close

जतिखेरै किन बलिरहन्छ नयाँ बाइकको हेडलाइट ?

टेकपाना टेकपाना

माघ २६, २०८० १२:४०

जतिखेरै किन बलिरहन्छ नयाँ बाइकको हेडलाइट ?

काठमाडौं । पछिल्लो समय बजारमा आउने सबैजसो मोटरसाइकल तथा दुई पाङ्ग्रे सवारी साधनको हेडलाइट जतिखेरै बलिरहेको हुन्छ । उक्त हेडलाइट अन/अफ (चालु र बन्द) गर्ने बटन ह्यान्डलमा राखिएकै हुँदैन । दिनको समयमा समेत आखिर किन यसरी मोटरसाइकलको हेडलाइट बलिरहेको हुन्छ होला ? आज हामी यही विषयमा चर्चा गर्ने छौं:

त्यसो त बजारमा आएका आधुनिक सवारी साधन फिचरको हिसाबले पहिलेभन्दा भिन्न मात्र नभएर प्रभावकारी र आकर्षक समेत छन् । जसमध्ये आजकलका बाइकहरूमा निरन्तर बलिरहने हेडलाइट समेत एक हो । हरपल बलिरहने हेडलाइटको अभ्यास अटोमेटिक हेडलाइट अन (एओएच) (Automatic Headline On) प्रविधिको नामले चिनिन्छ ।

यही प्रविधिका कारण दुई पाङ्ग्रे सवारी साधनको हेडलाइटले निरन्तर प्रकाश दिइरहन्छ । खासगरी सन् २०२० यता बनेका दुई पाङ्ग्रे मोटरसाइकल तथा स्कुटरहरूमा यो फिचर उपलब्ध छ । यस्ता सवारी साधनमा एओएच फिचर राख्नुको मुख्य कारण भनेको आकारमा बस, ट्रक अथवा कारको तुलनामा सानो हुनु नै हो ।

धुवा, मुस्लो, हुस्सु, कुहिरो जस्तो प्रतिकूल मौसमको अवस्थामा यस्ता साना सवारी साधन देखिंदैनन् । अर्को कुरा टाढाको दूरीबाट समेत मोटरसाइकल तथा स्कुटर आइरहेको छ कि छैन भन्ने यकिन गर्न मुस्किल हुन्छ । यस्तोमा दुई पाङ्ग्रे सवारी साधनको लाइट निरन्तर बालिराख्दा तिनीहरूलाई देख्न बढी सहज हुन्छ, जसले सडक सुरक्षा अभिवृद्धि गर्न मद्दत गर्छ ।

धेरैजसो सडक दुर्घटनामा पर्ने सवारी साधनमा दुई पाङ्ग्रे सबैभन्दा अगाडि आउँछ । जसबाट दिनहुँ कयौंले ज्यान गुमाउने, अशक्त-अपाङ्ग हुने वा घाइते हुने घटना भइरहेको हुन्छ । यसै कारण विश्वव्यापी रूपमा दुई पाङ्ग्रे सवारीमा एएचओ प्रविधि प्रयोग गर्न थालिएको हो । यसले दुई पाङ्ग्रे सवारी चालकका साथै पैदलयात्रीहरूको सुरक्षामा उल्लेखनीय भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

छिमेकी भारत लगायतका विश्वका धेरैजसो देशहरूले दुई पाङ्ग्रे सवारी साधनमा एएचओ प्रविधि अनिवार्य गरिसकेका छन् ।

निरन्तर हेडलाइट अन हुँदा सवारी साधनमा कत्तिको असर पर्छ ?

मोटरसाइकलको हेडलाइट लगातार रूपमा बलिरहने कुराले ब्याट्री खपत भने थप केही बढाउँछ, तर ब्याट्रीमा त्यसले प्रतिकूल असर भने पुर्‍याउँदैन । एओएच प्रविधि लागू भइसकेपछि आउने दुई पाङ्ग्रे सवारी साधनमा विकसित किसिमको ब्याट्री र अल्टरनेटर राखिएको हुन्छ, जसले अतिरीक्त लोड र सवारी साधनभित्रको कार्य प्रणालीलाई सहजतापूर्वक व्यवस्थापन गर्न सक्छ ।

यो प्रविधि थपिए पनि त्यसले दुई पाङ्ग्रेको मूल्यमा भने खासै असर पारेको छैन । यद्यपि यसका लागि सवारी साधनको ऊर्जा खपत घटाउनु पर्ने हुन्छ, जसले गर्दा दुई पाङ्ग्रे सवारी साधनको कूल माइलेजमा प्रतिलिटर करिब एक किलोमिटरको रेन्ज घटाएको अनुमान गरिन्छ ।

पछिल्लो अध्यावधिक: माघ २६, २०८० १३:२२