नेपालमा टियर फोर हाइपरस्केल डेटा सेन्टर निर्माण गर्ने बिचुटेनको घोषणा, विदेशी सर्भरमाथिको निर्भरता घटाउने लक्ष्य
बैशाख २४, २०८३ १२:५९
काठमाडौँ । डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने र डेटा सुरक्षालाई सुदृढ बनाउने उद्देश्यका साथ बिचुटेन डेटा भोल्टले नेपालमा ‘टियर ४’ हाइपरस्केल डेटा सेन्टर निर्माण गर्ने घोषणा गरेको छ । नेपाललाई दक्षिण एसियाकै एक विश्वसनीय डिजिटल हबको रूपमा स्थापित गर्ने लक्ष्यका साथ कम्पनीले यो परियोजना अघि सारेको हो ।
बिचुटेन डेटा भोल्ट कम्पनी स्वदेशी उद्यमीहरू नवीन अग्रवाल, मीन अग्रवाल (फेयर ग्रुप), अनुज कियाल (कियाल ग्रुप), विशाल कुमार जाटिया र शरद गोयलको नेतृत्वमा रहेको छ ।
सर्टिफाइड टियर ४ मापदण्डको डेटा सेन्टरले ९९.९९५ प्रतिशत ‘अपटाइम’ को सुनिश्चितता प्रदान गर्ने दाबी गरिएको छ । यसको अर्थ वर्षभरिमा २६ मिनेटभन्दा कम मात्र प्राविधिक अवरोध हुन सक्नेछ, जुन बैंकिङ र दूरसञ्चार जस्ता संवेदनशील क्षेत्रका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ ।
परियोजना काठमाडौँ र वीरगन्ज गरी दुई स्थानमा सञ्चालन गर्ने कम्पनीको तयारी छ । सुरुमा २४० किलोवाट क्षमताबाट प्रारम्भ हुने यो सेन्टरलाई सन् २०३० सम्ममा ५ मेगावाटसम्म विस्तार गर्ने योजना कम्पनीको छ ।
यस परियोजनाका लागि विश्वचर्चित प्रविधि कम्पनीहरू भीभीडीएन, गुगल क्लाउड, एएमडी र माइक्रोनसँग रणनीतिक साझेदारी गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
‘डेटा नै आर्टिफिसियल इन्टेलिजेन्स र डिजिटल रूपान्तरणको आधार हो’ भन्ने मान्यताका साथ कम्पनीले नेपालको डेटा नेपालभित्रै सुरक्षित राख्ने लक्ष्य राखेको छ । यसबाट विदेशी सर्भरमाथिको निर्भरता कम हुनुका साथै राष्ट्रिय सुरक्षा र साइबर प्रतिरोध क्षमता बलियो हुने उसको अपेक्षा छ ।
कम्पनीले भविष्यमा नेपालमै सर्भर, क्यामेरा, ल्यापटप र ट्याबलेट जस्ता डिभाइहरू उत्पादन गर्ने लक्ष्य समेत राखेको छ । पूर्णतया नेपालको जलविद्युतमा आधारित हुने यो डेटा सेन्टर वातावरण मैत्री र ऊर्जा-दक्ष हुने बताइएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख २४, २०८३ १४:२०
