close

सगरमाथामा ड्रोन उडान सफल, अब सामान बोक्नेदेखि उद्धार कार्य र फोहोर संकलन गर्न सजिलो हुने

टेकपाना टेकपाना

जेठ २६, २०८१ १८:३९

सगरमाथामा ड्रोन उडान सफल, अब सामान बोक्नेदेखि उद्धार कार्य र फोहोर संकलन गर्न सजिलो हुने

 

काठमाडौं । सगरमाथामा पहिलो पटक ड्रोन डेलिभरी परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ । चिनियाँ ड्रोन निर्माता डीजेआई (दा जियांग चुआंगसिन) ले ​ खुम्बु पासाङल्हामु गाउँपालिकासँग सहकार्य गरी सफलतापूर्वक परीक्षण कार्य सकेको जनाएको छ । ​

बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीले सगरमाथाको नेपाल तर्फको आधार शिविरबाट ड्रोन उडान परीक्षण गरेको जानकारी दिएको हो । योसँगै उच्च उचाइमा पर्वतारोहण, आपतकालीन उद्धार र पर्यावरण संरक्षण सञ्चालनलाई सहजीकरण गर्ने बाटो खुलेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार उक्त परीक्षणमा डीजेआई फ्लाईकार्ट ३० (DJI FlyCart 30) मोडेलको ड्रोन प्रयोग गरिएको थियो, जसमा एक पटकमा तीन अक्सिजन बोतल र डेढ केजी तौलका अन्य सामग्रीहरू सगरमाथा आधार शिविर (५,३६४ मिटरको उचाइमा) बाट क्याम्प एक अर्थात् लगभग ६,००० मिटरको उचाइसम्म उडाइएको थियो । साथै ड्रोन फिर्ता आउँदा आधार शिविरसम्म फोहोर पनि ओसारिएको थियो । 

यस्तो उचाइमा हावा धेरै पातलो हुने भएकाले विमानहरूलाई उडिरहन संघर्ष गर्नुपर्छ । डीजेआईका अनुसार फ्लाईकार्ट ३० ड्रोन भने अत्यधिक उचाइ र वातावरणीय स्थितिहरूमा १५ किलोग्राम भार बराबरको सामान बोक्न सक्नेगरी डिजाइन गरिएको छ । डेलिभरी उडानअघि ड्रोनले हावा प्रतिरोध, चिसो तापमानको सहनशीलता लगायतका परीक्षणहरूमा 'कडा' परीक्षणहरू गरेको थियो ।

फ्लाईकार्ट ३० यस वर्षको जनवरीमा मात्र कम्पनीले ल्याएको ड्रोनको नयाँ मोडेल हो । 

डीजेआईले सार्वजनिक गरेका तस्वीरहरूमा अक्सिजन सिलिण्डरहरू लामो लाइनमा झुण्डिएको देखाइएको छ, जुन ड्रोनले बोकेको छ । यसमा बोतलहरू र अन्य सामग्रीहरू ड्रोनले गन्तव्यमा पुर्‍याई फर्किने क्रममा फोहोर ओसारेको थियो ।

शेर्पा गाइडहरूले सामान्यतया पर्वतारोहीलाई सहयोग गर्नेगरी अक्सिजन बोतल सहितका सामग्रीहरू बोक्ने काम गर्दछन् । यस्तो काममा ड्रोन प्रयोग हुने सके सम्भावित मानवीय क्षति नहुने बताइएको छ । “हामीले यस आइसफलमा प्रत्येक दिन ६(८ घण्टा हिँड्नुपर्छ,” इम्याजिन नेपालका पर्वतीय गाइड मिङ्मा ग्याल्जे शेर्पाले भनेका छन्, “गत वर्ष मैले तीन शेर्पाहरू गुमाएँ । यदि हामी भाग्यमानी हुँदैनौं र समय सही छैन भने त्यहाँ हाम्रो जीवन नै गुमाउनु पर्ने अवस्था आउँछ ।”

डीजेआईका अनुसार यो ड्रोनले १५ किलोग्राम तौल बोकी १२ मिनेटमै गन्तव्यमा पुगेको थियो । सगरमाथाबाट फोहोर हटाउने छिटो र कम जोखिमयुक्त तरिकाका रूपमा पनि ड्रोनलाई लिने गरिएको छ । 

“अप्रिलको अन्त्यदेखि, हाम्रो टोलीले सगरमाथामा सफाइ प्रयासहरूलाई सुरक्षित र अधिक कुशल बनाउने ऐतिहासिक प्रयासमा लागेको थियो,” डीजेआईकी वरिष्ठ कर्पोरेट रणनीति निर्देशक क्रिस्टिना झाङले भनिन्, ूडीजेआई फ्लाईकार्ट ३० यस कार्यको लागि उपयुक्त सावित भयो । ड्रोनद्वारा सुरक्षित रूपमा सामग्री, आपूर्ति र फोहोर ढुवानी गर्ने क्षमताले सगरमाथा पर्वतारोहण कामलाई क्रान्तिकारी बनाउन सक्ने बताइएको छ ।

ड्रोनहरूले नै सामान बोक्ने काम गर्दा सगरमाथा आरोहण सजिलो र सुरक्षित हुने, आपतकालीन अवस्थामा चिकित्सा उपकरणहरू उपलब्ध गराएर छिटो उद्धार सक्षम गर्न सकिने र सगरमाथामा रहेका फोहोर ल्याएर त्यहाँको वातावरण सफा हुने विश्लेषण गरिएको छ । 

‘डीजेआई फ्लाइकार्ट ३०’

सगरमाथा क्षेत्रमा फोहोर ओसार्न परीक्षण भइरहेको ड्रोन ‘डीजेआई फ्लाइकार्ट ३०’ मोडेलको हो ।

चिनियाँ कम्पनी डीजेआईले बनाएको यो ड्रोन विशेषगरी सामान डेलिभरीकै लागि बनाइएको हो । यसले लामाे दुरीमा पनि भारी समानहरू बोकेर लैजान सक्छ । साथै यसले दिने सिग्नल पनि शक्तिशाली हुन्छ । यसले कार्गो मोड (सामानको बाकसलाई सुरक्षित साथ बक्समा राखेर लक गर्न मिल्ने) र विन्च मोड (डोरीमा झुन्ड्याउन मिल्ने) सपोर्ट गर्छ । परम्परागत रूपमा गरिने डेलिभरी भन्दा यो सुरक्षित र किफायती हुने कम्पनीको दाबी छ । 

कम्पनीका अनुसार यो ड्रोनले लामो दूरीमा अधिकतम ३० केजीसम्म सामान बोक्न सक्छ । सामान बोक्दा १६ किमि र सामान नबोक्दा २८ किमिसम्मको दूरी यसले पार गर्न सक्ने बताइएको छ । साथै यो ड्रोन छ हजार मिटरको अल्टिच्युडसम्म जान सक्छ भने माइनस २० देखि ४५ डिग्रीसम्म यसले काम गर्न सक्छ । यसमा हुने दुई ओटा ब्याट्री छ घण्टासम्म टिक्न सक्छन् । यसले २० किमिसम्म भिडिओ प्रसारण गर्न सक्छ । फोरजी  भिडिओ ट्रान्समिसन र डुअल अपरेटर मोडल हुने भएकोले यसलाई  फरक ठाउँमा बसेका दुई जना ड्रोन पाइलटले एकैपटक सञ्चालन गर्न सक्छन् । साथै यसमा हाइ रिजोलुसनको गिम्बल क्यामेरा छ ।

यसमा राडार, बाइनाकुलर लगायतमा उच्च किसिमको प्रविधि भएकाले विपद्को पूर्व आँकलन गरी सुरक्षित रूपमा यात्रा तय गर्न सक्ने कम्पनीले जनाएको छ ।

साथै यो ड्रोनले एक घण्टामा साढे पाँच किलोमिटरको यात्रा गर्न सक्छ भने यसले प्रतिघण्टा साढे तीन किमिको गतिमा बहिरहेको हावालाई धान्न सक्छ ।

१० जनवरी २०२४ मा सार्वजनिक भएको यो ड्रोनको मूल्य ४२ हजार अमेरिकी डलर रहेको छ ।

अहिले खुम्बु पासाङल्हामु गाउँपालिकाकाले डीजेआईसँग सहकार्य गरेर निःशुल्क रूपमा परीक्षण गरिएको हो । परीक्षणपछि काम अगाडि बढेमा डीजेआईले सहुलियत दरमा ड्रोन उपलब्ध गराउने आश्वासन दिएको गाउँपालिका अध्यक्ष मिङ्‌मा छिरि शेर्पाले बताएका छन् । उनले भने, “गाउँपालिकाको बजेटले भ्यायो भने हामी आफैं किन्छौं । नभए केन्द्र सरकार गुहार्छौं ।”

पछिल्लो अध्यावधिक: जेठ २६, २०८१ १८:३९