नाइजेरियामा ५० हजार सडक बत्तीबाट विश्वकै पहिलो एआई डेटा सेन्टर बनाउँदै बेलायती कम्पनी
बैशाख २०, २०८३ ११:६
काठमाडौँ । प्रविधिको दुनियाँमा डेटा सेन्टरहरूलाई जहिले पनि ठुला भवन, शक्तिशाली कुलिङ सिस्टम र ठुलो मात्रामा ऊर्जा खपत गर्ने संरचनाका रूपमा हेरिन्छ । विगतमा डेटा सेन्टरहरूलाई असामान्य ठाउँमा राख्ने प्रयासहरू नभएका होइनन् । माइक्रोसफ्टले समुद्रको गहिराइमा डेटा सेन्टर राखेर परीक्षण गरेको थियो भने अर्बपति एलन मस्कले अन्तरिक्षमा डेटा सेन्टर स्थापना गर्ने महत्त्वाकाङ्क्षा राखिरहेका छन् ।
तर, अहिले संयुक्त अधिराज्य (यूके) को एउटा प्रविधि कम्पनीले यस्तो अवधारणा ल्याएको छ, जसले हाम्रो सडकमा रहेका साधारण देखिने सडक बत्तीलाई नै शक्तिशाली डेटा सेन्टरमा परिणत गरिदिनेछ । वारविकशायरमा आधारित कन्फ्लो पावर ग्रुप लिमिटेड (CPG) ले नाइजेरियाको एउटा राज्यसँग ५० हजार वटा स्मार्ट सडक बत्तीहरू जडान गर्ने औपचारिक सम्झौता गरेको छ । यी बत्तीहरूले सडक उज्यालो बनाउने मात्र नभई एकआपसमा नेटवर्कमार्फत जोडिएर एउटा विशाल 'वितरित एआई डेटा सेन्टर' (Distributed AI Data Centre) को रूपमा काम गर्नेछन् ।
के हो आईल्याम्प र कसरी काम गर्छ ?
कन्फ्लो पावर ग्रुपले विकास गरेको यो विशेष सडक बत्तीलाई आईल्याम्प (iLamp) नाम दिइएको छ । यो पूर्ण रूपमा सौर्य ऊर्जाबाट चल्ने युनिट हो । यसको माथिल्लो भागमा बेलनाकार सौर्य प्यानलहरू जडान गरिएका हुन्छन्, जसले दिनभर घामबाट ऊर्जा सङ्कलन गरी भित्र रहेका ब्याट्रीहरू चार्ज गर्दछन् ।
यो प्रविधिको सबैभन्दा रोचक पक्ष यसभित्र लुकेको कम्प्युटिङ क्षमता हो । कम्पनीका अध्यक्ष एडवर्ड फिट्जप्याट्रिकका अनुसार प्रख्यात चिप निर्माता कम्पनी एनभिडियाले यस्तो सानो चिप तयार पारेको छ, जसले मात्र १५ वाट बिजुली खपत गर्छ । यही चिपलाई प्रत्येक सडक बत्तीभित्र फिट गरिनेछ ।
जब हजारौँको सङ्ख्यामा रहेका यी बत्तीहरू एकअर्कासँग कनेक्ट हुन्छन्, तिनीहरूले सामूहिक रूपमा एउटा ठुलो डेटा सेन्टरले जत्तिकै डेटा प्रशोधन गर्न सक्छन् । यसको सबैभन्दा ठुलो वातावरणीय फाइदा भनेको यसले राष्ट्रिय विद्युत् प्रणाली (ग्रिड) बाट कुनै पनि बिजुली लिँदैन । जसले गर्दा कार्बन उत्सर्जन कम गर्न मद्दत पुग्छ ।
सुरक्षाका लागि फ्राई हुने चिप
सडकको पोलमा दुई हजार डलर (झन्डै ३ लाख रुपैयाँभन्दा बढी) मूल्य पर्ने महँगो एआई चिप राख्नु आफैँमा चुनौतीपूर्ण छ । प्रविधि विज्ञहरूले यसको भौतिक सुरक्षालाई लिएर चिन्ता व्यक्त गरेका छन् । सडक किनारमा रहेका यी महँगा उपकरण चोरी हुने जोखिम उच्च रहन्छ ।
तर फिट्जप्याट्रिकले यसको समाधान पनि खोजिएको दाबी गरेका छन् । उनका अनुसार यदि कसैले सुरक्षा घेरा तोडेर वा जबरजस्ती गरेर त्यो चिप निकाल्ने प्रयास गर्यो भने चिप आफैँ फ्राई हुने अर्थात् जलेर काम नलाग्ने गरी नष्ट हुने प्रणाली जडान गरिएको छ । यसले गर्दा चोरले चिप हात पारे पनि त्यसको कुनै पुन: प्रयोग वा मूल्य रहने छैन ।
साथमा मनिटरिङ क्यामेरा
नाइजेरियामा जडान गरिने यी ५० हजार सडक बत्तीहरू केवल डेटा सेन्टर मात्र हुने छैनन् । यिनीहरूले उच्च स्तरको एआई-सञ्चालित मनिटरिङ क्यामेराको रूपमा पनि काम गर्नेछन् । यी क्यामेराहरूले ट्राफिक नियम उल्लङ्घन गर्नेहरू, तीव्र गतिमा सवारी चलाउनेहरू र सिटबेल्ट नबाँध्ने चालकहरूलाई स्वचालित रूपमा पत्ता लगाउने क्षमता राख्दछन् ।
यो प्रविधि बेलायतको वारविक अस्पतालको पार्किङ क्षेत्रमा पहिले नै प्रयोगमा आइसकेको छ । जहाँ यसले सीसीटीभी मनिटरिङ र नम्बर प्लेट पहिचानको काम गरिरहेको छ । भविष्यमा यसलाई अनुहार पहिचान गर्ने प्रविधिमार्फत हराएका व्यक्तिहरू वा अपराधीहरूको खोजी गर्न समेत प्रयोग गर्न सकिने कम्पनीको योजना छ ।
यद्यपि व्यक्तिगत गोपनीयता र यसको दुरुपयोग हुन सक्ने विषयमा भने अधिकारकर्मीहरूले प्रश्न उठाएका छन् । कम्पनीले भने यी सबै सुविधाहरू स्थानीय कानुन र सम्बन्धित निकायको अनुमतिमा मात्र लागु गरिने स्पष्ट पारेको छ ।
एडवर्ड फिट्जप्याट्रिकले त सडक बत्तीलाई जनतासँग अन्तरक्रिया गर्ने माध्यमको रूपमा समेत परिकल्पना गरेका छन् । मानिसहरूले सडक बत्तीको अगाडि उभिएर हातको औँलाले भिक्ट्री साइन (दुई औँला उठाउने) देखाएर कुनै सामाजिक सञ्जालको पोल वा मतदानमा भोट हाल्न सक्ने जस्ता रोचक सुविधाहरू यसमा थप्न सकिने उनले बताए ।
कस्तो छ बिजिनेस मोडेल ?
डेटा सेन्टर क्षेत्रका अनुभवी प्रोफेसर इयान बिटरलिन र कार्बन-३-आईटी लिमिटेडका जोन बुथ जस्ता विज्ञहरूले यस प्रविधिलाई लिएर मिश्रित प्रतिक्रिया दिएका छन् । उनीहरूका अनुसार यो प्रविधिले च्याटजीपीटी जस्ता ठुला ल्याङ्ग्वेज मोडेलहरू (एलएलएम) लाई तालिम दिन प्रयोग हुने विशाल डेटा सेन्टरहरूको ठाउँ लिन सक्दैन । किनकि बत्तीहरू बीचको दूरीले गर्दा डेटा ट्रान्सफरको गति केही ढिलो हुन सक्छ ।
तर प्रयोगकर्ताको नजिकै रहेर स-साना एआई एप्लिकेसनहरू चलाउन (Edge Computing) का लागि भने यो निकै कम लागतको र प्रभावकारी समाधान हुन सक्छ । यो परियोजनाको बिजनेस मोडेल पनि निकै चाखलाग्दो छ ।
यी बत्तीहरूको जडान र मर्मत खर्च ग्रिन बन्ड (Green Bond) लगानीकर्ताहरूबाट उठाइनेछ । बदलामा यी बत्तीहरूको कम्प्युटिङ क्षमता विभिन्न एआई कम्पनीहरूलाई भाडामा दिएर आउने आम्दानी ती लगानीकर्ताहरूलाई वितरण गरिनेछ ।
नाइजेरियाको कात्सिना राज्यले ट्राफिक जरिबानाबाट राजस्व सङ्कलन गर्नेछ । सम्झौता अनुसार तीन वर्षपछि कन्फ्लो पावर ग्रुपले उक्त जरिबाना रकमबाट २०% हिस्सा प्राप्त गर्नेछ ।
किन छानियो त अफ्रिका ?
फिट्जप्याट्रिकका अनुसार अफ्रिका यो प्रविधिको परीक्षण र विस्तारका लागि सबैभन्दा उत्तम ठाउँ हो । पहिलो कारण त्यहाँ उपलब्ध प्रचुर मात्राको घाम हो, जुन सौर्य ऊर्जाका लागि अनिवार्य छ । दोस्रो कारण, त्यहाँका नियमहरू युरोप वा अमेरिकाको तुलनामा केही लचिला छन्, जसले नयाँ प्रविधिलाई छिटो भित्र्याउन मद्दत गर्छ ।
यी आईल्यापहरू मोरक्को, ताइवान र लाटभियामा निर्माण गरिनेछन् । तर नाइजेरियाको कात्सिनामा पनि एउटा एसेम्बली कारखाना बनाइँदैछ, जसले स्थानीय रोजगारी सिर्जनामा सहयोग पुर्याउनेछ । कात्सिना राज्यका ऊर्जा सल्लाहकार डा. हाफिज इब्राहिम अहमदले यस परियोजनाले राज्यलाई सुरक्षित बनाउन, अपराध नियन्त्रण गर्न, नि:शुल्क पब्लिक इन्टरनेट उपलब्ध गराउन र राजस्वको नयाँ स्रोत जुटाउन मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् ।
नाइजेरियाको यो ५० हजार सडक बत्तीको परियोजना सफल भएमा यसले विकासोन्मुख देशहरूमा प्रविधिको पहुँच पुर्याउने नयाँ मोडेल तयार गर्नेछ ।
-बीबीसी
पछिल्लो अध्यावधिक: बैशाख २०, २०८३ ११:१२
