close

विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा, आईएसपीलाई ‘प्लग-एण्ड-प्ले' मोडेल

टेकपाना टेकपाना

बैशाख १७, २०८३ १७:१३

विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा, आईएसपीलाई ‘प्लग-एण्ड-प्ले' मोडेल

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीका रूपमा स्थापित ‘नेपाल डिजिटल पूर्वाधार कम्पनी’ पूर्ण रूपमा सञ्चालनमा आएको छ । मुलुकको सूचना प्रविधि र दूरसञ्चार क्षेत्रमा आमूल परिवर्तन ल्याउने उद्देश्यले प्राधिकरणले यस कम्पनीलाई सञ्चालनमा ल्याएको हो ।

गुणस्तरीय इन्टरनेट सेवाका लागि पूर्वाधार निर्माण गरी दूरसञ्चार तथा सूचना प्रविधि क्षेत्रको मेरुदण्ड बन्ने लक्ष्यका साथ कम्पनीले आफ्नो कार्य सुरु गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार, पूर्वाधार साझा गर्ने (इन्फ्रास्ट्रक्चर शेयरिङ) अवधारणामा आधारित यस कम्पनीले सहरी सुन्दरता बढाउन, दुर्गम क्षेत्रमा इन्टरनेटको पहुँच विस्तार गर्न र एकीकृत सूचना प्रविधि प्रणालीको विकासमा भूमिका खेल्नेछ ।

यस कम्पनीले इन्टरनेट सेवा प्रदायकरूलाई ‘प्लग-एण्ड-प्ले’ मोडेलमा पूर्वाधार उपलब्ध गराउने शाक्यले बताए । यसबाट सेवा प्रदायकहरूले छुट्टै पोल गाड्ने वा तार टाँग्ने झन्झटबाट मुक्ति पाउने उनको भनाइ छ ।

प्राधिकरणको साझा पूर्वाधार प्रयोग गर्दा सेवा प्रदायकहरूको पूँजीगत खर्च घट्ने र त्यसको प्रत्यक्ष लाभ उपभोक्ताले सस्तो इन्टरनेटका रूपमा पाउने दाबी गरिएको छ ।

कम्पनीले प्राधिकरणसँग रहेका अप्टिकल फाइबर, भूमिगत डक्ट र पोलहरूलाई ‘प्यासिभ एसेट्स’ का रूपमा सेवा प्रदायकहरूलाई भाडामा उपलब्ध गराउनेछ । काठमाडौँ उपत्यकाको मुख्य समस्याका रूपमा रहेको ‘तारको गुजुल्टो’ व्यवस्थापन गर्ने कार्यलाई यस कम्पनीले प्राथमिकतामा राखेको छ ।

“भूमिगत पाइपको साझा प्रयोगले सहरी सौन्दर्य फर्काउनुका साथै विद्युत् र टेलिफोनका तारहरू आपसमा अल्झिँदा हुने आगलागी र दुर्घटनाको जोखिमलाई समेत न्यून गर्नेछ,” शाक्यले भने, “यससँगै इन्टरनेट विस्तारका लागि हरेक कम्पनीले छुट्टाछुट्टै सडक खन्ने झन्झटको पनि अन्त्य हुनेछ ।”

शाक्यले अब प्रतिस्पर्धा पूर्वाधार निर्माणमा नभई सेवाको गुणस्तरमा हुनुपर्नेमा जोड दिए । उनले भने, “जब सबैले एउटै ‘डिजिटल सडक’ प्रयोग गर्छन्, तब कम्पनीहरू बीच गुणस्तरीय सेवा र सुलभ दरका लागि प्रतिस्पर्धा हुनेछ, जसको प्रत्यक्ष लाभ उपभोक्तालाई पुग्ने निश्चित छ।” कम्पनीले डेटा सेन्टर सम्बन्धी विभिन्न सेवाहरू समेत प्रदान गर्ने योजना बनाएको छ ।

सरकारले नेपालका प्रत्येक घरधुरीमा डिजिटल कनेक्टिभिटी पुर्‍याउने लक्ष्य राखेको स्मरण गराउँदै शाक्यले यस कम्पनीले उक्त लक्ष्यलाई नयाँ गति दिने बताए । ग्रामीण क्षेत्रमा निजी कम्पनीहरूलाई आफ्नै पूर्वाधार निर्माण गर्न अत्यन्तै खर्चिलो हुने भएकाले प्राधिकरणको विद्यमान प्रसारण लाइन प्रयोग गर्दा सेवा लागत घट्ने र सर्वसाधारणले सुलभ दरमा इन्टरनेट पाउने वातावरण बन्ने दाबी गरिएको छ ।

सम्बन्धित समाचार: विद्युत् प्राधिकरणको नयाँ पूर्वाधार कम्पनीको योजनाबाट इन्टरनेट सेवा प्रदायकहरू त्रसित

पछिल्लो अध्यावधिक: बैशाख १७, २०८३ १८:१