सुर्खेतमा अनलाइन बेटिङमा संलग्न शिक्षकसहित ३ जना पक्राउ, सर्वसाधारणका बैङ्क खाता भाडामा लिएर ठगी ?
बैशाख ३१, २०८३ १२:५५
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अनलाइन बेटिङ खेलाउने र बैङ्क खाताको दुरुपयोग गरी ठगी गर्ने कार्यमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा एक जना शिक्षक समेत छन् ।
इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको टोलीले गोप्य सूचना र प्राविधिक विश्लेषणका आधारमा बुधबार उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं ९ बस्ने ३९ वर्षीय शिक्षक महेन्द्रकुमार बोहोरा छन् । सोही ठाउँका ४२ वर्षीय व्यवसायी यामलाल विक र ४४ वर्षीय होटेल व्यवसायी डम्बरबहादुर विकलाई समेत पक्राउ गरिएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा बोहोराले विभिन्न बैङ्कमा ६ वटा खाता खोली दुई करोड ४६ लाख रुपैयाँ बराबरको शङ्कास्पद कारोबार गरेको पाइएको छ । त्यस्तै यामलालले पाँच वटा र डम्बरले नौ वटा विभिन्न बैङ्कमा खाता खोली शङ्कास्पद कारोबार गरेको प्रहरीले जनाएको छ ।
सामाजिक सञ्जाल र इन्टरनेटको प्रयोग गरी सर्वसाधारणलाई प्रलोभनमा पारेर अनलाइन जुवा तथा सट्टेबाजी खेलाउने उद्देश्यले उनीहरूले ती बैङ्क खाता खोलेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । पक्राउ परेका उनीहरू विरुद्ध बैङ्किङ कसुर, जुवा सट्टेबाजी र सम्पत्ति शुद्धीकरण लगायतका मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजङ्ग बुढाथापाले जानकारी दिए ।
जिल्ला अदालत सुर्खेतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको पनि उनले जानकारी दिए । उनले टेकपानासँग भने, “ प्रारम्भिक अनुसन्धानका क्रममा शिक्षक महेन्द्रकुमार बोहोराले अनलाइन बेटिङका लागि विभिन्न बैङ्क खाता खोल्न लगाएर अन्य व्यक्तिबाट ती खाताहरू भाडामा लिने गरेको देखिएको छ । हामी थप अनुसन्धान गर्दै छौँ ।”
प्रहरीले अनलाइन ठगी र जुवाजन्य गतिविधिमा संलग्न हुनु वा सहयोग गर्नुलाई गम्भीर अपराध भन्दै आफ्नो बैङ्क खाता, पिन कोड र ओटीपी जस्ता गोप्य विवरणहरू कसैलाई पनि शेयर नगर्न र ठगिनबाट बच्न सर्वसाधारणलाई अनुरोध समेत गरेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ३१, २०८३ १३:१०
