एनसेलका साढे ५ लाख ग्राहकले फोरजी चल्ने स्मार्टफोन भए पनि लिएका छैनन् फोरजी चल्ने यू-सिम र ई-सिम
असार १७, २०८३ १२:१४
काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलका करिब साढे ५ लाख ग्राहकले फोरजी चल्ने स्मार्टफोन भएर पनि फोरजी सेवा प्रयोग नगरेको पाइएको छ । फोरजी सेवा प्रयोग गर्नका लागि आवश्यक पर्ने यू-सिम वा ई-सिम नलिएका कारण उनीहरू उच्च गतिको इन्टरनेट तथा भ्वाइस सेवाबाट वञ्चित भएका हुन् ।
नेपाल दूरसञ्चार प्राधिकरणको वैशाख २०८३ सम्मको तथ्याङ्क अनुसार, एनसेलका करिब १ करोड ४० लाख भ्वाइस सेवाका ग्राहक रहेका छन् । जसले नेपालको समग्र भ्वाइस टेलिफोनी बजारको ४६.४१ प्रतिशत हिस्सा ओगटेको छ ।
मोबाइल ब्रोडब्यान्ड इन्टरनेटतर्फ भने एनसेलको बजार हिस्सा ४४.४२ प्रतिशत रहेको छ । तथ्याङ्क अनुसार एनसेलका १ करोड २१ लाख भन्दा बढी ग्राहकले फोरजी सेवा प्रयोग गरिरहेका छन् भने थ्रीजी सेवा प्रयोग गर्ने ग्राहकको सङ्ख्या ९०,६७१ मात्र रहेको छ ।
समग्रमा भने हाल नेपालमा फोरजी सेवाको जनसंख्यामा पहुँच ९१.६६ प्रतिशत पुगिसकेको छ भने कूल फोरजी प्रयोगकर्ताको सङ्ख्या २ करोड ६७ लाख नाघिसकेको छ । यसको तुलनामा देशैभर थ्रीजी प्रयोगकर्ताको सङ्ख्या जम्मा ७ लाख ६५ हजार (२.६२ प्रतिशत) मा खुम्चिएको छ ।
एनसेलका अनुसार कम्पनीका कूल ग्राहकमध्ये ८६ प्रतिशतसँग फोरजी सपोर्ट गर्ने मोबाइल उपकरण रहेको छ । समग्र देश नै फोरजीमा गइरहेको अवस्थामा एनसेलका झन्डै ५ लाख ५० हजार ग्राहकले भने यू-सिम वा ई-सिम नलिएकै कारण सेवाबाट वञ्चित भइरहेका छन् ।
यही परिस्थितिलाई मध्यनजर गर्दै एनसेलले आफ्ना ग्राहकहरूको जानकारीका लागि सूचना नै जारी गरेको छ । फोरजी प्रयोग गर्न मिल्ने मोबाइल चलाइरहेका तर पुरानै सिम बोकेका ग्राहकलाई सिमलाई यू-सिम वा ई-सिममा अपग्रेड गरी उच्च गुणस्तरको भ्वाइस तथा तीव्र गतिको मोबाइल डेटा सेवाको फाइदा लिन कम्पनीले अनुरोध गरेको हो ।
फोरजी सेवाको पहुँच विस्तार र उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवाको बढ्दो प्रयोगसँगै थ्रिजी सेवाको आवश्यकता निरन्तर घट्दै गएको छ । एनसेल र नेपाल टेलिकम दुवैले थ्रीजी सेवालाई चरणबद्ध रूपमा बन्द गर्दै गएका छन् । हाल एनसेलका ०.७ प्रतिशत ग्राहकले मात्र थ्रिजी सेवा प्रयोग गरिरहेका छन् भने करिब ०.६ प्रतिशत ग्राहकले थ्रिजी सपोर्ट गर्ने मोबाइल प्रयोग गर्ने गरेका छन् ।
कम्पनीले यही २२ असारदेखि देशका विभिन्न जिल्लामा थ्रिजी सेवा बन्द गर्ने घोषणा गरिसकेको छ ।
पछिल्लो अध्यावधिक: असार १७, २०८३ १२:३०
