भीपीएनले गर्दा पूर्ण रूपमा बेटिङ साइट बन्द गर्न सकस परेको छ- मन्त्री पोखरेल
बैशाख ११, २०८३ १६:५६
काठमाडौँ । सरकारले अनलाइन सट्टेबाजी तथा जुवाका साइटहरूमा प्रतिबन्ध लगाउने प्रक्रिया सुरु गरे पनि प्राविधिक कारणले पूर्ण रूपमा बन्द गर्न कठिनाइ भइरहेको जनाएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले यस्तो बताएका हुन् ।
मन्त्री पोखरेलका अनुसार बेटिङ साइटमाथि प्रतिबन्ध लगाउन सरकारले सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय गरिरहेको छ । यद्यपि, यस्ता साइट सञ्चालन र प्रयोग गर्नेहरूले भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) प्रयोग गर्ने भएकाले उनीहरूको वास्तविक आईपी एड्रेस पत्ता लगाउन प्राविधिक रूपमा अत्यन्तै कठिन भएको उनले उल्लेख गरे ।
“अलिकति धेरै प्राविधिक समस्या भएको हुनाले काममा केही कठिनाइ भइरहेको छ । विभिन्न वेबसाइटमा भीपीएन प्रयोग गरेर चलाइने हुँदा आईपी एड्रेसहरू ट्र्याक गर्न एकदम सकस छ,” मन्त्री पोखरेलले भने ।
प्राविधिक चुनौती भए पनि सरकारले यस विषयलाई प्राथमिकतामा राखेको बताउँदै उनले भने, “हामीले यसलाई बिर्सेका छैनौँ, प्रतिबन्ध लगाउने काम सुरु भइसकेको छ र यो चाँडोभन्दा चाँडो सम्पन्न हुनेछ ।” बेटिङ साइट पूर्ण रूपमा बन्द गर्नका लागि सरकारले प्राविधिक समाधान खोजिरहेको उनको भनाइ छ ।
१३ चैतमा वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले १०० शासकीय सुधारका योजना सार्वजनिक गरेको थियो । सोही अनुरूप १५ चैतमा सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमल्सिनाले नेपाल दूरसञ्चार प्राधिकरणलाई नेपालमा सञ्चालित सम्पूर्ण बेटिङ साइट ब्लक गर्न निर्देशन दिएका थिए ।
सञ्चार मन्त्रीको निर्देशनपछि प्राधिकरणले मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूसँग मिलेर त्यस्ता साइटमाथि प्रतिबन्ध लगाउने कार्यलाई तीव्रता दिएको छ । प्राधिकरणका अनुसार हालसम्म १० हजारभन्दा बढी अनलाइन सट्टेबाजी प्लेटफर्महरू ब्लक भइसकेका छन् ।
पछिल्लो अध्यावधिक: बैशाख ११, २०८३ १६:५६
