काठमाडौँ । नेपाल इन्जिनियरिङ परिषद्ले इन्जिनियरहरूको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) को ढाँचा परिवर्तन गरी नयाँ सुरक्षा विशेषतासहितको प्रमाणपत्र कार्यान्वयनमा ल्याएको छ । परिषद्को हालैको निर्णयअनुसार साविकको प्रमाणपत्रको स्वरूप परिमार्जन गरिएको हो ।
परिषद्को २५ चैत २०८२ गते बसेको बैठकको निर्णय र 'नेपाल इन्जिनियरिङ परिषद् नियमावली, २०५७' को चौथो संशोधन (२०८२) को व्यवस्थाअनुसार नयाँ प्रमाणपत्र जारी गरिएको हो । नियमावलीको अनुसूची ७, ८ र ९ मा गरिएको संशोधनबमोजिम साविकको ढाँचा परिवर्तन गरी थप सुरक्षित र आधुनिक विशेषताहरू समावेश गरिएको परिषद्ले जनाएको छ ।
परिषद्द्वारा प्रकाशित सूचना अनुसार, नयाँ सुरक्षा विशेषतासहितको यो प्रमाणपत्र सोमबार (हिजो) देखि आधिकारिक रूपमा लागु गरिएको छ । यसअघि जारी गरिएका प्रमाणपत्रहरूको तुलनामा नयाँ प्रमाणपत्रमा डिजिटल सुरक्षा फिचरहरू र परिष्कृत डिजाइन राखिएको देखिन्छ ।
इन्जिनियरिङ क्षेत्रको नियमनलाई थप प्रभावकारी र प्रमाणपत्रको आधिकारिकता सुनिश्चित गर्न यो कदम चालिएको परिषद्को भनाइ छ ।
नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ द्वारा स्थापित यस निकायले देशैभरका इन्जिनियरहरूको दर्ता तथा नियमन गर्दै आएको छ । नयाँ प्रमाणपत्र कार्यान्वयनमा आएसँगै अब दर्ता हुने नयाँ इन्जिनियरहरूले सोहीबमोजिमको प्रमाणपत्र प्राप्त गर्नेछन् ।
पछिल्लो अध्यावधिक: बैशाख ८, २०८३ १२:५५
