पहिले सडकमा झुन्ड बनाएर दुर्व्यवहार गर्थे, अहिले अनलाइनमा अनुहार लुकाएर गर्छन्’
बैशाख २१, २०८३ १५:११
सन् २००७ देखि म निरन्तर सार्वजनिक जीवनमा छु । म त्यो ‘मिलेनियल’ पुस्ताको व्यक्ति हुँ, जुन पुस्ता पुरानो सामाजिक संरचना र आधुनिक डिजिटल युगको सङ्क्रमणका बीचमा चेपुवामा पर्यो । सन् २००८ तिर मैले फेसबुक खोल्दा सामाजिक सञ्जाल अहिलेको जस्तो आक्रामक भइसकेको थिएन, बरु मूलधारका मिडियाको एउटा छुट्टै दबदबा थियो ।
त्यो बेला मिडियामा एउटा समाचार खुब सुनियो, “निशा अधिकारीले पत्रकार पिटिन्” कतिले त अहिले पनि यसलाई विश्वास गर्नुहुन्छ होला । पत्रकार अनुपम भट्टराईजीलाई मैले हात उठाएको भनियो । भनिन्छ नि, एउटा झुटलाई सय पटक बोलियो भने त्यो सत्य साबित हुन्छ । मेरो हकमा त्यस्तै भयो । मैले औँला उठाएर जे पायो त्यही भिडिओ खिच्न पाइँदैन मात्र भनेकी थिएँ, तर त्यसलाई यस्तो ‘फन्डा’ बनाइयो कि मेरो परिचय नै विवादास्पद बनाइदियो ।
हामी ‘इभ टिजिङ’ (सडकमा हुने यौनजन्य हिंसा) भोग्दै हुर्किएको पुस्ता हौँ । टोलका केटाहरू एक ठाउँमा बस्थे र बाटो हिँड्ने केटीलाई जिस्क्याउँथे । मेरा कतिपय साथीहरू बाटोमा डराएर शरीर कुप्रो पारेर हिँड्थे । जसले गर्दा पछिसम्म पनि उनीहरूको हिँडाइ त्यस्तै हुन गयो । फर्केर हेर्यो भने जिस्क्याउनेहरू भाग्थे, तर शरीरको अंगबारे गर्ने कमेन्टले पछिसम्म मानसिक रूपमा असर गर्थ्यो ।
आज समय फेरिएको छ, तर प्रवृत्ति उस्तै छ । हिजो सडकमा अनुहार देखाएर जिस्क्याउँथे । आज ‘फेसलेस’ भएर अनलाइनबाट दुर्व्यवहार गरिरहेका छन् । हिजोका टोले गुन्डा र आजका ट्रोलरहरूको सोचमा कुनै भिन्नता छैन । दुवैको उद्देश्य मान्छेको मानमर्दन गर्नु नै हो ।
हाम्रो फिल्म इन्डस्ट्रीले श्रीषा कार्कीको वियोगान्त घटना भोगेको छ । त्यो बेलाको 'पीत पत्रकारिता' र अनैतिक अभ्यासको शिकार हामी धेरै भयौँ । हामीले त्यस्तो भाष्यलाई चुनौती दिँदै राम्रो घरको छोरी पनि फिल्ममा आउँछन् र सफल हुन्छन् भनेर प्रमाणित गर्न ठुलो सङ्घर्ष गर्यौँ । गालीहरू पचाउँदै आयौँ ।
मैले आफ्नो अर्ली थर्टिजमा फिल्म निर्माणमा सक्रिय हुन थालिरहँदा आफूलाई ‘सेल्फ सेन्सरसिप’ मा राखेकी रहेछु भन्ने महसुस गरेँ । धेरै नकारात्मक समाचार र ट्रोलिङका बीच म हराएछु । मलाई लाग्थ्यो, “किन बोल्ने ? जे बोले पनि आखिर गाली खाने नै त हो, विवादमा तान्ने नै हो । त्यो भन्दा बरु चुपचाप बस्नु नै बेस हुन्छ ।”
केही बोल्न लाग्दा पनि आफैँलाई रोक्नु, आफ्ना विचारहरूलाई भित्रै कुण्ठित पार्नु भनेको आफ्नो अस्तित्वलाई नै खुम्च्याउनु रहेछ । पछि मैले आफैँसँग लडेँ । मैले महसुस गरेँ कि यो प्लेटफर्म मैले दिनरात काम गरेर कमाएकी हुँ । यदि म सही कुराका लागि आवाज उठाउन सक्दिनँ भने मेरो यो परिचयको के अर्थ ?
हालैको निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ५ बाट उम्मेदवार बन्दा दुर्व्यवहारको पनि निरन्तरता भयो । मेरा लागि सामाजिक सञ्जालमा आउने नकारात्मक कमेन्ट नौला थिएनन् । म त ट्रोलिङको शिकार भएर समयसँगै ‘थिक स्किन्ड’ (बाक्लो छाला भएको) भइसकेकी रहेछु । तर मेरो टिमका युवा साथीहरूलाई यसले निकै असर गर्यो । उनीहरूको आग्रहमा मैले केही हेट कमेन्ट गर्नेलाई एक्स्पोज समेत गरेँ ।
सार्वजनिक व्यक्ति भएपछि ‘इगो’ लाई सर्लक्कै निलिदिनु पर्ने रहेछ । हामीलाई कतिपय अवस्थामा बिर्सिन पाउने अधिकार समेत हुँदैन । पुराना कुराहरू कोट्याएर बारम्बार प्रहार गरिन्छ । मैले अब तालीमा धेरै रमाउन र गालीमा धेरै दुःखी हुन छाडिसकेकी छु । कसैसँग अपेक्षा राखिएन भने चोट पनि कम लाग्ने रहेछ ।
अब सरकार र समाजले यस्तो वातावरण बनाउनुपर्छ । जहाँ पिछडिएका समूहले सुरक्षित महसुस गरुन् । प्रेस स्वतन्त्रता र सूचनाको पहुँच लोकतन्त्रको प्राण हो । तर यसमा खोजमूलक पत्रकारिता र नैतिकता आवश्यक छ ।
अहिले पनि केही पत्रकारले निकै मेहनत गरेर र अध्ययन गरेर लेख्नुहुन्छ । तर, अनलाइनमा नकारात्मक कन्टेन्टको बाढी नै छ । यसलाई कम गर्दै लैजानु आजको मुख्य चुनौती हो ।
(गतिशील लोकतान्त्रिक पार्टीकी नेतृ निशा अधिकारीले विश्व स्वतन्त्रता दिवसका अवसरमा युनेस्कोसँगको सहकार्यमा टेकपानाले गरेको एक कार्यक्रममा अनलाइन ट्रोलिङका विषयमा सुनाएको अनुभवका आधारमा यो सामग्री तयार पारिएको हो ।)
पछिल्लो अध्यावधिक: बैशाख २१, २०८३ १७:४८
