काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद प्रमेश हमालले विश्वकप फुटबलको प्रसारण सरकारी स्वामित्वको नेपाल टेलिभिजन मार्फत निःशुल्क गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । मङ्गलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद हमालले विश्वकप फुटबल नेपाल टेलिभिजनबाट निःशुल्क देखाउन माग गरेका हुन् ।
बैठकमा आफ्नो धारणा राख्दै सांसद हमालले अहिले विश्वकप फुटबल आम नागरिक, विशेष गरी युवा वर्गको ठुलो चासोको विषय बनेको उल्लेख गरे । यद्यपि, विश्वकप हेर्नका लागि ९९९ रुपैयाँ तिर्नुपर्ने बाध्यतात्मक व्यवस्थाका कारण यसमा एकाधिकार सिर्जना भएको उनको भनाइ थियो ।
“अब त पुग्यो होला नि मोनोपोलीको पनि । उठाउने जति कमसेकम आम्दानी भइसकेको होला,” सांसद हमालले भने, “त्यसैले म सभामुख महोदय मार्फत नेपाल सरकारले आफ्नो टेलिभिजन च्यानल मार्फत यसलाई निःशुल्क उपलब्ध गराउन माग गर्दछु ।”
सांसद हमालले खेल प्रसारण गरिरहेका कम्पनीलाई लक्षित गर्दै ‘लगानी उठिसकेकाले’ अब निःशुल्क उपलब्ध गराउनुपर्ने धारणा व्यक्त गरे । उनले थपे, “सेवा प्रदायकलाई पनि कमसेकम यो कुरा सुनिदिनको निमित्त र अब त पुग्यो होला नि आम्दानी गर्ने, अब त निःशुल्क दिँदा पनि हुन्छ होला भन्ने विषय राख्न चाहन्छु ।”
पछिल्लो अध्यावधिक: असार २, २०८३ १३:१७
