फेसबुक र इन्स्टाग्रामबाट सूचना पाउनै २०-२५ दिन लाग्छ, अनुसन्धानमा असर पर्यो: आईजीपी कार्की
बैशाख १०, २०८३ १५:३५
काठमाडौँ । नेपाल प्रहरीका प्रमुख (आईजीपी) दानबहादुर कार्कीले सामाजिक सञ्जालका कार्यालयहरू नेपालमा नहुँदा अपराध अनुसन्धानमा गम्भीर असर परिरहेको बताएका छन् । बिहीवार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै आईजीपी कार्कीले सामाजिक सञ्जाल कम्पनीबाट समयमै सूचना नपाउँदा प्रहरीको अनुसन्धान प्रक्रिया प्रभावित भइरहेको गुनासो गरेका हुन् ।
पछिल्लो समय सामाजिक सञ्जालमार्फत विभिन्न किसिमका अपराध हुने गरेको तर त्यसलाई नियमन गर्ने स्पष्ट कानुनी व्यवस्था नहुँदा समस्या परेको उनले बताए । आईजीपी कार्कीले भने, “हामीले बाहिर पब्लिकल्ली कुरा धेरै राम्रा गरेका छौँ, तर कानुनमा हामीले त्यसको व्यवस्था गरेका छैनौँ । लोकप्रिय सामाजिक सञ्जालहरूको प्लेटफर्म र नेटवर्क नेपालमा नहुँदा हामीलाई अनुसन्धानमा समस्या परेको छ ।”
कुनै अपराधको अनुसन्धानका क्रममा फेसबुक र इन्स्टाग्रामबाट विवरण (डिटेल) माग्दा प्राप्त हुन सामान्यतः २०-२५ दिन लाग्ने गरेको उनले जानकारी दिए ।
यद्यपि, संवेदनशील प्रकृतिका घटनामा भने कम्पनीले केही छिटो रेस्पोन्स गर्ने गरेको उनको भनाइ छ । “जहाँसम्म बालबालिका हराएको (मिसिङ) र आत्महत्या (सुसाइड) को कुरा छ, त्यसमा चाहिँ हामीलाई टेन्टेटिभ्ली २४ घण्टाभित्र सूचना दिएको पाइन्छ,” आईजीपी कार्कीले भने, “तर, अन्य केसमा उनीहरूले न्यूनतम एक हप्ता लगाइदिन्छन् । त्यसकारण पनि हामीलाई अनुसन्धानमा थोरै असर परिराखेको छ ।”
सामाजिक सञ्जालमा हुने अपराध बढ्दै गएको तर अनुसन्धानका लागि चाहिने डेटा र विवरण प्राप्त गर्न विदेशी कम्पनीकै भर पर्नुपर्ने र त्यसमा पनि हप्तौँ कुर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
पछिल्लो अध्यावधिक: बैशाख १०, २०८३ १६:१८
