१०,००० एमएएच ब्याट्रीसहितको नयाँ स्मार्टफोन एक्स-८० ल्याउँदै अनर, जुनमा सार्वजनिक हुने !
जेठ १६, २०८३ ६:११
काठमाडौँ । चिनियाँ मोबाइल निर्माता कम्पनी अनरले १०००० एमएएच क्षमताको ब्याट्री भएको स्मार्टफोन बजारमा ल्याउने भएको छ । डिजिटल च्याट स्टेसनले चीनमा आगामी जुनमा सार्वजनिक हुने भनिएको अनरको नयाँ एक्स-सिरिजको स्मार्टफोनबारे महत्त्वपूर्ण जानकारी बाहिर ल्याएको हो ।
यसअघिको अनर एक्स-७० मा ८,३०० एमएएच ब्याट्री र ८० वाटको चार्जिङ सुविधा थियो । एक्स-८० मा ९० वाटको फास्ट चार्जिङ रहने बताइएको छ । ९० वाटको चार्जिङले यो ठुलो ब्याट्रीलाई करिब ७५ देखि ८० मिनेटमा फुल चार्ज गर्न सक्छ । जसले गर्दा प्रयोगकर्ताहरूलाई लामो समयसम्म ब्याट्री टिकाउन र छिटो चार्ज गर्न सहज हुनेछ ।
फोनमा ६.८ इन्चको फ्ल्याट एलटीपीएस ओलेड डिस्प्ले प्रयोग गरिनेछ । जसमा १.५ के रेजोलुसन र १२० हर्जको रिफ्रेश रेट उपलब्ध हुनेछ । यो एक्स-७० को ६.७९ इन्चको डिस्प्लेको तुलनामा थोरै ठुलो आकार हो ।
प्रोसेसरको कुरा गर्नुपर्दा यसमा स्न्यापड्र्यागन ६ जेन ५ चिपसेट रहने अपेक्षा गरिएको छ । यो अघिल्लो पुस्ताको स्न्यापड्र्यागन ६ जेन ४ भन्दा बढी इफिसेन्ट (efficient) छ । विशेष गरी सामाजिक सञ्जाल, भिडिओ स्ट्रिमिङ र सामान्य गेमिङ गर्ने प्रयोगकर्ताहरूका लागि यसले दैनिक कार्यमा सुधारिएको पर्फर्मेन्ससँगै ब्याट्री समेत बचत गर्नेछ ।
अनर एक्स-७० जस्तै एक्स-८० मा पनि सक-रेसिस्टेन्ट बडी रहनेछ । जसले फोनलाई सुरक्षित र टिकाउ बनाउँछ । यद्यपि यसको वाटरप्रुफिङ क्षमता आईपी-६८ वा आईपी-६९ सम्म पुग्छ वा पुग्दैन भन्ने कुरा स्पष्ट हुन बाँकी छ ।
यो फोन मिस्टिक ब्ल्याक, मुनलाइट ह्वाइट, लाइटनिङ रेड र भाइब्रेन्ट ओरेन्ज गरी चारवटा आकर्षक रङहरूमा उपलब्ध हुने अपेक्षा गरिएको छ ।अनर एक्स-७० ले चीनमा मात्रै ७० लाख युनिट बिक्री गरेर ठुलो सफलता हासिल गरेको थियो ।
एक्स-८० ले सोही विरासतलाई अगाडि बढाउने अपेक्षा गरिएको छ । अनर एक्स-८० को मूल्यसहितका विस्तृत विवरणहरू भने जुनमा आयोजना हुने लन्च इभेन्टमा सार्वजनिक गरिनेछ ।
पछिल्लो अध्यावधिक: जेठ १६, २०८३ ७:५४
