माेदीको इन्स्टाग्राम रिल्सले ताेड्यो आईशोस्पिडको रेकर्ड, जेनजीलाई सम्बोधन गर्न फेरियो सञ्चार शैली
साउन ११, २०८३ ९:२८
काठमाडौं । इन्स्टाग्रामबाट व्यङ्ग्यात्मक अभियानका रूपमा सुरु भएको कक्रोच जनता पार्टी (सीजेपी) नेतृत्वको विद्यार्धी आन्दोलन भारतभर फैलिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आफ्नो सञ्चार शैली परिवर्तन गरेका छन् । उनले आफ्ना पहिलेदेखिका सिनेमेटिक शैलीका भिडियोहरू छोडेर मेटा प्लेटफर्म्सको इन्स्टाग्राम रिल्समार्फत युवापुस्तालाई लक्षित गर्दै आफैंले खिचेका, सरल र प्रत्यक्ष सन्देशहरू सार्वजनिक गर्न थालेका छन् ।
चर्चित युट्युबर आईशोस्पिडको रेकर्ड ब्रेक
गत साता ७५ वर्षीय मोदीले लगातार दुई दिन इन्स्टाग्राममा सेल्फी भिडियो पोस्ट गरेका थिए । पहिलो भिडियो उनले बिहीबार अबेर राति सार्वजनिक गरेका थिए, जसमा उनले परीक्षा प्रश्नपत्र चुहावट प्रकरण विद्यार्थी र अभिभावकका लागि अत्यन्त पीडादायी घटना भएको बताएका थिए । साथै, “हाम्रा युवाको भविष्यसँग खेल्नेहरूलाई कुनै पनि हालतमा उन्मुक्ति दिइने छैन”, भन्दै उनले दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
त्यसको एक दिनपछि अर्थत् शुक्रबार मोदीले फेरि अर्को रिल सार्वजनिक गर्दै आफ्नो पोस्टमा प्रतिक्रिया जनाएकोमा युवापुस्तालाई धन्यवाद दिएका थिए । त्यही समयमा विद्यार्थीहरू भने शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै देशव्यापी प्रदर्शनको तयारीमा थिए ।
बिहीबार सार्वजनिक भएको रिल्सले चर्चित युट्युबर आईशोस्पिडको रेकर्ड ताेडेको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । माेदीको रिल्स पहिलो २४ घण्टाभित्र विश्वकै सबैभन्दा धेरै हेरिएको इन्स्टाग्राम रिल्स बनेको हो । इन्स्टाग्राममा सार्वजनिक भएको २४ घण्टाभित्रै माेदीको भिडियो ३० करोडभन्दा बढी पटक हेरिएको थियो ।
जुन इन्स्टाग्राम रिल्सको इतिहासमै पहिलो २४ घण्टामा सबैभन्दा धेरै हेरिएको भिडियो बनेको छ । यसअघि जुलाई २१ मा फिफा विश्वकप फाइनलपछि युट्युबर आईशोस्पिडले के-पप समूह बीटीएससँग भेट गरेको इन्टाग्राम रिल्सले बनाएको करिब ३० करोड भ्युजको रेकर्डलाई मोदीको भिडियोले उछिनेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।
मोदीले किन रोजे इन्स्टाग्राम ?
मोदीको नयाँ सञ्चार शैली उनकै सरकारविरुद्ध आन्दोलन गरिरहेको युवा अभियानको शैलीसँग मिल्दोजुल्दो देखिन्छ । व्याङ्ग्यात्मक कक्रोच जनता पार्टीको नेतृत्वमा सुरु भएको यो आन्दोलन मीम, व्याङ्ग्यात्मक सामग्री र इन्टरनेट ह्युमरमार्फत देशभर फैलिएको थियो ।
यो अभियान इन्टाग्रामबाटै फैलिएका कारण पनि माेदीले युवाहरूलाई प्रत्यक्ष सम्बोधन गर्ने उद्देश्यले रिल्सको प्रयोग गरेको विश्लेषण गरिएको छ । यसले भारतमा राजनीतिक आन्दोलन र जनमत निर्माणमा सामाजिक सञ्जाल तथा अनलाइन संस्कृतिको प्रभाव तीव्र रूपमा बढ्दै गएको संकेत गरेको छ ।
विश्लेषकहरूका अनुसार आन्दोलनको मुख्य शक्ति सामाजिक सञ्जाल भएकाले मोदीले पनि परम्परागत भिडियो शैली छाडेर युवाहरू सबैभन्दा बढी सक्रिय रहेको इन्स्टाग्राम रिल्समार्फत प्रत्यक्ष संवाद गर्ने रणनीति अपनाएका हुन् ।
युवाहरूको देश, इन्स्टाग्रामको सबैभन्दा ठुलो बजार
भारत विश्वका प्रमुख अर्थतन्त्रहरूमध्ये सबैभन्दा धेरै युवा जनसङ्ख्या भएकाे देशमध्ये एक हो । भारतीय जनसङ्ख्याको ओसत उमेर करिब २९ वर्ष रहेको छ । जबकि चीनमा यो करिब ४० वर्ष र जापानमा करिब ५० वर्ष रहेको छ । गत वर्षको अक्टोबर महिनासम्मको तथ्याङ्क अनुसार इन्स्टाग्रामको मासिक सक्रिय प्रयोगकर्ताको सङ्ख्या ३ अर्ब हाराहारी रहेको छ । जसमध्ये भारतमा सक्रिय प्रयोगकर्ताको सङ्ख्या ३५ कराेड बढी रहेको अनुमान गरिएको छ । प्रयोगकर्ताको सङ्ख्याको आधारमा भारत इन्स्टाग्रामको सबैभन्दा ठुलो बजार हो ।
पहिलो पटक आन्दोलनकारीले तय गरेको एजेन्डा
कक्रोच पार्टीको आन्दोलनपछि भारतका शिक्षामन्त्री धमेन्द्र प्रधानले पदबाट राजीनामा दिइसकेका छन् । सामाजिक सञ्जालबाट सुरु भएको यो आन्दोलनमार्फत प्रधानमन्त्री मोदीको कार्यकालमा पहिलो पटक मोदीले नभई आन्दोलनकारीले एजेन्डा तय गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक उदयबारे लेखिएको पुस्तक ‘नरेन्द्र मोदी: द म्यान, द टाइम्स’ का लेखक नीलाञ्जन मुखोपाध्यायलाई उद्धृत गर्दै ब्लुमबर्गले लेखेको छ, “एक दशकभन्दा बढी समयपछि पहिलो पटक आन्दोलनकारीहरूले एजेन्डा तय गरिरहेका छन्, मोदीले होइन ।”
मुखोपाध्यायले भने, “यो रणनीति धेरै सोचविचार गरेर अपनाइएको जस्तो देखिँदैन । किनभने पछिल्ला १२ वर्षमा मोदीले होइन, आन्दोलनकारीहरूले परिस्थिति नियन्त्रणमा लिएका छन् । मोदीले यस्तो अवस्था कहिल्यै सामना गरेका थिएनन् । मेरो अनुमानमा अहिले उनी निकै अप्ठ्यारो अवस्थामा पुगेका छन् ।”
पछिल्लो अध्यावधिक: साउन ११, २०८३ ९:५९
