के हो टियर फोर डेटा सेन्टर ? सजिलोगरी थाहा पाउनुहोस् यसका विशेषता र प्राविधिक पक्ष
बैशाख २९, २०८३ २२:३२
सांकेतिक तस्बिर
काठमाडौँ । हालै बिचुटेन डेटा भोल्टले नेपालमा दुई अर्ब ५० करोड रुपैयाँको लगानीमा टियर फोर हाइपरस्केल डेटा सेन्टर स्थापना गर्ने घोषणा गर्यो । आगामी साउनदेखि काठमाडौँको चोभारमा १२० किलोवाट र वीरगञ्जमा १२० किलोवाट गरी कुल २४० किलोवाट क्षमताको डेटा सेन्टर निर्माण गर्ने कम्पनीको योजना छ ।
डेटा सेन्टरको घोषणा भएसँगै ‘टियर फोर’ भनेको के हो भन्ने विषयमा धेरैमा जिज्ञासा हुन सक्छ । आज हामी टियर फोर डेटा सेन्टर र यससँग सम्बन्धित प्राविधिक शब्दहरूको बारेमा जानकारी दिँदै छौँ:
टियर फोर (Tier iv)
डेटा सेन्टरको गुणस्तर र काम गर्न सक्ने क्षमताको आधारमा चार ओटा टियरमा वर्गीकरण गरिएको हुन्छ । यसले कुनै पनि डेटा सेन्टर कति समयसम्म बिना कुनै बिनाअवरोध चल्न सक्छ भन्ने कुरालाई बुझाउँछ ।
टियर वन र टियर टु साना डेटा सेन्टर हुन् । टियर वनमा एउटा मात्र वितरण मार्ग हुन्छ र कुनै ब्याकअप वा अतिरिक्त मसिनहरू हुँदैनन् । यसमा वर्षभरिमा २८ घण्टासम्म सेवा अवरुद्ध हुन सक्छ । डेटा सेन्टर मर्मत गर्नुपर्दा पूरै सिस्टम बन्द गर्नुपर्ने हुन्छ ।
टियर टुमा केही हदसम्म ब्याकअपको व्यवस्था गरिएको हुन्छ । यसमा बिजुली र चिस्यान कायम राख्ने कुलिङ सिस्टमका लागि थप मसिनहरू राखिएका हुन्छन् । जसले गर्दा कुनै एउटा पार्ट बिग्रिएमा ब्याकअपले काम सम्हाल्छ । तर डेटा सेन्टरको मुख्य भाग मर्मत गर्दा सिस्टम बन्द गर्नुपर्ने बाध्यता भने रहन्छ । यो किसिमको डेटा सेन्टरमा वर्षमा २२ घण्टासम्म सेवा रोकिन सक्छ ।
टियर थ्रीबाट भने ठुलो डेटा सुरु हुन्छ । यो डेटा सेन्टरमा कुनै पनि भागको मर्मत गर्दा डेटा सेन्टर बन्द गर्नु पर्दैन । यो डेटा सेन्टर वर्षभरिमा डेढ घण्टा अवरोध हुने सम्भावना रहन्छ ।
टियर फोर डेटा सेन्टरको सबैभन्दा उच्च स्तर हो । डेटा सेन्टर ९९.९९५% समय चल्छ अर्थात् यसको डाउन टाइम वर्षको २६ मिनेटभन्दा कम हुन्छ । बिजुली, कुलिङ र नेटवर्कका सबै पाटपूर्जाको दोहोरो ब्याकअप हुन्छ । जसले गर्दा कुनै एउटा प्रणाली बिग्रिए पनि सेवा अवरुद्ध हुँदैन । यस्तो डेटा सेन्टर बैंक, रक्षा जस्ता संवेदनशील क्षेत्रका लागि निकै उपयोगी मानिन्छ ।
हाइपरस्केल (Hyperscale)
हाइपरस्केल भनेको अत्यन्त ठुलो आकार र उच्च क्षमताको डेटा सेन्टर पूर्वाधार हो । जसले इन्टरनेट तथा डिजिटल सेवाको माग बढ्दै जाँदा आफ्नो कम्प्युटिङ पावर र स्टोरेज क्षमतालाई विस्तार गर्दै लैजान सक्छ । गुगल, मेटा, अमेजन लगायत क्लाउड सेवा प्रदायक कम्पनीहरूले हाइपरस्केल डेटा सेन्टरको प्रयोग गर्छन् ।
डेटा सोभरेन्टी (Data Sovereignty)
डेटा सोभरेन्टी अर्थात् डेटा सार्वभौमिकता त्यस्तो अवधारणा हो, जसले डेटा सिर्जना भएको देश वा भूगोलको कानुनको आधारमा त्यही देशमा सुरक्षित साथ डेटा राख्नु हो । नेपालको डेटा नेपालभित्रै सुरक्षित राख्नु यसको उदाहरण हो । विदेशी सर्भरमा डेटा राख्दा सुरक्षा र गोपनीयताको जोखिम हुने भएकाले आफ्नै देशमा डेटा राख्नु डेटा सोभरेन्टी हो ।
डीसी र डीआर (DC & DR)
डीसी भनेको डेटा सेन्टर हो । जहाँ मुख्य डेटा स्टोर गरिन्छ । डेटा सेन्टरको डीआर भनेको (डिजास्टर रिकभरी) हो । डीआर डेटा सेन्टरमा आगलागी, भूकम्प वा प्राविधिक समस्या आएमा डेटा सुरक्षित राख्न बनाइएको ब्याकअप सेन्टर हो ।
फल्ट टोलरेन्स (Fault Tolerance)
फल्ट टोलरेन्स यस्तो क्षमता हो, जसले सिस्टमको कुनै एउटा भाग बिग्रिए पनि कामलाई रोकिन दिँदैन । यसले स्वचालित रूपमा खराबी पत्ता लगाउँछ र बिग्रिएको भागको सट्टामा तुरुन्तै अर्को विकल्प (Redundancy) प्रयोग गरेर सेवा जारी राख्छ । टियर फोर डेटा सेन्टरमा 'फल्ट टोलरेन्स' सुविधा अनिवार्य हुन्छ ।
लेटेन्सी
डेटा एक ठाउँबाट अर्को ठाउँमा पुग्न लाग्ने समयलाई लेटेन्सी भनिन्छ । लेटेन्सी जति कम भयो, इन्टरनेट र डिजिटल सेवाहरू त्यति नै छिटो चल्छन् । गेमिङ, भिडिओ कन्फरेन्सिङ र एआईको प्रयोगका लागि न्यून लेटेन्सी हुनु निकै जरुरी हुन्छ ।
कन्टेनरयुक्त डेटा सेन्टर
यो कारखानामै पहिल्यै तयार पारिएको (Pre-fabricated) सानो र एक ठाउँबाट अर्को ठाउँमा सार्न मिल्ने डेटा सेन्टर हो । एउटै कार्गो कन्टेनरभित्र सर्भर, स्टोरेज, नेटवर्किङ, कुलिङ र पावर सिस्टम जडान गरिएको हुन्छ । यसका लागि ठुलो भवन बनाइरहनु पर्दैन, जसले गर्दा लगानी र समयको बचत हुन्छ । गोदाम वा खाली ठाउँमा सिधै राख्न सकिने हुनाले सुरुवाती लगानी र निर्माणको झन्झट कम हुन्छ । यदि मुख्य डेटा सेन्टरको भवन बनिसकेको छैन भने पनि यी कन्टेनरहरू प्रयोग गरेर तुरुन्तै सेवा सुरु गर्न सकिन्छ ।
र्याक
डेटा सेन्टरभित्र सर्भरहरू राख्ने फलामको फ्रेम वा दराजलाई ‘र्याक’ भनिन्छ । र्याक क्यापासिटीले उक्त डेटा सेन्टरले कति धेरै डेटा र सर्भरहरू धान्न सक्छ भन्ने बुझाउँछ ।
ग्रीन इनर्जी र कुलिङ
डेटा सेन्टरका सर्भरहरू धेरै तातिने हुनाले तिनलाई चिसो बनाइराख्न ‘कुलिङ’ चाहिन्छ । नेपालको जलविद्युत तथा हिमाली भेगको प्राकृतिक चिसो तापक्रमको प्रयोग गरेर डेटा सेन्टरलाई चलाउन सक्ने विश्वास लिइन्छ ।
एआई एग्नोस्टिक
एआई एग्नोस्टिक भन्नाले कुनै एउटा एआई कम्पनी, मोडेल वा प्रणालीमा सीमित नभई विभिन्न एआई प्रणालीसँग काम गर्न सक्ने प्रविधि वा कन्सेप्टलाई बुझाउँछ ।
पछिल्लो अध्यावधिक: बैशाख २९, २०८३ २२:४६
