।”
साइबर ब्युरोले पीडित युवतीले उपलब्ध गराएका ती अकाउन्टको प्राविधिक विश्लेषण थाल्यो । अनुसन्धानका क्रममा ती अकाउन्टमा प्रायः युवतीको फोटो राख्ने र ‘Holi kanda video S… G…… ko aayo hai link comment ma xa.’, ‘S… G…… ko ghaati samaudaii garreko Naya video link comment ma xa.’ जस्ता क्याप्सनहरू लेख्ने गरिएको फेला पर्यो । ती पोस्टको कमेन्टमा एउटा अश्लील भिडिओ राख्ने प्लेटफर्म वा टेलिग्राम च्यानलको लिङ्क हुन्थ्यो । प्रहरीले ‘मेटा’ बाट अकाउन्टको विवरण माग्यो ।
मेटाले २ फेब्रुअरीमा ती फोटो पोस्ट गर्ने अकाउन्टको आईपी एड्रेड उपलब्ध गरायो । प्रहरीले आईपी एड्रेसबाट इन्टरनेट सेवा प्रदायक पहिचान गर्यो । र, त्यसबाट उक्त इन्टरनेट चलाउने प्रयोगकर्ता पहिचान गर्न सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीलाई आग्रह गर्यो । र, त्यसैका आधारमा उक्त अकाउन्ट चलाउने प्रयोगकर्ताको नाम, उसले प्रयोग गर्ने नम्बर पत्ता लगायो ।
यही प्राविधिक खोजीबाट उक्त कार्यमा संलग्न व्यक्ति कैलाली घर भई पछिल्लो समय काठमाडौँको नयाँबजार बस्दै आएका २३ वर्षीय तपेन्द्र विष्ट रहेको खुल्यो । प्रहरीले उनलाई २ चैत २०८२ मा नियन्त्रणमा लिएपछि पीडित युवतीले विष्टविरुद्ध किटानी जाहेरी दिइन् ।
अनुसन्धानका क्रममा विष्ट विगत चार वर्षदेखि अमृत साइन्स कलेज (अस्कल) मा अध्ययनरत विद्यार्थी भएको खुल्यो । उनले पाइरेटेड फिल्म हेर्न र शैक्षिक नोट शेयर गर्न टेलिग्राम चलाउने गरेका थिए । त्यही क्रममा उनले ‘काण्ड ग्रुप’ फेला पारे, जहाँ विभिन्न अश्लील र यौनजन्य सामग्रीहरू थिए । उनले ती फोटो र भिडिओ डाउनलोड गरी पैसा कमाउने माध्यम बनाउन थाले ।
अभियुक्त तपेन्द्र विष्टले प्रहरीलाई दिएको बयानमा आफ्नो अपराध स्वीकार गर्दै भनेका छन्, “फेसबुकमा अश्लील सामग्री राख्दा धेरै भ्युज आउने, चाँडै मनिटाइज हुने र आर्थिक फाइदा लिन सकिने भएपछि मैले फेक आईडी बनाएर तिनै युवतीको फोटो राखेँ । त्यसपछि मैले तिनै फोटो राख्दै काण्ड हेर्न कमेन्टमा रहेको लिङ्क क्लिक गर्नु भनी पोस्ट राखेको हुँ ।”
उनले ती भिडिओ नेपाली हुन् वा विदेशी भन्ने कुरा आफूलाई थाहा नभएको, केवल भ्युज बढाउनका लागि ‘काण्ड’ को नाम दिएर प्रचार गरेको स्वीकारेका छन् । अनुसन्धानकै क्रममा उनले विदेशी नाम राखेर नेपाली युवतीको नाम ‘काण्ड भिडिओ’सँग जोडेर दुई ओटा फेसबुक पेज सञ्चालन गरेको समेत फेला पर्यो ।
उनले ‘काण्डहब डटमी’ नामको वेबसाइटमा भिडिओ अपलोड गर्ने गरेको अनुसन्धानबाट खुलेको अभियोगपत्रमा उल्लेख छ । यद्यपि यो वेबसाइट हाल डाउन भएकाले कसले सञ्चालन गरेको हो भन्ने खुलेको छैन ।
यस घटनालाई लिएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले गत २२ गते तपेन्द्र विष्टविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो । अभियोगपत्रमा प्रतिवादी विष्टलाई पाँच वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजायका लागि माग गरिएको छ ।
साथै, उनको साथबाट बरामद भएको मोबाइल र सिमकार्ड जफत गर्न तथा पीडित युवतीलाई पुगेको मानसिक चोटबापत विष्टबाटै मनासिव क्षतिपूर्ति भराउन समेत मागदाबी गरिएको छ ।
सोमबारको पूरक पेशीमा न्यायाधीश जगतबहादुर पौडेलको इजालसले प्रतिवादी तपेन्द्र विष्टलाई ‘कसुर ठहर सजाय निर्धारणको लागि पेश गर्न’ आदेश दिएको छ भने बुधबार (भोलि)लाई पूरक पेशी तोकिएको छ ।
*शीर्षक परिमार्जन गरिएको छ । स.
पछिल्लो अध्यावधिक: चैत २४, २०८२ १८:५८
