‘शून्यबाट एआई कम्प्युटिङ सुरु गर्नुभन्दा भारतको ओपन सोर्स प्रविधि प्रयोग गराैँ, ठुलो बचत हुन्छ’
जेठ २७, २०८३ १९:१२
काठमाडौँ । प्रतिनिधि सभा सदस्य विपिन कुमार आचार्यले सरकारले स्थापना गर्न लागेको ‘सार्वभौम एआई कम्प्युट सेन्टर’ मा अन्धाधुन्ध लगानी गर्नुभन्दा छिमेकी मुलुक भारतको प्रविधिलाई उपयोग गर्दै लागत घटाउन सुझाव दिएका छन् । आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको छलफलमा भाग लिँदै उनले एआईका लागि आवश्यक पर्ने जीपीयू खरिदमा मात्र ध्यान नदिई रणनीतिक साझेदारीमा जोड दिनुपर्ने बताए ।
“हामीले हजारौँ जीपीयूहरूमा इन्भेस्ट गर्ने कुरा गरिरहेका छौँ, तर यसमा हामी अलि ‘स्ट्रिट स्मार्ट’ हुनुपर्छ । र्यान्डमली पैसा खर्च गर्ने भन्दा पनि ‘आउट अफ द बक्स’ तरिकाले सोच्नुपर्छ,” उनले भने । सांसद आचार्यले भारतले एआईको क्षेत्रमा गरिरहेको ठुलो लगानी र नेपाली भाषालाई भारतको संविधानले पनि मान्यता दिएको सन्दर्भ उल्लेख गर्दै नेपालले त्यसबाट फाइदा लिनुपर्नेमा जोड दिए ।
आचार्यले भने, “भारतको संविधानको अनुसूचीले नेपाली भाषालाई पनि मान्यता दिएको छ । त्यसैले अहिले भारतले आफ्नो एआई क्षेत्रमा ठूलो लगानी गरिरहेको छ । उनीहरूले विभिन्न भाषाहरूको विकासका लागि अर्बौँ डलर खर्च गरिरहेका छन् । यस्तो अवस्थामा हामीले आफैँ जीपीयूहरू खरिद गरेर शून्यबाट एआई कम्प्युटिङ सेन्टर सुरु गर्नुभन्दा भारतको ओपन सोर्स प्रविधि ल्याएर त्यसमा आफ्नो सार्वभौम आवश्यकता अनुसार काम गर्न सक्छौँ ।”
उनले थपे, “यसो गर्दा गुणस्तर पनि राम्रो हुने र ठूलो रकम जोगिने सम्भावना रहन्छ । यो विषयमा हामीले परराष्ट्रमन्त्रीसँग पनि छलफल गरेका थियौँ । सम्भवतः हामीले भारतको 'भाषिनी एआई' लगायतका स्रोतहरूबाट फाइदा लिएर आधारभूत प्रविधिलाई ओपन सोर्सिङ गर्न सक्छौँ, जसले गर्दा हाम्रो ठूलो खर्च बचत हुन्छ । यसमा सरकारले विशेष ध्यान दिनु जरुरी छ ।”
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आवको बजेटमार्फत काठमाडौँको स्युचाटारमा ‘सोभरेन एआई कम्प्युट फ्याक्ट्री’ स्थापना गर्ने कार्यक्रम प्रस्तुत गरेका छन् ।
विश्व श्रम बजार एआई केन्द्रित हुँदै गएको र यसले सीप नभएका नेपाली श्रमिकहरूलाई ठुलो संकटमा पार्न सक्ने भन्दै सांसद आचार्यले सरकारलाई सचेत गराए । उनले भने, “अहिले ग्लोबल लेबर मार्केट नै एआई इन्टेन्सिभ भएको छ । हाम्रा लाखौँ नेपालीहरू एआईको स्किल सेटबाट धेरै टाढा हुनुहुन्छ । यदि हामीले अहिलेदेखि प्लानिङ गरेनौँ भने केही वर्षमा ती लाखौँ नेपालीहरू फर्किने सम्भावना छ, जुन ग्याप हाम्रा लागि एकदमै अप्ठ्यारो हुन सक्छ ।”
एआईले तत्कालै विस्थापन गर्न नसक्ने क्षेत्रहरूमा नेपाली जनशक्तिलाई तयार पार्नुपर्ने आचार्यको तर्क छ । “एआईले तुरुन्तै नछुने फिल्डहरू, जहाँ एम्प्याथीको कुरा आउँछ- जस्तै वृद्धवृद्धाहरूको हेरचाह गर्ने वा हस्पिटालिटीका निश्चित क्षेत्रहरूमा अहिलेदेखि नै इन्भेस्टमेन्ट बढाउनुपर्छ,” उनले थपे, “नत्र भने दुनियाँ एआई बेस्ड लेबर मार्केटमा जाने र हाम्रा श्रमिकहरू त्यसका लागि कम्प्याटिबल नहुने हो भने स्थिति भयावह हुन सक्छ ।”
पछिल्लो अध्यावधिक: जेठ २७, २०८३ १९:२०
