close

एसिया प्रशान्त क्षेत्रमा १ वर्षमै १३५ खर्ब बढीको साइबर लुट, धेरै देशको जीडीपीभन्दा ठुलो 'ठगी साम्राज्य'

टेकपाना टेकपाना

साउन ६, २०८३ १७:३४

एसिया प्रशान्त क्षेत्रमा १ वर्षमै १३५ खर्ब बढीको साइबर लुट, धेरै देशको जीडीपीभन्दा ठुलो 'ठगी साम्राज्य'

काठमाडौं । एसिया-प्रशान्त क्षेत्रमा सक्रिय साइबर ठगी गिरोहहरूले सन् २०२५ मा कम्तीमा ८८ अर्ब अमेरिकी डलर (१३५ खर्ब ६२ अर्ब ३४ करोड रुपैयाँ) ठगी गरेको संयुक्त राष्ट्र सङ्घले जनाएको छ । राष्ट्र सङ्घका अनुसार अन्तरदेशीय सङ्गठित अपराध समूहहरूले कानुन कार्यान्वयन गर्ने निकायभन्दा एक कदम अगाडि रहन आफ्ना ठगीका तरिकाहरूलाई पनि तीव्र रूपमा परिवर्तन र परिष्कृत गरिरहेका छन् । 

लागुऔषध तथा अपराध सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यालय (यूएनओडीसी) को नयाँ प्रतिवेदनअनुसार दक्षिणपूर्वी एसिया साइबर ठगीको प्रमुख केन्द्र बनेको छ । यो क्षेत्रमा अधिकांश चिनियाँ मूलका आपराधिक गिरोहहरूद्वारा सञ्चालित साइबर ठगी केन्द्रहरू रहेका छन् । त्यहाँका अपराधीहरू सरकारी कारबाहीलाई छल्दै अझ सङ्गठित र प्रविधिमैत्री बन्दै गएका छन् । उनीहरूले आम्दानीका नयाँ स्रोत विस्तार गर्नुका साथै भ्रष्टाचारको फाइदा उठाउँदै र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गर्दै आफ्ना ठगीका गतिविधिलाई अझ प्रभावकारी बनाइरहेका छन् । 

प्रतिवेदनले पूर्वी एसिया, दक्षिणपूर्वी एसिया, अस्ट्रेलिया र न्युजिल्यान्डमा सन् २०२५ भर साइबर ठगीबाट भएको क्षति ८८.३ अर्बदेखि ११४.१ अर्ब अमेरिकी डलरको बिचमा रहेको अनुमान गरेको छ । यो रकम उक्त क्षेत्रका धेरै देशहरूको कुल गार्हस्थ उत्पादन (जीडीपी) भन्दा पनि ठुलो रहेको प्रतिवेदनमा उल्लेख छ । 

दक्षिणपूर्वी एसिया तथा प्रशान्तका लागि यूएनओडीसीकी क्षेत्रीय प्रतिनिधि डेल्फिन शान्ट्जका अनुसार पहिले निश्चित क्षेत्र वा सीमित गैरकानुनी गतिविधिमा मात्र संलग्न रहने आपराधिक सञ्जालहरू अहिले विभिन्न अवैध बजारमा विस्तार हुँदै साझा सेवा र पूर्वाधार प्रयोग गरेर आफ्नो गतिविधि फैलाइरहेका छन् । 

शान्ट्जले भनिन्, यी गिरोहहरूको सञ्चालन मोडेल कुनै कर्पोरेट फ्रेन्चाइज जस्तै देखिन्छ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ), मानव बेचबिखन, आप्रवासी तस्करी र डेटा चोरीजस्ता कामका लागि छुट्टाछुट्टै विशेषज्ञ टोली हुन्छन्, तर ती सबै एउटै सेवा-आधारित अन्तरसम्बन्धित आपराधिक सञ्जालमा आबद्ध भएर काम गरिरहेका हुन्छन् । 

दक्षिणपूर्वी एसियामा सञ्चालित साइबर ठगी केन्द्रहरूबाट विश्वभरका मानिसलाई लक्षित गर्दै विभिन्न गैरकानुनी अनलाइन ठगी सञ्चालन हुने गरेको छ । यी केन्द्रबाट यी गिरोहहरूले हरेक वर्ष अर्बौं डलर आम्दानी गर्ने गरेका छन् । यस्ता धेरै केन्द्रमा मानव बेचबिखनमार्फत ल्याइएका विदेशी नागरिकलाई बन्धकजस्तै अवस्थामा राखेर अमानवीय वातावरणमा जबर्जस्ती काम गराइने गरेको प्रतिवेदनमा उल्लेख छ । 

यूएनओडीसीका अनुसार दक्षिणपूर्वी एसियाभर सञ्चालनमा रहेका साइबर ठगी केन्द्रहरूमा कम्तीमा ८० देश तथा क्षेत्रका नागरिक भेटिएका छन् । यस्ता गिरोहरूले मानिस भर्ती गर्न एसिया, मध्यपूर्व र अफ्रिकाका विभिन्न ट्रान्जिट केन्द्रहरूको प्रयोग गर्दै अन्तरदेशीय भर्ती सञ्जाल सञ्चालन गरिरहेका छन् । 

यूएनओडीसीका अनुसार साइबर ठगी सञ्चालन गर्ने गिरोहहरूले एसियाबाहिरका व्यक्तिलाई पनि भर्ती गर्ने प्रयास तीव्र बनाएका छन् । उनीहरूले नयाँ बजारमा आफ्नो पहुँच विस्तार गरिरहेका कारण एसियाबाहिरका विभिन्न देशहरूबाट भर्ती प्रयास तीब्र बनाएका हुन् । 

प्रतिवेदनमा उल्लेख भएअनुसार यस्ता गिरोहसँग सम्बन्धित सञ्चार च्यानलमार्फत प्रकाशित भर्ती विज्ञापनहरूमा जर्मन, पोलिस, डच, स्पेनिस, इटालियन, फ्रेन्च, स्विडिस, नर्वेजियन र अङ्ग्रेजी भाषा जान्ने व्यक्तिलाई विशेष रूपमा लक्षित गरिएको छ । यूएनओडीसीका अनुसार पछिल्लो समय दक्षिणपूर्वी एसियामा कानुन कार्यान्वयन गर्ने निकायको दबाब बढेपछि यी आपराधिक सञ्जाल विस्थापित भए पनि गतिविधि समाप्त भने गरेका छैनन् । 

गिरोहहरूले म्यानमार र लाओसजस्ता देशबाट आफ्नो आधार स्थानान्तरण गर्दै पूर्वी टिमोर, प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू तथा अफ्रिकाका केही भागमा नयाँ केन्द्र स्थापना गरेर गतिविधि सञ्चालन गर्न थालेका छन् । 

प्रतिवेदनका अनुसार साइबर ठगी उद्योगको तीव्र विस्तारसँगै मनी लाृउन्डरिङ, भूमिगत बैंकिङ (अन्डरग्राउन्ड बैंकिङ) र डेटा किनबेच जस्ता सहायक आपराधिक सेवाहरूको समानान्तर सञ्जाल पनि तीव्र रूपमा बढिरहेको छ । 

यूएनओडीसीका प्रमुख विश्लेषक इनशिक सिमका अनुसार द्रुत गतिमा फैलिरहेको यो सङ्गठित अपराधको अर्थतन्त्रको आकार र जटिलता अहिलेका नियन्त्रण तथा प्रतिकारका उपायहरूको क्षमताभन्दा धेरै अघि पुगिसकेको छ । यति परिष्कृत र प्रविधि-आधारित आपराधिक गतिविधिसँग जुध्न वर्तमान संयन्त्र पर्याप्त रूपमा तयार नभएको उनले बताएका छन् ।

पछिल्लो अध्यावधिक: साउन ६, २०८३ १७:३४