२ फेसबुक पेज विरुद्ध साइबर ब्युरोमा सांसद कर्णको उजुरी, भन्छन्ः मैले बालुवाटारमा जलाउने भनेकै छैन
बैशाख १०, २०८३ १८:५८
काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा राष्ट्रिय सभाका सांसद रञ्जित कर्णले आफ्नो नाम र तस्बिर प्रयोग गरी भ्रामक तथा झुटा सामग्री फैलाएको भन्दै दुईवटा फेसबुक पेज विरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराएका छन् । सांसद कर्णले ‘Ardhapagal’ र ‘Silung HD’ नामक फेसबुक पेजका सञ्चालकहरूलाई कानुनी कारबाहीको माग गर्दै बिहीबार भोटाहिटीस्थित ब्युरोमा लिखित जाहेरी दिएका हुन् ।
उजुरीका अनुसार ९ वैशाख, बुधबारका दिन उल्लिखित दुवै फेसबुक पेजले सांसद कर्णको तस्बिर र नाम अनधिकृत रूपमा प्रयोग गर्दै एउटा भ्रामक पोस्ट सार्वजनिक गरेका थिए । उक्त पोस्टको क्याप्सनमा भनिएको थियो, "सरकारले विद्यार्थी संगठन हटाउने भनेपछि रञ्जित कर्णले भने 'खबरदार बालेन जी म तपाईंको बालुवाटारमा आगो लगाइदिन्छु' ।"
‘Ardhapagal’ र ‘Silung HD’ ले यो भ्रामक विवरणसहितको सामग्री शेयर गरेका थिए । जसमा सांसद कर्णले प्रधानमन्त्री बालेन शाहलाई लक्षित गरी 'बालुवाटारमा आगो लगाइदिने' धम्की दिएको दाबी गरिएको थियो ।
सांसद कर्णले आफ्नो उजुरीमा उक्त दाबीलाई पूर्णतः ‘मनगढन्ते, कपोल्कल्पित र अनुमानका भरमा गरिएको’ भन्दै खण्डन गरेका छन् । उनले आफूले त्यस्तो कुनै पनि अभिव्यक्ति नदिएको र आफू विरुद्ध सार्वजनिक घृणा तथा द्वेष फैलाउने उद्देश्यले बेनामी पेजको आवरणमा साइबर अपराध गरिएको उल्लेख गरेका छन् ।
उनले उजुरीमा भनेका छन्, “मैले आगो लगाइदिन्छु भनी बोलेको कुनै भिडिओ, अडियो वा प्रमाण निजहरूसँग छैन, किनकि मैले त्यस्तो केही बोलेकै छैन । मेरो मन्जुरी बेगर तस्बिर प्रयोग गरी तोडमरोड गरेर मेरो सामाजिक प्रतिष्ठामा आघात पुर्याइएको छ ।”

सांसद कर्णले यो कार्य विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ र वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ को दफा १६ विरुद्धको अपराध भएको दाबी गर्दै दोषीलाई हदैसम्मको सजाय माग गरेका छन् ।
फेसबुकजस्तो विश्वव्यापी पहुँच भएको प्लेटफर्ममा असत्य सामग्री फैलाएर सार्वजनिक शान्ति, नैतिकता र शिष्टाचारको उल्लङ्घन गरिएको, भ्रामक पोस्टका कारण आएका असङ्ख्य नकारात्मक कमेन्टहरूले आफ्नो इमान, निष्ठा र प्रतिष्ठामा प्रहार गरेको र फेसबुक पेजहरूले दाबी गरे जस्तो कुनै पनि प्रमाण (अडियो/भिडियो) नरहेको जस्ता दाबी उनले प्रस्तुत गरेका छन् ।
५० वर्षीय सांसद कर्णले प्रमाणका रूपमा फेसबुक पोस्टका स्क्रिनशट र पेज तथा पोस्टका लिङकहरू समेत उजुरीमा समावेश गरेका छन् । उनले साइबर ब्युरोका निर्देशकलाई सम्बोधन गर्दै ती पेजका सञ्चालकहरूलाई यथाशीघ्र पक्राउ गरी अनुसन्धान गर्न र प्रचलित कानुन बमोजिम कारबाही गर्न माग गरेका छन् ।
पछिल्लो अध्यावधिक: बैशाख १०, २०८३ १८:५९
