स्न्यापच्याटलाई टक्कर दिन मेटाले ल्यायो नयाँ ‘इन्स्ट्यान्ट्स’ एप, २४ घण्टामा फोटो आफैँ हराउने
बैशाख १२, २०८३ २१:१
काठमाडौँ । मेटाको स्वामित्वमा रहेको इन्स्टाग्रामले नयाँ एप सार्वजनिक गरेको छ । ‘इन्स्ट्यान्ट्स’ (Instants) नाम दिइएको यस एपले विशेषगरी स्न्यापच्याटको जस्तै छिटो र २४ घण्टामा आफैँ हराउने फोटो शेयरिङ फिचरलाई समेटेको छ ।
पहिले इन्स्टाग्रामको मेसेज सेक्सनमा सीमित रहेको ‘शट्स’ फिचरलाई नै परिमार्जन गरेर कम्पनीले छुट्टै एपको रूपमा ल्याएको हो । इन्स्टाग्राम एपभित्र यो फिचरले खासै चर्चा र प्रयोगकर्ताको ध्यान तान्न नसकेपछि यसलाई छुट्टै ‘डेडिकेटेड’ एपको रूपमा विकास गरिएको सामाजिक सञ्जाल विश्लेषकको अनुमान छ ।
यो एप चलाउन भने सहज छ । प्रयोगकर्ताले आफ्नो पुरानै इन्स्टाग्राम अकाउन्टबाटै यसमा लगइन गर्न सक्छन् । एप खोल्नेबित्तिकै सिधै क्यामेरा खुल्छ, जसले गर्दा प्रयोगकर्ताले आफ्ना रमाइला पल तुरुन्तै कैद गरेर साथीलाई पठाउन सक्छन् ।
इन्स्टाग्रामले यस एपलाई ‘रियल लाइफ, रियल क्विक’ अर्थात् वास्तविक जीवनका पल छिटो शेयर गर्ने माध्यमको रूपमा चिनाएको छ । यसमा फोटो एडिट गर्ने सुविधा राखिएको छैन, खिच्ने बित्तिकै सिधै शेयर गर्नुपर्ने हुन्छ । साथीलाई पठाइएका फोटो एकपटक हेरिसकेपछि वा २४ घण्टापछि आफैँ हराएर जान्छन् ।
यसको अर्को मुख्य विशेषता भनेको मुख्य इन्स्टाग्राम एपसँगको आबद्धता हो । प्रयोगकर्ताले ‘इन्स्ट्यान्ट्स’ एपबाट शेयर गरेका वा प्राप्त गरेका फोटो मुख्य इन्स्टाग्राम एपबाट पनि हेर्न र पठाउन सक्छन् । यो एप केवल फोटो छिटो पठाउनका लागि बनाइएको एउटा सहज विकल्प मात्र हो ।
यो नयाँ एप हाल एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध गराइएको छ । यद्यपि, यो कुन-कुन देशमा डाउनलोड गर्न सकिन्छ भन्ने कुरा क्षेत्र अनुसार फरक पर्न सक्नेछ । ‘इन्स्ट्यान्ट्स’ एपको अनुभव हुबहु स्न्यापच्याट जस्तै लाग्ने प्रयोगकर्ताको भनाइ छ । युवा पुस्तामाझ लोकप्रिय रहेको स्न्यापच्याटलाई मेटाको यो नयाँ प्रयासले कत्तिको चुनौती दिन सक्छ, त्यो भने चासोको विषय बनेको छ ।
पछिल्लो अध्यावधिक: बैशाख १२, २०८३ २१:३४
