कुनै बेला खुट्टामा चप्पल लगाउन संघर्ष गर्ने चेपाङ समुदायका बालबालिकाले यसरी बनाए स्याटलाइट
बैशाख २, २०८३ ८:३९
काठमाडौँ । नेपाली अन्तरिक्ष इतिहासमा चार महिनाअघि एउटा कोसेढुङ्गो स्थापित भयो । चिनियाँ रकेटमार्फत नेपालका सीमान्तकृत चेपाङ समुदायका बालबालिकाले तयार पारेको स्याटलाइट सफलतापूर्वक प्रक्षेपण गरियो । चितवन र मकवानपुरका ९ जना चेपाङ विद्यार्थीले निर्माण गरेको ‘स्लिपर्स टू स्याटलाइट’ को यो सफलतामा तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीसहितले बधाई दिएका थिए ।
‘स्लिपर्स टू स्याटलाइट’ को अर्थ हो- चप्पलदेखि स्याटलाइटसम्म । चेपाङ समुदायका धेरै मानिस अझै पनि अत्यन्त गरिबीमा छन् । उनीहरूका लागि एउटा जोडी चप्पल (स्लिपर्स) किन्नु पनि ठुलो कुरा थियो । तर यही समुदायका विद्यार्थीहरूले अहिले अन्तरिक्षमा स्याटलाइट पठाएका छन् ।
अन्तरिक्ष प्रतिष्ठान नेपालको परियोजना अन्तर्गत निर्माण गरिएको यो स्याटलाइट १ किलो २० ग्राम तौलको छ । आयताकार (ट्युब) ढाँचामा बनाइएको यस स्याटलाइटमा ५ मेगापिक्सेलका दुईवटा क्यामेरा जडान गरिएका छन् । जसले नेपालको जंगल, वनस्पति र पानीका स्रोतहरूको रियल-टाइम निगरानी गर्नसक्ने बताइएको छ । पृथ्वीबाट ५५० किलोमिटर माथिको कक्षमा रहेको यो स्याटलाइटले अन्तरिक्षबाट केही सिग्नलहरू समेत पठाइसकेको छ ।
परियोजना सफलतापूर्वक सम्पन्न गरेको भन्दै आइतबार ‘स्पेसकन २०२६’ को अवसरमा यसमा आबद्ध विद्यार्थीहरूलाई सम्मान गरिएको छ । विज्ञान र प्रविधिको क्षेत्रमा यसलाई ठुलो उपलब्धिका रूपमा लिइए पनि यसमा संलग्न बालबालिकाहरू भने यसलाई एउटा सामान्य सिकाइ प्रक्रियाका रूपमा लिन्छन् ।

परियोजनामा संलग्न विद्यार्थी सुहान प्रजा भन्छन्, “सुरुमा त आफूले खासै ठुलो काम गरे जस्तो लागेको थिएन । तर अहिले बाटोमा हिँड्दा वा कार्यक्रममा जाँदा मानिसहरूले 'तिमीहरूले नै स्याटलाइट बनाएको होइन ?' भन्दै चासो राख्दा र प्रतिक्रिया दिँदा थप काम गर्ने प्रेरणा मिलेको छ ।”
कम्प्युटर अन-अफ गर्न सिक्नेदेखि स्याटलाइट प्रक्षेपणसम्म
‘स्लिपर्स टू स्याटलाइट’ का प्रोजेक्ट म्यानेजर ऋषभ अधिकारीका अनुसार यो यात्रा दुई वर्षअघि सुरु भएको थियो । सन् २०२४ को सुरुवात (२०८० पुस) तिर सीमान्तकृत बालबालिकाका लागि आयोजना गरिएको ‘बुटक्याम्प’ बाट यो प्रक्रिया अघि बढेको हो ।
चितवन र मकवानपुरका १२० जना चेपाङ बालबालिका सहभागी बुटक्याम्पबाट सुरुमा ११ जना छानिएका थिए । पछि विविध कारणले दुई जना बाहिरिएपछि नवोदय माध्यमिक विद्यालयकोकक्षा ७ मा पढ्ने पाँच जना र कक्षा ९ मा पढ्ने एक जना तथा अन्तोदय माध्यमिक विद्यालयको कक्षा ६ मा पढ्ने तीन जना गरी ९ जनाको टोलीले यो काम पूरा गरेको हो ।

यस टोलीमा चितवनको राप्ती नगरपालिका-१२ की शीतल प्रजा र बिनामाया प्रजा, मकवानपुरको राक्सिराङ गाउँपालिका-८ का सुहान प्रजा र रणसिंह प्रजा, गोरखाकी एलिसा चेपाङ र चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ का अमृत चेपाङ छन् । त्यस्तै, सञ्जिना चेपाङ, सुमिना तितुङ र शिव कुमार चेपाङ पनि टोलीका सदस्य हुन् । स्याटलाइट बनाउन सुरु गर्दा कक्षा ७ मा रहेका उनीहरू अहिले कक्षा १० र ११ मा अध्ययनरत छन् ।
जुनियर टोलीकी सदस्य शीतल प्रजा सम्झिन्छिन्, "हामीलाई त सुरुमा कम्प्युटर कसरी अन र अफ गर्ने भन्ने पनि थाहा थिएन । सर-म्यामहरूले सुरुदेखि नै सिकाउनुभयो ।”

प्रोजेक्ट म्यानेजर अधिकारीका अनुसार सुरुका १५ दिन उनीहरूलाई माउस चलाउन, टाइपिङ गर्न र वेबक्यामबाट फोटो खिच्न सिकाएर कम्प्युटरसँग अभ्यस्त बनाइएको थियो । त्यसपछि मात्र उनीहरूलाई लजिक, फ्लोचार्ट र कोडिङको तालिम दिइयो ।
पढाइ र प्रविधि सँगसँगै
आवासीय विद्यालयमा पढ्ने यी विद्यार्थीहरूले विद्यालयको पढाइलाई असर नपर्ने गरी काम गरेका थिए । बिहानदेखि अपराह्न ४ बजेसम्म नियमित कक्षा लिएपछि उनीहरू ल्याबमा जान्थे । अमृत चेपाङले आफूहरू सामान्यतया दैनिक एक घण्टा र परीक्षणका बेला अलि बढी समय ल्याबमा बिताउने गरेको सुनाए ।
“प्राय जसो दिनको एक घण्टा ल्याबमा बिताउँथ्यौँ । बाँकी समय चाहिँ गृहकार्य लगायतका काममा नै बित्यो । तर, परीक्षणको तयारीको समयमा भने धेरै समय ल्याबमा नै बिताइरहेका हुन्थ्यौँ,” उनले भने । हरेक त्रैमासिक परीक्षा सक्काएपछि मात्र घर जाने गरेका उनीहरू विद्यालय, होस्टल र ल्याबमा नै समय बिताउँथे ।
स्याटलाइट प्रक्षेपणअघि भारतको बैङ्गलोर र चीनको बेइजिङ पुगेर विभिन्न प्राविधिक परीक्षण (क्वालिफिकेसन र एक्सेप्टेन्स टेस्ट) गरिएका थिए । १० डिसेम्बर २०२५ मा चिनियाँ रकेट ‘लिजियान-१ वाई११’ मार्फत यो स्याटलाइट अन्तरिक्षमा पठाइएको हो । उक्त रकेटमा नेपाली स्याटलाइटसहित चीन, यूएई र इजिप्टका अन्य ८ स्याटलाइटहरू प्रक्षेपण भएका थिए ।

विश्वभर विश्वविद्यालयका विद्यार्थीले बनाएका ७० प्रतिशत स्याटलाइट अन्तरिक्षमा पुगेपछि चल्दैनन् । तर, नेपालका यी निम्न माध्यमिक तहका विद्यार्थीले बनाएको स्याटलाइटले भने सिग्नल पठाइरहेको छ । यद्यपि, प्राविधिक कारणले काठमाडौँको ग्राउन्ड स्टेसनले सिग्नल रिसिभ गर्न नसके पनि जापान र थाइल्याण्डका स्टेसनहरूले यसको सिग्नल प्राप्त गरिरहेका छन् ।
सफ्टवेयर कम्प्याटिबिलिटी र ग्राउन्ड स्टेशनको समस्याका कारण दुईतर्फी सञ्चार स्थापित हुन नसकेको बताउँदै उनले यसको समस्या समाधानका लागि काम गरिरहेको बताए । यो स्याटलाइट प्रक्षेपणका लागि अधिकारीसहित सजन दुवाल, अञ्जली धामी, कृति दाहाल, प्रेमबहादुर राणा र सङ्गम थापाले विद्यार्थीहरूलाई मेन्टरशिप प्रदान गरेका थिए ।

अवसरले बदलिएको सोच
नवोदय माध्यमिक विद्यालयकी प्रधानाध्यापक सिस्टर लिलियान भन्छिन्, “बालबालिका सबै बराबर हुन्, फरक केवल अवसरको हो । अवसर पाएमा सीमान्तकृत समुदायका बालबालिकाले पनि ठुला काम गर्न सक्छन् भन्ने यो एउटा बलियो उदाहरण हो ।” स्याटलाइट बनाउने क्रममा विद्यालयले पनि पूर्ण रूपमा सहयोग पुर्याएको उनले सुनाइन् ।
स्याटलाइट निर्माणपछि यी बालबालिकाको आत्मविश्वास मात्र बढेको छैन, उनीहरूको समाजले हेर्ने दृष्टिकोण पनि बदलिएको छ । अहिले यी विद्यार्थीहरू अन्तरिक्ष प्रतिष्ठानकै सहयोगमा कारखाना र सडकमा प्रयोग गर्न सकिने रोबोट बनाउने प्रोजेक्टमा काम गरिरहेका छन् ।
निम्न मावि स्तरमा अध्ययन गर्ने बालबालिकालाई विद्यालयको पढाइको भार माथिल्लो कक्षाको तुलनामा कम हुने भएकाले परियोजनाका लागि रोजिएको थियो । उनीहरूले नयाँ विषयको तालिममा पर्याप्त समय दिन र ‘कोप’ गर्न सक्ने भएकाले रोजिएको प्रोजेक्ट म्यानेजर अधिकारीले बताए ।
उनले भने, “कक्षा ९/१० मा पुग्दा एसईईको तयारी पनि गर्नुपर्ने हुन्छ । तर यो तालिमको लागि लामो समय दिनुपर्ने भएकाले पनि हामीले साना कक्षाका विद्यार्थी रोजेका हौँ । हाम्रो टिममा भएका ‘अमृत’ लाई सुरुमा ठूलो कक्षामा भएको कारणले नै टिममा नराख्ने सोचेका थियौँ । तर उनको रुचि र कामको लगाव देखेर टेक्निकल असिस्टेन्ट बनायौँ ।”
स्याटलाइट बनाउने मिसनमा लागेपछि आफूहरूमा समेत निकै परिवर्तन आएको महसुस गरेको विद्यार्थीहरू बताउँछन् । शीतल प्रजा भन्छिन्, “बिहानदेखि स्कुलमा पढ्नु पर्थ्यो । होमवर्क पनि गर्नुपर्यो । हरेक दिन समय मिलाएर स्याटलाइट बनाउन ग्रुपमा पनि काम गर्नुपर्यो । यो सबै गर्न सजिलो त थिएन । चुनौतीपूर्ण काम भएपनि नराम्रो कहिल्यै लागेन । अब त हामीलाई अझ धेरै कुराहरू गर्नुपर्छ भन्ने आत्मविश्वास जागेको छ ।” स्याटलाइट बनाएपछि घर, छिमेक र समाजले आफूहरूलाई गरेको व्यवहार नै फरक भएको महसुस उनीहरूले गरेका छन् ।

स्टाटलाइट प्रक्षेपण गरेपछि पनि विज्ञान र प्रविधिमा लगाव कम नभएको उनीहरूले बताए । अमृतले भने, “स्याटलाइट बनाइसकेपछि हामी के गर्ने भन्ने बारेमा सोच्न थाल्यौँ । बरु रोबोटिक्समा काम गर्छौँ भनेर अन्तरिक्ष प्रतिष्ठान नेपाललाई पनि भन्यौँ । अहिले हामी कारखाना र सडकमा प्रयोग गर्न सकिने रोबोट तयार पार्ने प्रोजेक्टमा काम गरिरहेका छौँ ।”
विद्यार्थीहरूको आग्रहमा सेन्सर लगायतका केही सामग्री चितवन पठाइएको प्रोजेक्ट म्यानेजर अधिकारीले बताए । विद्यार्थीहरूले केही रचनात्मक काम गर्न चाहँदा प्रतिष्ठानले पूर्ण सहयोग पुर्याएको उनले सुनाए ।
स्लिपर्स टू स्याटलाइट २ पनि बनाउने तयारी
स्लिपर्स टू स्याटलाइटमार्फत सफल रूपमा अन्तरिक्षमा भू-उपग्रह पठाउने काम सम्पन्न भएपछि अन्तरिक्ष प्रतिष्ठान नेपालले दोस्रो संस्करणमा समेत काम गर्ने भएको छ । यस परियोजना अन्तर्गत सीमान्तकृत छात्राहरूलाई प्राथमिकतामा राख्न लागिएको प्रोजेक्ट म्यानेजर अधिकारीले बताए । उनले भने, “अहिले स्याटलाइटको इन्जिनियरिङको काम भएको छ । टिम छनोट गर्न बुटक्याम्प पनि भइरहेको छ । छिट्टै समूह समेत तयार पारेर काम अघि बढाउँछौँ ।”
यो परियोजनामा स्लिपर्स टू स्याटलाइटका सदस्यहरूले पनि नयाँ टोलीलाई समय समयमा मेन्टरशिप प्रदान गरेर आफ्ना अनुभवहरू जुनियर टोलीसँग बाँड्ने व्यवस्था मिलाउने उनले बताए ।
*शीर्षक परिमार्जन गरिएको छ । स.
पछिल्लो अध्यावधिक: बैशाख २, २०८३ १०:५८
