close

भारतीय पर्यटकमाथि प्रतिबन्ध सम्बन्धी भ्रामक सूचना नफैलाउन पर्यटन बोर्डको अनुरोध

टेकपाना टेकपाना

बैशाख ३१, २०८३ १३:५४

भारतीय पर्यटकमाथि प्रतिबन्ध सम्बन्धी भ्रामक सूचना नफैलाउन पर्यटन बोर्डको अनुरोध

 

काठमाडौँं । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूको नेपाल भ्रमणसम्बन्धी नियमहरूबारे विभिन्न सञ्चारमाध्यम तथा अनलाइन प्लेटफर्महरूमा फैलिएका भ्रामक र तथ्यहीन सूचनाप्रति चासो व्यक्त गरेको छ। 

नेपाल सरकारले भारतबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरूका लागि अनिवार्य परिचयपत्र लागु गरेको, भारतीय पर्यटकहरूको बसाइ ३० दिनमा सीमित गरिएको, वा म्याद नाघेमा सवारी साधन जफत गर्न अनुमति दिएको भन्ने समाचारहरू पूर्ण रूपमा गलत, आधारहीन र भ्रामक भएका बोर्डले विज्ञप्तीमार्फत स्पष्ट पारेको छ ।

यस्ता हल्लाको विषयमा टेकपानाले समेत फ्याक्ट चेक गरिसकेको छ । 

पर्यटन बोर्डको विज्ञप्तीमा भनिएको छ, ‘नेपाल सरकारले भारतीय पर्यटकहरूको बसाइ अवधि सीमित गर्ने कुनै नयाँ नीति लागु गरेको छैन, न त नेपाल-भारतबिचको दीर्घकालीन खुला सीमा व्यवस्था तथा द्विपक्षीय समझदारीहरूमा कुनै परिवर्तन गरिएको छ । दुई देशबिचको ऐतिहासिक जनस्तरको सम्बन्ध, सांस्कृतिक निकटता तथा पर्यटन सहकार्य अझै मजबुत र यथावत् छन् ।’

नेपाल सरकारले हालै भारतीय तथा अन्य अन्तर्राष्ट्रिय पर्यटकहरूलाई निजी सवारी साधनमार्फत स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्न सहज बनाउन नयाँ अनलाइन सहजीकरण प्रणाली सुरु गरेको र यसले पर्यटकलाई झनै सहज हुने बोर्डले जनाएको छ । 

भन्सार विभागद्वारा विकसित यस डिजिटल प्रणालीमार्फत नेपाल प्रवेश गर्ने विदेशी सवारी साधनहरूले अब अस्थायी प्रवेश अनुमति तथा राजस्व भुक्तानी पूर्ण रूपमा अनलाइनमार्फत गर्न सक्नेछन् ।

पर्यटन बोर्डले सञ्चारमाध्यम, डिजिटल प्लेटफर्म, पर्यटन क्षेत्रका सरोकारवालाहरू तथा आम जनतालाई अपुष्ट सूचना नफैलाउन र पर्यटन नीति तथा यात्रा नियमसम्बन्धी अद्यावधिक जानकारीका लागि सरकारी आधिकारिक स्रोतहरूमा भर पर्न आग्रह समेत गरेको छ ।

भारतलगायत विश्वभरका पर्यटकहरूका लागि नेपाल सुरक्षित, स्वागतयोग्य र मैत्रीपूर्ण गन्तव्यका रूपमा कायम रहेको पर्यटन बोर्डले जनाएको छ । 

प्रमाणित जानकारी तथा आधिकारिक सूचनाका लागि सम्बन्धित सबै पक्षलाई नेपाल सरकार तथा नेपाल पर्यटन बोर्डका आधिकारिक स्रोत हेर्न समेत आग्रह गरिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ३१, २०८३ १३:५४