सामाजिक सञ्जालको ट्रोल सहन नसकेर दुई पटक आत्मह*त्याको प्रयास गरेँ - सांसद सीता थपलिया
असार ३१, २०८३ १५:४
काठमाडौं । नेपाली कांग्रेसकी सांसद सीता थपलियाले सामाजिक सञ्जालमा भएको ट्रोलिङका कारण आफू मानसिक रूपमा विक्षिप्त बनेको र दुई पटक आत्महत्याको प्रयाससमेत गरेको खुलासा गरेकी छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले केही दिनअघि आफू र अर्का एक सांसदले संसदमा एउटै कुरा बोलेको विषयलाई लिएर सामाजिक सञ्जालमा व्यापक ट्रोल गरिएको बताइन् ।
उनले २४ घण्टाभित्र तीन जना युवाले आत्मदाह गरेको घटनालाई लिएर आफूहरूले सरकारको ध्यानाकर्षण गराएको स्मरण गर्दै सरकारको बेवास्ताका कारण फरक शैलीमा विरोध गर्नुपरेको उल्लेख गरिन् । ‘सरकारले कुरा नसुनेपछि हाम्रो शैली फरक थियो । सरकारले जबसम्म कान सुन्दैन, हामी त्यो शैली अपनाउँछौं । दुई जनाले मात्र होइन, सयौंले एउटै कुरा उठाउन सक्छौं’, उनले भनिन् ।
तर त्यसैलाई आधार बनाएर सामाजिक सञ्जालमा भएको ट्रोलिङले आफू गम्भीर मानसिक तनावमा परेको उनले बताइन् । ‘त्यो ट्रोल सहन नसकेर विक्षिप्त भएकी थिएँ । यो अवधिभर आफैंले दुई पटक आत्महत्या गर्ने कोसिस पनि गरेँ’, उनले भनिन् ।
सामाजिक सञ्जालको प्रयोग र त्यसले व्यक्तिको मानसिक स्वास्थ्यमा पार्ने असरबारे गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याउँदै थपलियाले सबैलाई आत्ममूल्याङ्कन गर्न आग्रह गरिन् । ‘सामाजिक सञ्जाल कस्तो रहेछ र हामीले यसलाई कस्तो बनाउँदैछौं भन्ने कुरा हामी आफैंलाई हेरेर मूल्यांकन गरौं’, उनले भनिन् ।
पछिल्लो अध्यावधिक: असार ३१, २०८३ १५:७
