काठमाडौँ । धरान उपमहानगरपालिकास्थित एक क्याफेलाई अखडा बनाएर प्रतिबन्धित अनलाइन जुवा 'वनएक्सबेट' खेल्ने र खेलाउने १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धरान-१३, लक्ष्मी सडकस्थित मण्डला क्याफेमा अनलाइन जुवा भइरहेको विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय धरान र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले सोमबार राति छापा मारेको थियो । राति १०:३० बजे क्याफेमा छापा मार्दा १० जनालाई जुवा खेल्दै र खेलाउँदै गरेको अवस्थामा फेला पारिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार पक्राउ परेकाहरूको साथबाट जुवा खेल्न प्रयोग गरिएका विभिन्न कम्पनीका १५ थान मोबाइल फोन बरामद गरिएको छ ।
पक्राउ पर्नेहरूमा धरान-१३ का ४६ वर्षीय हेमन राई, २७ वर्षीय योगेश लिम्बु, २९ वर्षीय मिलन लिम्बु, ३१ वर्षीय सुशान्त घिमिरे, ४२ वर्षीय कुमार तामाङ र ४० वर्षीय विवेक थापा रहेका छन् ।
त्यस्तै, धरान-१ का ३३ वर्षीय सुजित साह, धरान-१५ का ३५ वर्षीय भवानी दाहाल, धरान-१६ का ४१ वर्षीय अशोक लिम्बु र धरान-१७ का ३१ वर्षीय प्रज्वल राईलाई पनि नियन्त्रणमा लिइएको छ।
डीएसपी खड्काले पक्राउ परेका सबैको मोबाइलमा बेटिङ एप फेला परेको र उनीहरूले यसमार्फत आर्थिक कारोबार गर्ने गरेको पुष्टि गरे । "पक्राउ परेकामध्ये को एजेन्ट र को खेलाडी मात्र हुन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ," खड्काले टेकपानासँग भने, "उनीहरूले कति रकमको कारोबार गरे र कहिलेदेखि यो अवैध धन्दामा संलग्न थिए भन्ने विषय अझै खुल्न बाँकी छ ।"
प्रहरीको प्रारम्भिक अनुसन्धानले एउटै क्षेत्रका व्यक्तिहरू मिलेर समूह बनाई जुवा खेल्ने र खेलाउने गरेको देखाएको छ । यस सञ्जालको मुख्य नाइके को हो र यसको नेटवर्क कहाँसम्म फैलिएको छ भन्नेबारे प्रहरीले थप खोजी गरिरहेको छ ।
पक्राउ परेका सबै १० जनालाई हाल इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखेर कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख १५, २०८३ १८:३६
