एआईसहितको नयाँ ल्यापटप सिरिज गुगलबुक ल्याउँदै गुगल, म्याकबुक नियोसँग सिधा प्रतिस्पर्धा
बैशाख ३०, २०८३ ११:५७
काठमाडौँ । गुगलले आफ्नो नयाँ प्रिमियम ल्यापटप सिरिज गुगलबुक सार्वजनिक गर्ने घोषणा गरेको छ । क्रोमबुकभन्दा माथिल्लो स्तरको पर्फर्मेन्स र फिचरसहित यो नयाँ सिरिजको ल्यापटप आउने भएको हो ।
यो नयाँ ल्यापटपले एन्ड्रोइड र क्रोम ओएसलाई एउटै एकीकृत अपरेटिङ सिस्टममा समाहित गरेको छ । गुगलबुकको मुख्य आकर्षण भनेको यसको नयाँ अपरेटिङ सिस्टम हो, जसले एन्ड्रोइड स्मार्टफोन र ल्यापटपबिचको खाडललाई मेटाउने लक्ष्य राखेको छ ।
यो प्रणाली पूर्ण रूपमा एन्ड्रोइड टेक्नोलोजी स्ट्याकमा आधारित छ, जसले प्रयोगकर्तालाई म्याकबुक जस्तै सुविधाहरू प्रदान गर्नेछ । यसको आन्तरिक कोड नाम आल्मुमिनियम (Aluminium) राखिए तापनि आधिकारिक नाम भने पछि घोषणा गरिने बताइएको छ । गुगलका अनुसार यो अपरेटिङ सिस्टमले फोनका एपहरू ल्यापटपमा डाउनलोड नगरी सिधै चलाउन मिल्ने कास्ट माई एप्स (Cast My Apps) जस्ता सुविधाहरू उपलब्ध गराउनेछ ।
त्यस्तै गुगलबुकमा जेमनाई इन्टेलिजेन्सलाई सिस्टमको केन्द्रमा राखिएको छ । यसमा प्रयोगकर्ताले आफ्नो कर्सरलाई कुनै तस्विर वा ईमेलमा रहेको मितिमा हल्लाए (shake गर्दा) भने एआईले त्यसलाई बुझेर सिधै क्यालेन्डरमा इभेन्ट थप्ने वा सन्दर्भ अनुसारका सुझावहरू दिनेछ ।
प्रयोगकर्ताले साधारण भाषामा निर्देशन दिएर आफ्नो डेस्कटपका लागि कस्टम विजेटहरू बनाउन सक्नेछन् । उदाहरणका लागि परिवारको छुट्टीको तालिका वा कुनै विशेष कार्यक्रमको काउन्टडाउन विजेट एआईले तुरुन्तै तयार पारिदिनेछ ।
ल्यापटपमा रहने क्विक शेयर फिचर एप्पलको एयरड्रपसँग पनि मिल्दोजुल्दो हुनेछ । जसले विभिन्न ब्रान्डका फोनहरूबिच फाइल आदानप्रदानलाई सहज बनाउनेछ ।
गुगलबुकहरू प्रिमियम सामग्री र उच्च स्तरका कम्पोनेन्टहरूबाट निर्माण गरिनेछन् । यसको पछाडिको भागमा एउटा ग्लो बार रहनेछ, जुन इन्द्रेणी रङको एलईडी लाइटको रूपमा हुनेछ र यसले गुगलबुकको पहिचान झल्काउनेछ ।
नयाँ गुगलबुक ल्यापटपहरू यसै वर्षको शरद ऋतुसम्ममा बजारमा उपलब्ध हुने अपेक्षा गरिएको छ । यद्यपि यसको मूल्य र विस्तृत प्राविधिक विवरणहरू १९ मेमा हुने गुगलको आई/ओ डेभलपर कन्फ्रेन्समा सार्वजनिक गरिने सम्भावना छ । गुगलको यो कदमलाई एप्पलको भर्खरै सार्वजनिक भएको बजेट ल्यापटप म्याकबुक नियोको कडा प्रतिस्पर्धीको रूपमा हेरिएको छ ।
गुगलले यी ल्यापटपहरू निर्माण गर्न एसर, एसुस, डेल, एचपी र लेनोभो जस्ता प्रमुख हार्डवेयर साझेदारहरूसँग सहकार्य गरेको छ । यसमा इन्टेल, क्वालकम र मिडियाटेकका प्रोसेसरहरू प्रयोग हुनेछन् ।
गुगलबुकको आगमनसँगै क्रोमबुकहरू विस्थापित हुने आशङ्का समेत पैदा भएको छ । तर गुगलले क्रोमबुकहरू तत्काल बन्द नहुने स्पष्ट पारेको छ । गुगलका वरिष्ठ निर्देशक अलेक्जेन्डर कुस्चरका अनुसार क्रोमबुकहरूलाई कम्तीमा सन् २०३४ सम्म सफ्टवेयर सपोर्ट उपलब्ध गराइनेछ । विशेषगरी विद्यालय र व्यावसायिक क्षेत्रमा क्रोमबुकको प्रयोग जारी रहनेछ ।
पछिल्लो अध्यावधिक: बैशाख ३०, २०८३ ११:५८
