ह्वाट्सएप मार्फत महिलाको अश्लील भिडियो पठाई ब्ल्याकमेल गर्ने युवक पक्राउ
असार १८, २०८३ १४:५८
काठमाडौं । सम्बन्धमा रहँदा खिचिएका महिलाको अश्लील तस्बिर तथा भिडियोको दुरुपयोग गरी ब्ल्याकमेल गर्ने र परिवारलाई पठाई चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले रूपन्देहीका २० वर्षीय पवन निसादलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
रूपन्देही जिल्लाको गैडहवा गाउँपालिका वडा नं. ८ भई हाल काठमाडौंको बत्तीसपुतली बस्ने निसादलाई ब्यूरोको टोलीले बुधबार (१७ असारमा) काठमाडौंको टोखा नगरपालिका वडा नं. ७ बाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार निसादले पीडित महिलासँग सम्बन्धमा रहँदा खिचेका अश्लील भिडियो तथा तस्बिरहरूको दुरुपयोग गरी ब्ल्याकमेल गर्ने, दुःख हैरानी दिने र अनुचित लाभका लागि बारम्बार दबाब दिने गरेका थिए । आफ्नो अभीष्ट पूरा नभएपछि उनले ती अश्लील सामग्रीहरू सामाजिक सञ्जाल ह्वाट्सएप मार्फत पीडितका परिवारका सदस्यहरूलाई पठाएका थिए ।
आफ्नो चरित्र हत्या गर्ने कार्यमा संलग्न व्यक्तिलाई कानुन बमोजिम कारबाही गरिपाऊँ भनी पीडित महिलाले साइबर ब्यूरोमा निवेदन दिएकी थिइन् । सोही निवेदनका आधारमा ब्यूरोले गरेको प्राविधिक अनुसन्धान र विश्लेषणबाट निसादको संलग्नता खुलेको प्रहरीले जनाएको छ । निसादमाथि 'विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३' अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको साइबर ब्यूरोले जानकारी गराएको छ ।
पछिल्लो अध्यावधिक: असार १८, २०८३ १५:५७
